१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चन्दलाई आर्थिक सहायता गरे कारबाही

काठमाडौँ — सरकारले चन्द समूहलाई आर्थिक तथा भौतिक सहयोग नगर्न अपिल गरेको छ । चन्द समूहलाई आपराधिक र विध्वंसात्मक समूह घोषित गरिएको जनाउँदै सरकारले उसका क्रियाकलापमा मद्दत पुग्ने गरी प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ । 

चन्दलाई आर्थिक सहायता गरे कारबाही

गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै चन्द समूहको त्रास, धम्की र प्रलोभनमा नपर्न आग्रह गरेको छ । आपराधिक तथा विध्वंसात्मक कार्य गर्ने समूहबाट आर्थिक सहयोग मागेको, धम्की दिएको थाहा पाए नजिकको प्रहरी प्रशासनलाई सूचना दिन पनि भनिएको छ ।

आतंककारी शैलीमा संविधान र कानुनविपरीत नागरिकको जीउधनमा क्षति पुर्‍याएको, संविधान तथा कानुन प्रदत्त हक अधिकार उपभोगमा बाधा पुर्‍याएको, विकास निर्माण तथा लगानी हतोत्साहित पार्ने गरी हिंसात्मक कार्य गरेको लगायतका कारण चन्द समूहका गतिविधिमा प्रतिबन्ध लगाइएको प्रस्टोक्ति विज्ञप्तिमा छ ।

चन्द समूहले स्थानीय तहका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, दुर्व्यवहार गर्ने, सार्वजनिक शान्ति, सुव्यवस्था तथा अमनचयनमा खलल पुर्‍याउने जस्ता अपराधजन्य क्रियाकलाप गरेको सरकारको भनाइ छ । त्यस्ता समूहले सञ्चालन गर्ने गतिविधिमा संलग्न वा सहयोग गर्ने व्यक्ति, संस्था वा समूहलाई पनि आपराधिक तथा विध्वंसकारी समूहका रूपमा सरकारले गत फागुन २८ मा घोषणा गरेको विज्ञप्तिमा जनाइएको छ ।

वलीसहित ९ जनालाई ८ दिन थुनामा राख्न अनुमति यसैबीच चन्द समूहका मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वलीविरुद्ध संगठित अपराध मुद्दामा म्याद थप गरिएको छ । जिल्ला अदालत ललितपुरका न्यायाधीश चूडामणि खड्काको इजलासले वलीसहित ९ जनालाई ८ दिन थुनामा राखेर छानबिन गर्न अनुमति दिएको हो ।


प्रहरीले वलीलाई ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा फागुन १० मा भएको शक्तिशाली विस्फोटको योजनाकारका रूपमा मुद्दा चलाउन छानबिन अघि बढाएको छ । एनसेलमा भएको घटनालगत्तै वलीले सञ्चार माध्यममार्फत विस्फोटको जिम्मेवारी लिएका थिए ।

प्रहरीले शनिबार बिहान काभ्रेको खानीखोला–७, मिल्चेबाट वलीसहित ९ जनालाई पक्राउ गरेको थियो । बा१७च ४८९३ नम्बरको स्कोर्पियो जिपबाट काठमाडौं आउँदै गर्दा उनीहरू पक्राउ परेका हुन् । जिपमा हतियारसमेत भेटिएको प्रहरीको दाबी छ ।

प्रहरीले उनीविरुद्ध संगठित अपराधसहित राज्यविरुद्धको कसुर, हातहतियार तथा खरखजाना र विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने भएको छ । वलीसँगै पक्राउ परेकामा पूर्वी ताम्सालिङका इन्चार्ज विजय श्रेष्ठ, रौतहट इन्चार्ज शंकर अधिकारी, नेता रामकृष्ण खतिवडा, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खडका छन् ।

वलीबाहेकका ७ जनालाई भने राज्यविरुद्धको कसुरलगायत मुद्दा चलाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका नवौं व्यक्ति धर्मराज राजवाहक स्कोर्पिओ चालक हुन् । उनीमाथि समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ११, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?