कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोखिममा काम गर्दै सफाइ मजदुर

विपिन श्रीस

काठमाडौँ — डाक्टरहरु भन्छन्, सबै संक्रामक रोग फोहोरका कारण लाग्छ । तर, फोहोरमै काम गर्ने सफाइ मजदुरहरु वर्षौदेखि जोखिमपूर्ण रुपमा काम गरिरहेका छन् । स्वास्थ्य सम्बन्धी सचेतना र आर्थिक अभाव तथा सरोकारवाला निकायको उदासिनताका कारण सफाइ मजदुरहरु जोखिमपूर्ण रुपमा काम गर्न बाध्य भएका हुन् ।

जोखिममा काम गर्दै सफाइ मजदुर

भारतबाट नेपाल आएका २५ वर्षीय श्याम साव डेढ दशकदेखि फोहोर उठाउने काम गर्छन् । काभ्रेकी ३३ वर्षीया सीमा लामा पनि यो पेशामा लागेको आठ वर्ष भइसक्यो । यी दुवै जनाले काम गर्ने क्रममा पञ्जा, बुट र चस्मा लगायतका सुरक्षित पोशाक लगाउँदैनन् । साव र लामा जस्तै सयौं सफाइ मजदुरहरु सुरक्षित पोशाकबिना नै फोहोर उठाउने काम गर्दै आएका छन् ।


'आफ्नो कमाइ खानलाउन, बालबच्चा पढाउनै ठिक्क हुन्छ,' लामाले भनिन्, 'काम गर्नकै लागि पञ्जा, बुटलगायतका सुरक्षित पोशाक किन्न पैसा पुग्दैन ।' उनले फोहोर उठाउने काम गरेकै कारण कुनै ठुलो रोग लागेको भने आफूलाई याद नभएको बताइन् । फोहोरमा काम गर्नु रहर नभइ बाध्यता भएको अर्की सफाइ मजदुर निर्मला तामाङको भनाइ छ । तामाङले स्वास्थ्यको बारेमा आफूलाई खासै जानकारी नभएको र परिवार पाल्न यो पेशा अंगालेको बताइन् ।


शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिफ कन्सल्टेन्ट ट्रोपिकल मेडिसिन डा. अनुप बास्तोलाले फोहोरमा काम गर्दा तत्काल समस्या नदेखिएपनि निरन्तर रुपमा दुर्गन्धित वातावरणमा काम गर्दा त्यसको समस्या पछि पनि देखिन सक्ने बताए । उनका अनुसार फोहोरमा काम गर्दा सरुवा रोगसँगै छाला, श्वासप्रश्वास, स्नायुसम्बन्धी रोगहरुको जोखिम हुन्छ । 'उद्योग तथा अस्पतालबाट निस्कने रसायनयुक्त फोहोरहरु झनै घातक हुन्छन्, जसका कारण फोक्सो, मुटु तथा मस्तिष्कमा समेत असर पर्न सक्छ भने क्यान्सर पनि हुन सक्छ,' उनले भने ।


चोटपटक लागेमा रगत र नसाहरुमा पनि सक्रमण फैलन सक्ने उनले बताए । फोहोरमा काम गर्दा हुन सक्ने जोखिम न्युनिकरण गर्न पञ्जा, बुट, मास्क, चस्मा आदि सुरक्षित पोशाकहरु लगाउन डाक्टरहरुको सुझाव छ । प्रकृतिका आधारमा जोखिमपूर्ण, प्लाष्टिकजन्य, तथा प्राङ्गारिक फोहोरहरुको वर्गीकरण गरी व्यवस्थापन गर्न सके सफाइ कर्मचारीलाई पनि सहज हुने उनीहरु बताउँछन् ।


काठमाडौंमा उपत्यकामा नगरपालिका तथा नीजि क्षेत्रले फोहोर उठाउने काम गर्दै आएका छन् । काठमाडौँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले महानगरका कुचीकारहरुलाई मासिक २३ हजार रुपैयाँ तलबसहित उनीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर पोषाकभत्ता समेत उपलब्ध गराएको बताए ।


'निजी क्षेत्रका रोजगारदाता र मजदुरहरुलाई पनि स्वास्थ्यको बारेमा बेलाबेलामा सचेत बनाउने काम गर्ने गरेका छौँ, यद्यपि, बाध्यकारी व्यवस्था भने छैन,' उनले भने । निजी क्षेत्रमा काम गर्ने मजदुरहरुले पनि मासिक १५ देखि २० हजार रुपैयाँ कमाउँछन् ।

प्रकाशित : चैत्र ११, २०७५ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?