कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

जनकपुर विस्फोटको अन्तिम सुनुवाइ सुरु

जनकपुरको रामानन्द चोकमा ०६९ वैशाख १८ गते ५ जनाको ज्यान जाने गरी गराइएको विस्फोटको मुख्य योजनाकार पूर्वमन्त्री सञ्जय साह रहेको दाबी

जनकपुर — जनकपुरको रामानन्द चोकमा ६ वर्षअघि गराइएको बम विस्फोट मुद्दाको अन्तिम सुनुवाइ जिल्ला अदालत धनुषामा आइतबार सुरु भएको छ । न्यायाधीश राजेशकुमार कटुवालको इजलासमा सुनुवाइ भएको हो ।

जनकपुर विस्फोटको अन्तिम सुनुवाइ सुरु

बम विस्फोटको मुख्य योजनाकार पूर्वमन्क्री सञ्जय साह (टक्ला) रहेको दाबी गर्दै दायर मुद्दामा आइतबार सरकारी वकिल कार्यालयका न्यायाधिवत्ता शम्भु गौतमले बहस गरेका थिए । उनको बहस नटुंगिएपछि मुद्दालाई अदालतले हेर्दाहेर्दैमा राखेको छ । बहस सोमबार पनि हुनेछ ।


०६९ वैशाख १८ गते रामानन्द चोकमा आरडीएक्सयुक्त बम रिमोट कन्ट्रोलमार्फत विस्फोट गराउँदा मिथिला आन्दोलनसँग जोडिएका ५ जनाको मृत्यु भएको थियो । उक्त त्रासदीपूर्ण घटनाको दुई भूमिगत सशस्त्र समूहले जिम्मेवारी लिए पनि मुख्य योजनाकार पूर्वमन्त्री साह रहेको दाबी गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको थियो । कार्यालयले २०६९ जेठ २९ मा ८ जना र २०७० चैत २४ गते साहसहित ६ जनाविरुद्ध पूरक अभियोगपत्र दायर गरेको हो ।


मिथिला राज्य माग गर्दै धर्नामा बसेकालाई लक्षित गरी विस्फोट गराइएको थियो । विस्फोटलगत्तै रञ्जित झा (राजन मुक्ति) र मुकेश चौधरी नेतृत्वको सशस्त्र समूहले जिम्मेवारी लिए । झा र चौधरी दुवै पक्राउ परेपछि विस्फोटमा पूर्वमन्त्री साहको नाम मुछिएको थियो । ‘विस्फोटको अघिपछि पूर्वमन्त्री साह र चौधरीबीच मोबाइलमा १ सय २२ पटक कुरा भएको छ,’ न्यायाधिवक्ता गौतमले मुद्दाको अन्तिम बहस थाल्दै भने, ‘विस्फोटपछि सार्वजनिक भएको अडियो संवादबाट वारदाताको मुख्य योजनाकार साह रहेको खुल्छ ।’


जनकपुर क्षेत्रबाट संविधानसभा पहिलो निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम र दोस्रोमा सद्भावना पार्टीबाट निर्वाचित साह यही मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् । पहिलो संविधानसभामा छिटोछिटो सरकार फेरिँदा उनी विजय गच्छदारको पार्टीबाट भौतिक पूर्वाधार राज्यमन्त्री बनेका थिए । सभासद हुँदै उनी पक्राउ परेका हुन् ।


सरकारी वकिलको कार्यालयले अभियोगपत्रमा पूर्वमन्त्री साहले विस्फोटका लागि सशस्त्र समूहका नाइके चौधरीलाई ५० लाख रुपैयाँ सुपारी दिएको दाबी गरेको छ । भारत, सीतामढीमा साह र चौधरीबीच सहमति भएको र लगत्तै साहले विश्वासपात्र ओमप्रकाश यादवमार्फत ५ लाख पठाएको सरकारी वकिलको दाबी छ । ‘५ लाख भारु बुझेको र बुझाउन गएको चौधरी र यादव दुवैले बयानमा स्वीकार गरेका छन्,’ जिल्ला न्यायाधिवक्ता गौतमले भने, ‘त्यसैले बम विस्फोटनको मुख्य योजनाकार साह नै हुन् ।’


बम विस्फोटलगत्तै सशस्त्र समूहका नाइके चौधरी र पूर्वमन्त्री साहबीचको अडियो संवाद लिक भएपछि आन्दोलनरत मिथिला राज्य संघर्ष समितिले ‘आवाज परिचित’ रहेको भन्दै अनुसन्धान गर्न प्रहरीलाई पत्र लेखेको थियो । त्यही आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र विधिविज्ञान प्रयोगशालामा पूर्वमन्क्री साहले सार्वजनिक कार्यत्रममा दिएको भाषणसमेत संकलन गरेर आवाज परीक्षण गरिएको थियो । तीन चरणमा गरिएको परीक्षणले अडियोमा रहेको आवाज साहकै भएको पुष्टि गरेको थियो । सरकारी वकिलको कार्यालयले यसलाई पनि प्रमाणका रूपमा अदालतमा पेस गरेको छ ।


जिल्ला न्यायाधिवक्ता गौतमका अनुसार २०७० फागुन १९ गते सशस्त्र समूहका नाइके चौधरी पक्राउ परेपछि उनीसित बरामद पेनड्राइभमा भेटिएको ट्र्याकमा समेत साह र चौधरीको आवाज मिलेको छ ।


विस्फोटमा रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको मृत्यु भएको थियो । घटनामा संलग्न रहेको दाबीसहित सरकारी वकिल कार्यालयले जयप्रकाश चौधरी, मुकेश कर्ण, सुरेश कर्ण, रिपेन्द्र झा, जितेन्द्र कर्ण, आदित्य देव, सशस्क्र समूहका नाइके चौधरी, राजन मुत्ति, पूर्वमन्त्री साह, फूलकुमार यादव, उमेश तिवारी, सुजितकुमार पाण्डे र ओमप्रकाश यादवविरुद्ध अभियोगपत्र दायर गरेको छ ।

प्रकाशित : चैत्र ११, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?