कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चन्द समूहका तीन जिल्ला सदस्य पक्राउ

अवधेशकुमार झा

राजविराज — नेत्रविक्रम चन्द समूहका तीनजना जिल्लास्तरका कार्यकर्तालाई सप्तरी प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी पमुख एसपी राजेन्द्र विष्टका अनुसार चन्द समूहका जिल्ला सदस्यहरु सप्तरीको कञ्चनरुप नगरपालिका-६ का नुन्नु राम, शम्भुनाथ नगरपालिका-६ का गणपति साह र छिन्नमस्ता गाउँपालिका-१ का तेजनारायण यादवलाई नियन्त्रणमा लिइएको हो ।

चन्द समूहका सदस्यहरुलाई खोज्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथी थप अनुसन्धान भईरहेको एसपी बिष्टले बताए ।


सप्तरी प्रहरीले पछिल्लो केहीदिन यता प्रतिबन्धित चन्द समूहका संयोजक नेत्रविक्रम चन्द सहित सो समूहका नेता कार्यकर्ताको खोजी कार्य तीव्र बनाएको छ । सप्तरी प्रहरीले सिरहा र उदयपुर प्रहरीसित समन्वय गरि खोजी कार्य तीव्र बनाएको हो ।


पछिल्लो समय प्रहरीले उदयपुरसित सीमा जोडिएको क्षेत्र र सिरहासित सीमा जोडिएको सप्तरीको पश्चिमोत्तर क्षेत्रमा सर्च अभियान चलाएको छ । एसपी बिष्टले चन्द सहितका उनका नेता कार्यकर्तालाई नियन्त्रणमा लिन सर्च अपरेसन सुरु गरिएको स्वीकारे । उनले भने,‘जिल्ला प्रहरी कार्यालयवाट विशेष टोली परिचालन गरि सिरहा र उदयपुर प्रहरीसित समन्वय गरि अपरेसन चलाएका छौं ।’


सिरहा र उदयपुरसित जोडिएको सप्तरीको उत्तरी क्षेत्र चुरे छेउछाउमा प्रतिवन्धित समूहका नेता कार्यकर्ता हुन सक्ने अनुमान गरिएको छ । स्रोतका अनुसार केहीदिन अघि प्रतिबिन्धत समूहका संयोजक नेत्रविक्रम चन्द स्वयं सप्तरी आएका थिए । उनी आउँदा उनका कार्यकर्ताहरुले यहाँका केही जनप्रतिनिधिहरुसित चन्दा समेत लिएर गएको बुझिएको छ । ‘केही दिनअघि चन्द आफैं सप्तरी आएर केही व्यक्तिसित भेटेर गएको थियो,’ स्रोतले भन्यो, ‘उनी केही पूर्व माओवादीहरुलाई भेटेका थिए ।’


सांगठनिक रुपमा सप्तरी जिल्लामा चन्द समूहको उपस्थिती मजबुत छैन । जिल्लाका उत्तरी क्षेत्रमा ती समूहमा लागेका केही हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित : चैत्र १२, २०७५ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?