१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

उपकुलपति रौनियारलाई नहटाउन आदेश

प्रदीप मेन्याङ्बो

सुनसरी — सर्वोच्च अदालतले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. राजकुमार रौनियारलाई पदबाट नहटाउन मंगलबार अन्तरिम आदेश जारी गरेको छ ।

उपकुलपति रौनियारलाई नहटाउन आदेश

उपकुलपतिबाट रौनियारलाई हटाउने निर्णय कानूनसम्मत नभएको ठहर गर्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधिश मीरा खडकाको संयुक्त इजलाशले अन्तरिम आदेश जारी गरेको हो ।


स्वास्थ्य मन्त्री तथा सहकुलपति उपेन्द्र यादवको अध्यक्षतामा गत फागुन १७ गते बसेको प्रतिष्ठानको संचालक परिषद सिनेट बैठकले पदीय दायित्व पुरा नगरेको भन्दै रौनियारलाई पदबाट बर्खास्त गर्न सिफारिस गरेको थियो । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले त्यही सिफारिसका आधारमा उक्त निर्णयलाई फागुन २६ गते सदर गरेका थिए ।


रौनियारले आफुविरुद्ध स्वास्थ्य मन्त्रीले एकपक्षीय निर्णय गरेको भन्दै चैत ३ गते सर्वोच्च अदालतमा रिट दिएका थिए । चैत ४ गते रिटमाथि सुनुवाई गर्दै न्यायाधिश प्रकाशमान सिंह राउतको इजलाशले रौनियारलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्नु, नगराउनु भन्ने अल्पकालिन अन्तरिम आदेश जारी गरेका थिए । सरकारले त्यही दिन प्रतिष्ठानका रेक्टर डा. गुरु खनाललाई प्रतिष्ठानको आर्थिक र प्रशासनिक काम हेर्न गरी निमित्त उपकुलपतिको जिम्मेवारी दिएको थियो ।


सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि उपकुलपति रौनियारले भने, ‘मैले अदालतबाट न्याय पाएको छु ।’ सर्वोच्चले मुद्दाको फैसला नभएसम्म उपकुलपति रौनियारलाई हटाउने निर्णय कार्यान्वयमा रोक लगाउदै काममा अबरोध नगर्न समेत भनेको छ ।


प्रकाशित : चैत्र १२, २०७५ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?