जापान कामदार पठाउन 'सहयोग समझदारी पत्र'मा हस्ताक्षर

होम कार्की

काठमाडौँ — जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सोमबार काठमाडौंमा 'सहयोग समझदारी पत्र'मा हस्ताक्षर भएको छ । सोमबार भएको एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा श्रम मन्त्रालयका निमित्त सचिव र जापानी राजदूतले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।  

जापानले पहिलोपटक ‘श्रम भिसा’ मा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीच समझदारीमा हस्ताक्षर भएको हो।

जापानले आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार लैजाने निर्णय गरेको छ। समझदारीअनुसार दुई देशका सरकारी संयन्त्रको समन्वयमा कामदार भर्ना हुनेछन्। ‘जापान जाने नेपाली कामदारले म्यानपावर धाइराख्नुपर्ने छैन । कामदार पठाउने कार्य सरकारी संयन्त्रबाटै गर्ने सहमति भएको छ,’ श्रम मन्त्रालय एक अधिकारीले भने, ‘तेस्रो पक्षको संलग्नता हुँदा उच्च ठगी हुने सम्भावना देखिएको थियो । हाम्रो मुख्य उद्देश्य नै कामदार ठगी हुनबाट जोगिनुपर्छ भन्ने थियो ।’
श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागअन्तर्गत एउटा शाखा स्थापना गर्नेछ । त्यही शाखाले जापानी रोजगारदाताले माग गरेअनुसारका कामदार पठाउन सहजीकरण गर्नेछ । ‘हाम्रो मुख्य सरोकार नै जापान जाने कामदारमाथि अनावश्यक ठगी र झन्झट नहोस् भन्ने छ । कामदार पठाउन दुवै देशका सरकारी संयन्क्र सत्रिय हुनेछन्,’ ती अधिकारीले भने । वैदेशिक रोजगारका लागि सरकार आफैं संलग्न भएको यो तेस्रो देश हो ।

यसअघि दक्षिण कोरिया र इजरायलमा सरकारी तवरबाटै कामदार पठाउने गरिएको छ । दक्षिण कोरिया सफल मोडल हो भने इजरायल असफल जस्तै छ । जापानले दक्ष र अदक्ष कामदार लैजानेछ । जापानले आवश्यकताअनुसार प्रत्येक वर्ष कामदार लैजाने जनाएको छ । ५ वर्षभित्र ३ लाख ४२ हजार दक्ष–अदक्ष विदेशी श्रमिकलाई रोजगारी दिने जापानी नीति छ । कुन–कुन देशबाट कति कामदार लैजाने भन्ने निर्णय जापानले बाहिर ल्याइसकेको छैन ।

कामदार कम हुँदै गएपछि जापानले विदेशी कामदार ल्याउने नीति लिएको हो । उसले कृषि, उत्पादन र केयरगिभरका क्षेत्रमा रोजगारी दिने जनाएको छ । नेपालबाट भने केयरगिभरका क्षेत्रमा बढी कामदार लैजाने योजना छ।

प्रकाशित : चैत्र ११, २०७५ १३:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मुस्ताङमा सुक्खा पहिरो

लालप्रसाद शर्मा

पोखरा — मुस्ताङस्थित घरपझोङ गाउँपालिका– १ छैरोको तिब्बती शरणार्थी क्याम्पमा सुक्खा पहिरो जाँदा बस्ती जोखिममा परेको छ । भूक्षयले जमिन चिरा पर्दै भासिँदा केही भौतिक संरचनामा क्षति पुगेको छ । पहिरो नजिकै आएपछि ९ घर सामानसहित छिमेकमा सरेका छन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका–१, छैरोको तिब्बती शरणार्थी क्याम्पमा गएको सुक्खा पहिरोले भत्किएको स्वास्थ्य केन्द्र । तस्बिर : कान्तिपुर

मुस्ताङ प्रहरीका अनुसार सोमबार बिहान साढे २ बजेतिर जमिन भासिँदै पहिरोको रूप लिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त ठाउँमा ३ सय मिटर लम्बाइ र ५० मिटर उचाइको जमिन १५ मिटर तल कालीगण्डकीमा भासिएको डीएसपी तुलबहादुर कार्कीले बताए ।

जमिन भासिएपछि क्याम्पमा सञ्चालित ४ कोठे प्राथमिक स्वास्थ्य केन्द्र भवन भत्किएको छ । यसबाट १५ लाख बराबरको क्षति भएको छ । त्यसैगरी ३ कोठे पक्की सार्वजनिक शौचालय र स्नानगृहसमेत भत्किँदा करिब १९ लाख बराबरको थप क्षति भएको छ । स्थानीय मिन्डिक सोनमको गोठसमेत भत्केको प्रहरीले जनाए । शरणार्थीहरू तारा खेल्ने मैदान पनि आधा भासिएको छ ।

क्याम्पमा बस्दै आएका ६४ वर्षीय नोर्बु फुन्सोकले तत्काल समस्या समाधान नभए वर्षायाममा ठूलो क्षति बेहोर्नुपर्ने बताए । अहिले कालीगण्डकी नदी सानो रहेको तर वर्षायाममा उर्लेर आउँदा भासिएको सबै जमिन तान्ने उनले जनाए । ‘समस्या समाधानमा हाम्रो क्षमता छैन । वर्षायाममा बस्ती पूरै जाने खतरा छ,’ उनले टेलिफोनमा भने, ‘सरकारले समाधान गरिदिनुपर्‍यो ।’

नोर्बुका अनुसार पहिरो बस्तीको २० फिट नजिकै छ । जोखिम बढेपछि ९ घर सामानसहित अन्यत्र सरेको उनले बताए । सामान छिमेकका आँगनमा थुपारेर राखिएको छ । अरूको शरणमा बस्नुपर्ने अवस्था आएको नोर्बुले बताए । क्याम्पमा ५० घर र २ सय २५ जनसंख्या छ । तत्कालीन खम्पा विद्रोहका दौरान सन् १९७२ मा यहाँ तिब्बती शरणार्थी क्याम्प स्थापना गरिएको थियो ।

घटनापछि प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसहित सुरक्षा निकाय र जनप्रतिनिधि टोली पुगेको थियो । शरणार्थीले प्रजिअ क्षेत्रीसँग सुनाएका थिए । क्षेत्रीले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिए । उक्त स्थानमा पानी चुहिरहेको छ ।

नदीकिनारमा तटबन्धका लागि जग खन्ने क्रममा स्काभेटरको कम्पनले कमजोर भई जमिन भासिएको हुन सक्ने प्रजिअको अनुमान छ । रपझोङ गाउँपालिका उपाध्यक्ष शर्मिला गुरुङले घटनास्थल वरपर कच्ची सिंचाइ रहेको, नदी किनारमा तटबन्धका लागि जग खनिएको, कमजोर जमिन र डोजरका कारण घटनाभएको हुन सक्ने बताइन् ।

प्रकाशित : चैत्र ११, २०७५ १२:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT