१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

गैंडालाई न घाँस न घोल

आहार खोजी गर्दै निकुञ्जबाट बाहिर निस्केका गैंडा खाल्डो, दलदल, सेप्टिक ट्यांकी र विद्युतीय तारमा परेर मरिरहेका छन् 

काठमाडौं र चितवन — एकसिंगे गैंडाको मुख्य आश्रय चितवन निकुञ्जको क्षेत्रफल ९५२.६३ वर्ग किलोमिटर छ । निकुञ्जबाहिर थप ७२९.३७ वर्ग किमि मध्यवर्ती क्षेत्र छ । निकुञ्जभित्र गैंडाको मुख्य बासस्थान २५ प्रतिशत मात्र छ । त्यसमा पनि बर्सेनि दुई प्रतिशतका दरले बासस्थान विनाश भइरहेको छ ।

गैंडालाई न घाँस न घोल

बासस्थान खुम्चँदा गैंडा आहार (घाँसेमैदान) र बासस्थान (घोल र पानी) को खोजी गर्दै ‘कोर एरिया’ बाट मध्यवर्ती क्षेत्रमा आउने गरेका छन् ।


गैंडामा विद्यावारिधि गरेका शान्तराज ज्ञवाली र नरेश सुवेदी, वन्यजन्तुमै विद्यावारिधि गरिरहेका बाबुराम लामिछाने, जुलोजिक सोसाइटी अफ लन्डन, बेलायतका राजन अमिन र ‘वाइल्डलाइफ इन्स्टिच्युट अफ इन्डिया’ का यादभेन्द्रदेभ भी झालाको ७ वर्षे अध्ययनले गैंडाको मुख्य चुनौती बासस्थान विनाशलाई ठहर गरेको छ । आहार र बासस्थानको खोजी गर्दै मध्यवर्ती क्षेत्रमा आएका गैंडा खाल्डो, दलदल, सेप्टिक ट्यांकी र विद्युतीय तारमा परेर मरिरहेका छन् ।


आहारमा प्रतिस्पर्धाका लागि हुने द्वन्द्व, समागम बेलाको जुधाइ र बूढो भएर पनि गैंडा मरिरहेका छन् । विज्ञ ज्ञवाली आहार र बासस्थानमा आएको अभाव र फेरबदलको असर गैंडाको जीवनचक्रमा परेको बताउँछन् । ‘हिजो गैंडा चर्ने ठाउँमा अहिले घाँस छैन । पानीका घोल, तालतलैयासमेत सुकेका छन् । गैंडा उपयुक्त बासस्थान खोज्दै कोर एरियाबाट बाहिरिन बाध्य छन्,’ ज्ञवालीले भने ।


गत ८ महिनामा निकुञ्ज, मध्यवर्ती क्षेत्र र बाहिर (राष्ट्रिय वनमा) गरी जम्मा ४१ गैंडा मरेका छन् । राष्ट्रिय वन क्षेत्रमा २ वटा गैंडा मरेका हुन् । ४१ मध्ये पाँचवटा गैंडा मात्र बूढो भएर मरेको पाइएको छ । १७ वटा गैंडाको मृत्युको कारण खुल्न सकेको छैन । यो संख्या विगतमा सशस्त्र द्वन्द्वमा तस्करले मारेको भन्दा बढी हो ।


गत आर्थिक वर्षमा २६ गैंडा मरेका थिए । यत्तिका संख्यामा गैंडा मर्न थालेपछि विशेषज्ञहरूले ‘प्राकृतिक मृत्यु’ का रूपमा मात्र हेर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । रोगव्याधीले मरेको भए रोग पहिचान गरी निराकरण गर्नुपर्ने विज्ञ ज्ञवालीले बताए ।


अर्का विज्ञ लामिछानेका अनुसार गैंडा मर्नुको कारण भिन्नभिन्न छ । ‘एकै कारणले मरिरहेका छैनन्,’ उनले भने, ‘यसलाई गम्भीरतापूर्वक हेर्नुपर्ने देखिन्छ ।’ उनका अनुसार आपसमा जुधेर धेरै गैंडा मरेको देखिन्छ । ‘गैंडा एउटै क्षेत्रमा बढी जम्मा भएका छन्,’ लामिछानेले भने, ‘थोरै स्रोत (घाँस) र बासस्थानमा धेरैले प्रतिस्पर्धा गर्नुपर्ने भएपछि द्वन्द्व स्वतः बढ्छ ।’


क्षेत्रफल बढी देखिए पनि त्यहाँ खाने घाँस प्रचुर मात्रामा नभएकाले उफयुक्त आहार खोजी गर्दै बाहिरिने त्रम बढेको विज्ञहरूको विश्लेषण छ । गर्मी बढी हुने चितवनमा वन्यजन्तुका लागि पानी र चिस्यान अत्यावश्यक हुन्छ ।


