कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मुस्ताङमा सुक्खा पहिरो

लालप्रसाद शर्मा

पोखरा — मुस्ताङस्थित घरपझोङ गाउँपालिका– १ छैरोको तिब्बती शरणार्थी क्याम्पमा सुक्खा पहिरो जाँदा बस्ती जोखिममा परेको छ । भूक्षयले जमिन चिरा पर्दै भासिँदा केही भौतिक संरचनामा क्षति पुगेको छ । पहिरो नजिकै आएपछि ९ घर सामानसहित छिमेकमा सरेका छन् ।

मुस्ताङमा सुक्खा पहिरो

मुस्ताङ प्रहरीका अनुसार सोमबार बिहान साढे २ बजेतिर जमिन भासिँदै पहिरोको रूप लिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त ठाउँमा ३ सय मिटर लम्बाइ र ५० मिटर उचाइको जमिन १५ मिटर तल कालीगण्डकीमा भासिएको डीएसपी तुलबहादुर कार्कीले बताए ।


जमिन भासिएपछि क्याम्पमा सञ्चालित ४ कोठे प्राथमिक स्वास्थ्य केन्द्र भवन भत्किएको छ । यसबाट १५ लाख बराबरको क्षति भएको छ । त्यसैगरी ३ कोठे पक्की सार्वजनिक शौचालय र स्नानगृहसमेत भत्किँदा करिब १९ लाख बराबरको थप क्षति भएको छ । स्थानीय मिन्डिक सोनमको गोठसमेत भत्केको प्रहरीले जनाए । शरणार्थीहरू तारा खेल्ने मैदान पनि आधा भासिएको छ ।


क्याम्पमा बस्दै आएका ६४ वर्षीय नोर्बु फुन्सोकले तत्काल समस्या समाधान नभए वर्षायाममा ठूलो क्षति बेहोर्नुपर्ने बताए । अहिले कालीगण्डकी नदी सानो रहेको तर वर्षायाममा उर्लेर आउँदा भासिएको सबै जमिन तान्ने उनले जनाए । ‘समस्या समाधानमा हाम्रो क्षमता छैन । वर्षायाममा बस्ती पूरै जाने खतरा छ,’ उनले टेलिफोनमा भने, ‘सरकारले समाधान गरिदिनुपर्‍यो ।’


नोर्बुका अनुसार पहिरो बस्तीको २० फिट नजिकै छ । जोखिम बढेपछि ९ घर सामानसहित अन्यत्र सरेको उनले बताए । सामान छिमेकका आँगनमा थुपारेर राखिएको छ । अरूको शरणमा बस्नुपर्ने अवस्था आएको नोर्बुले बताए । क्याम्पमा ५० घर र २ सय २५ जनसंख्या छ । तत्कालीन खम्पा विद्रोहका दौरान सन् १९७२ मा यहाँ तिब्बती शरणार्थी क्याम्प स्थापना गरिएको थियो ।


घटनापछि प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसहित सुरक्षा निकाय र जनप्रतिनिधि टोली पुगेको थियो । शरणार्थीले प्रजिअ क्षेत्रीसँग सुनाएका थिए । क्षेत्रीले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिए । उक्त स्थानमा पानी चुहिरहेको छ ।


नदीकिनारमा तटबन्धका लागि जग खन्ने क्रममा स्काभेटरको कम्पनले कमजोर भई जमिन भासिएको हुन सक्ने प्रजिअको अनुमान छ । रपझोङ गाउँपालिका उपाध्यक्ष शर्मिला गुरुङले घटनास्थल वरपर कच्ची सिंचाइ रहेको, नदी किनारमा तटबन्धका लागि जग खनिएको, कमजोर जमिन र डोजरका कारण घटना भएको हुन सक्ने बताइन् ।

प्रकाशित : चैत्र ११, २०७५ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?