२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

हावाहुरी र पानीले करोडौं मूल्य बराबरको इँटा नोक्सान

हरिहरसिंह राठौर

धादिङ — माघ महिनादेखि परिरहेको पटकपटकको झरीले पृथ्वीराजमार्ग वरपर सञ्चालित इँटा भट्टा उद्योगले करोडौंको नोक्सानी व्यहोर्नु परेको छ । केही दिन यता पुनः सुरु भएको हवाहुरीसहितको वर्षाले हालसम्म जिल्लामा ४१ इँटा भट्टामा करिव ३० करोड २५ लाख रुपैयाँ मूल्य बराबरको इँटा क्षति भएको धादिङ इँटा संघले जनाएको छ । 

हावाहुरी र पानीले करोडौं मूल्य बराबरको इँटा नोक्सान

एउटा इँटाभट्टामा करिव २० लाख बराबर इँटा पानीले बिग्रेको छ भने जिल्लाका सबैजसो भट्टामा वर्षातले पकाउन तयार पारेर राखिएका सबै काँचो इँटा नोक्सान भएको छ ।


वर्षाले धादिङ जिल्लामा चार करोड ८५ लाख ३० वटाभन्दा बढीको काँचो इँटामा क्षति पुगेको छ । लगातारको वर्षाले गर्दा इँटा बनाएर राखेका ठाउँहरु पानी जमेको छ । पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटाहरु काम नै नलाग्ने भएर बिग्रेपछि उद्योग संञ्चालकहरु चिन्तामा रहेको अध्यक्ष एकराज गजुरेलले बताए।


वर्षाले खुल्ला आकाशमुनि सुकाउन राखिएका काँचो इँटाहरुमा क्षति पुर्‍याएको यति धादिङको थाँक्रे–८ मा रहेका टायल एण्ड ब्रिक इण्डष्ट्रिज प्रालिका संचालक माधव गजुरेलले बताए । ‘पोल्नका लागि सुकाएर तयार पारिएको २० लाख इँटामा क्षति पुगेको छ,’ संचालक गजुरेलले भने, ‘इँटाजति सबै माटो जस्तै बनेको छ । यसबाट ८० लाखभन्दा बढी क्षतिभएको छ ।’


एउटा भट्टामा करिव ४ सयभन्दा बढी मजदुरलाई खानपिन, खच्चडलगाएत विभिन्न खर्च गरेर दैनिक खर्च करिब २ लाख रुपैयाँ लाग्ने गरेको छ । गत माघ महिनामा परेको वर्षातका कारण भट्टामा काम गर्न नसकेको व्यवसायी बताउँछन् । एकातिर काम नभए पनि मजदुरहरुलाई पाल्नुपर्ने समस्या छ भने, अर्कोतर्फ स्थानीय निकायले लिने वार्षिक करको कारण झनै समस्या भएको व्यवसायीहरुको दाबी छ ।


राजधानीसँग जोडिएको धुनीबेंसी नगरपालिकमामा मात्रै २९ वटा इँटा उद्योगहरु सञ्चालनमा छन् । तरकारी बाली हुने जग्गा मासेर सञ्चालन गरिएका इँटा उद्योगहरुमा सबैमा भारतीय कामदार छन् । वर्षातकै कारण ६ वटा भट्टामा आगो निभेका छन् । एक पटक आगो निभे पुनः आगो सल्काउन १ लाख भन्दा बढी खर्च लाग्ने व्यवसायी बताउँछन् ।


धादिङ जिल्लामा पछिल्लो समय औद्योगिककरण सँगै इँटा उद्योग पनि प्रशस्तै सञ्चालनमा छन् । धादिङमा उत्पादित इँटा काठमाडौं लगाएत विभिन्न ठाउँमा जाने गरेको छ । यसपटकको वर्षातको कारण इँटा बिग्रेपछि व्यवसाय नै धरापमा पर्नुको साथै कतिपय व्यापारी पलाएन हुने अवस्थामा पुगेको धादिङ इँटा व्यवसायी संघका अध्यक्ष कुबेर गजुरेलले दाबी गरेका छन् ।


मंसिर महिनादेखि बैशाख महिनासम्म इँटा उत्पादनको समय हो । वर्षभरीको माग धान्नका लागि यही समयमा करोडौं इँटाहरु तयार पारेर राखिन्छ । तर, यसवर्ष सिजनकै मध्यदेखि नै लगातार परिरहेको वर्षाका कारण करोडौं इँटा गलेर नष्ट भएको गजुरेलले बताए ।


महँगो ब्याजमा बैकसँग ऋण लिएर उद्योग खोलेको र सामानजति सबै वर्षाका कारण बिग्रिएपछि अब बैंकको ऋण समेत कसरी तिर्ने भन्ने समस्यामा परेको उद्योगीहरुको भनाइ छ ।

प्रकाशित : चैत्र १३, २०७५ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?