‘माइकेनिया म्याकारान्था’ नामको मिचाहा प्रजातिको वनस्पति अर्को चुनौतीका रूपमा देखा परेको छ । सन् २००० देखि चितवनमा तीव्र गतिमा फैलिरहेको माइकेनियाले गैंडाले मन पराउने घाँसे प्रजाति र पानीका घोल–ताल छोपिएका छन् । अनुसन्धानकर्ताहरूले भनेका छन्, ‘पछिल्ला वर्षमा बासस्थान विनाश चिन्ताको विषय बनेको छ ।’ विशेषज्ञहरूको टोलीले सन् २००९ देखि २०१५ सम्म चितवन निकुञ्जका गैंडा, घाँसे मैदान र बासस्थानबारे अध्ययन गरेका थिए ।


निकुञ्जको ‘कोर एरिया’ मा आहार र पानीका घोल सीमित भएपछि गैंडाबीच आहार र बासस्थानका लागि प्रतिस्पर्धा बढेको सुवेदी बताउँछन् । ‘एउटै क्षेत्रमा गैंडाको घनत्व बढी भएको छ,’ उनले भने, ‘बासस्थान र आहारका निम्ति आन्तरिक प्रतिस्पर्धा बढेको छ ।’ वंश विस्तारका लागि आहारको सन्तुलन अत्यावश्यक पर्छ । गैंडाका लागि पानीका घोल(ताल पनि अपरिहार्य हुन् । गैंडाले हिलो मिसिएको पानीमा घन्टौं आहाल बसेर मजा लिन्छ ।


चितवन निकुञ्जको पूर्वी क्षेत्र, सौराहा आसपासमा गैंडाको घनत्व घटेको छ । धेरै गैंडा निकुञ्जको पश्चिम क्षेत्रमा सरेका छन् । केही वर्षयता सहरी क्षेत्र र मानवीय बस्तीमा गैंडाको आउजाउ बढ्नुलाई पनि विशेषज्ञहरूले उपयुक्त आहार अभावको कारणका रूपमा अर्थ्याउने गरेका छन् । बितेका २६ वर्षमा निकुञ्जको मुख्यालय रहेको कसरादेखि पूर्वी क्षेत्रमा ४९ प्रतिशतले गैंडाको संख्यामा ह्रास आएको छ ।


‘पूर्वी क्षेत्रमा गैंडालाई फर्काउने हो भने पानीको घोल र घाँसेमैदान व्यवस्था गर्न ढिलाइ गर्नु हुन्न,’ उनले भने । विज्ञहरूले बर्सेनि ६ वयस्क पोथी र ६ वयस्क भालेको चोरी सिकार र अहिले भएको बासस्थानमा ५० प्रतिशत बासस्थान विनाश भए सय वर्षपछि गैंडाको संख्या १ सय ६१ मा सीमित हुन सक्ने चेतावनी दिएका छन् ।


अध्ययनले निकुञ्जमा घट्दो बासस्थान विनाश रोक्न सके गैंडाको संख्या निराशजनक हिसाबले नघट्ने देखाएको छ । अध्ययनले चोरी सिकार र माइकेनिया म्याकारान्था नियन्त्रण गर्न सके चितवनबाट बर्सेनि ८ भाले र ५ पोथी गरी १३ गैंडा अन्य स्थानमा स्थानान्तरण गर्न सकिने जनाएको छ ।


निकुञ्ज व्यवस्थापनमा दुई अर्ब

चालु आर्थिक वर्षका लागि चितवनसहित मुलुकभरका निकुञ्ज व्यवस्थापनका लागि २ अर्ब २ करोड ८७ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । चितवनका लागि मात्र १४ करोड ४० लाख रुपैयाँ विनियोजन भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना प्रमुख तथा सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठ झन्डै सवा ६ करोड रुपैयाँभन्दा बढी रकम निकुञ्जमा वन्यजन्तुका लागि आवश्यक भौतिक निर्माण र व्यवस्थापनमा खर्च भइहरहेको दाबी गर्छन् । निकुञ्जले वार्षिक २५ देखि ३० करोड रुपैयाँ आम्दानी गर्दै आएको छ ।


निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गोपाल घिमिरेका अनुसार निकुञ्जभित्र १० हजार हेक्टर घाँसेमैदान छ । उनले यो वर्ष ८० हेक्टर घाँसेमैदान सुधार गरिसकिएको र थप ५० हेक्टरमा काम अघि बढेको बताए । घाँसेमैदान सुधारका लागि २५ लाख रुपैयाँ खर्च हुनेछ ।


चालु आर्थिक वर्षमा पानीका ताल र पोखरी सुधारका लागि निकुञ्जले १ करोड २० लाख रुपैयाँ खर्च गर्दै छ । यो बजेटबाट ६० वटा ताल र पोखरीको सुधार हुने घिमिरेले बताए । निकुञ्जभित्र सुधार गर्नुपर्ने पोखरीको संख्या सय हाराहारी छ । विगतका तुलनामा यो वर्ष बजेटमा बढोत्तरी भएकाले पोखरी र घाँसेमैदान सुधारका काम बढी भएको छ ।

प्रकाशित : चैत्र १२, २०७५ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?