शिक्षक नै खोस्छन् प्याड

कहिल्यै घर नछाडेका छात्राहरुलाई बाहिर बस्दा असुरक्षा महसुस
मेनुका ढुंगाना

काठमाडौँ — पञ्चदेवल विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् । सदरमुकामस्थित विद्या मन्दिर मावि विनायकको परीक्षा केन्द्र परेको छ । बिरानो ठाउँ गएर परीक्षा दिँदा कुनै अप्ठ्यारो पर्ने हो कि भन्ने डरले उनलाई सताएको थियो । अर्कोतिर बाहिर डेरा गरेर बस्नुपर्ने भएकाले खर्चको समस्या उस्तै थियो । 

शिक्षक नै खोस्छन् प्याड

‘परिवारबाट टाढा हुँदा मनमा चिन्ता लागेको छ,’ उनले भनिन्, ‘खर्च जुटाउन पनि निकै अप्ठ्यारो भयो । ऋण गरेर आमाले ७ हजार जुटाइदिनुभयो र परीक्षा दिन आएँ ।’


परीक्षाका बेला महिनावारी हुने डर

कुइकाकै देवसरा अधिकारीलाई बिरानो ठाउँमा अर्काको घरमा बस्नुपर्दा महिनावारी भए कसरी व्यवस्थापन गर्ने भन्ने समस्याले सुरुदेखि नै सताएको थियो । आखिर जे डर थियो, त्यही भयो । ‘परीक्षा सुरु भएको १५ मिनेटमै म महिनावारी भएँ । प्याड खल्तीमा बोकेरै लगेकी थिएँ । तर चिट लुकाउन होला भन्ने आशंका गर्दै शिक्षकले सुरुमै प्याड थुतेर लिए ।’ आफूले त्यो दिन लेख्नै नसकेको देवसराले बताइन् ।


घर छोडेर बाहिर परीक्षा दिन गएका सबैभन्दा ठूलो समस्या महिनावारी भए के गर्ने भन्ने चिन्ताले छात्रालाई सताउने गरेको छ । ‘गाउँबाट आएका हामीलाई यहाँको वातावरण केही थाहा हुँदैन ।


अप्ठ्यारो भइहाले सघाइदिने मान्छे पनि छैनन्,’ देवसराले भनिन् । पूर्वी अछाम विनायकबाटै सदरमुकाम एसईई दिन आएकी उर्मिला अधिकारी घरबाट निस्केको दिनदेखि तनावमा छिन् । ‘आमाले ५ सय रुपैयाँ दिएर पठाउनुभएको हो । २ सय गाडी भाडा तिरेँ । सय रुपैयाँको कलम र अन्य सामान किन्दा सकियो । अब तीन सय छ,’ उनले भनिन्, ‘आमाले कतैबाट सापट गरेर टार्नु, पैसा पछि पठाइदिन्छौं भन्नु भएको छ । त्योभन्दा अगाडि होटेलवालाले पैसा माग्छन् कि भन्ने डर छ ।’


असुरक्षित महसुस

अहिले मंगलसैनको एक होटेलमा २ कोठा लिएर १२ छात्रा बसिरहेका छन् । ‘सबैले अलगअलग बस्दा खर्च बढी लाग्छ । हामी सबैको आर्थिक अवस्था एकैनास हो,’ उर्मिलाले भनिन्, ‘बस्न अप्ठ्यारो छ । नुहाउन पानी छैन ।’ साथीहरूसँग मिलेर बस्न नपाएपछि बजारमा एक्लै कोठा लिएर परीक्षा दिइरहेकी भावना अधिकारी आफू असुरक्षित भएको महसुस गर्छिन् ।


‘अरु साथीहरू अगाडि नै मिलेर बसेका रहेछन् । म एक्लै भएँ । राति हुन थालेपछि चिन्ता लाग्छ,’ भावनाले भनिन्, ‘पहिलोपटक मंगलसैन आएकी हुँ । राति भएपछि शौचमा निस्कनै डर लाग्छ । दिन प्रतिदिन बलात्कारका घटना भएको सुन्दा झन् आतंकित हुन्छु ।’


अछाममा मात्रै होइन, यस्तै समस्या बझाङमा पनि छ । मष्टा गाउँपालिकाबाट सदरमुकाम चैनपुरमा एसईई दिन आएकी पशुपति धामीलाई पनि अछामकी भावना र देवसराजस्तै समस्या छ । घरबाट निस्केर सदरमुकाम आएका छात्रा शारीरिक रूपमा मात्र होइन मानसिक रुपमा पनि तनावमा देखिन्छन् । अभिभावक पनि छोरीहरूकै चिन्तामा हुन्छन् ।


‘गाउँमा बस्दा सहरबजारको केही थाहा नपाएका हामीलाई सुरुमै गाह्रो भइहाल्यो,’ पशुपतिले भनिन्, आफ्नै ठाउँमा परीक्षा दिन पाए सहज हुने थियो ।’ प्याड बोकेर शौचालय जाने वातावरण छैन । पूरै दुर्गन्धित छ । उनका अनुसार सेन्टर परिवर्तन भए पनि परीक्षा दिने वातावरण सहज हनुपर्छ । महिनावारी भइहाले प्याड कहाँ पाइन्छ र कसलाई सम्पर्क गर्नुपर्छ भन्ने थाहा भए सहज हुने उनलाई लाग्छ ।


डोटीको आदर्श गाउँपालिकास्थित शारदा माविकी छात्रा पवित्रा खड्का आफन्तको डेरामा बसेकी छन् । १ महिनादेखि डेरा खोज्दा उनले सुरिक्षत बास नपाएपछि आफन्तकहाँ शरण लिएर परीक्षा दिएकी हुन् । ‘फुपूको घरमा बसेर पढछु । सोचेजस्तो वातावरण छैन । पाइएका होटल पनि बस्न असुरक्षित लाग्छन् ।’ रानागाउँस्थित सरस्वती माविकी निर्मला विक २ घण्टा पैदल हिंडेर राजपुरस्थित सुजनमा परीक्षा दिन बाध्य छिन् । जंगलको बाटो भएर जानुपर्दा उनी डराउँछिन् । ‘घना जंगलको बाटो हिंड्नुपर्छ । घरबाट निस्किँदा के पो हुने हो भन्ने डर लागिरहन्छ,’ उनले भनिन् ।


विद्यालयका प्रधानाध्यापक मीन राणाले पनि परीक्षा दिन कठिनाइ भएको बताए । अछामका जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ विकास प्रमुख लक्ष्मण गिरीका अनुसार घरपायकको केन्द्रमा आफ्नै छोराछोरी परीक्षा दिँदा अभिभावकको भीडभाड र परीक्षा शान्त, मर्यादित वातावारण नहुने भएकाले सेन्टर परिवर्तन भएको बताउँछन् ।


अछामका २१ विद्यालयका विद्यार्थीको मात्रै सेन्टर बदलिएको हो । ‘९३ माविमध्ये ७२ विद्यालयका विद्यार्थीले नजिककै सेन्टरबाट परीक्षा दिइरहेका छन्,’ उनले भने ।


प्रकाशित : चैत्र १३, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?