एसईई : प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि, आजको परीक्षा रद्द

रद्द परीक्षाको मिति केहीसमयमा
सुदीप कैनी

काठमाडौँ — एसईई परीक्षामा प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि भएको छ । बिहीबार रातिदेखि नै सामाजिक सञ्जालमा प्रश्नपत्र भाइरल भएको थियो । सामाजिक सञ्जालमा भाइरल भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो । बोर्डले साढे ७ बजे प्रदेश २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्न पत्र आउट भएको पुष्टि गरेको थियो ।

एसईई : प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि, आजको परीक्षा रद्द

कार्यालयका उप नियन्त्रक चेतनाथ शर्माले प्रश्न पत्र आउट भएको पुष्टि पछि प्रदेश २ को शुक्रबारको परीक्षा रद्द गरिएको जानकारी दिए । उनले भने, 'सामाजिक सञ्जालमा रातिदेखि नै प्रश्नपत्र आउट भएको पोष्टहरु भाइरल भएको थियो । त्यो पुष्टि पनि भयो । हामीले आजको परीक्षा रद्द गरेका छौं । तर अर्को परीक्षा कहिले गर्ने भन्नेबारे मिति केहीबेर पछि निर्णय हुनेछ ।'

शर्माका अनुसार ग्रेडबृद्धिकोपरीक्षा भने यथावत रहेको बताए । उनले भने, 'नियमिततर्फको परीक्षामात्रै रद्द भएको हो। ग्रेडबृद्धि गर्नको लागि परीक्षा दिइरहेका परीक्षार्थीहरुको भने जाँच हुन्छ ।'


... [अपडेट]

रातो कागजमा छापिएको प्रश्नपत्र सहित सामाजिक सञ्जालमा बिहीबार रातिदेखि नै प्रशस्तै पोष्टहरु गरिएको थियो ।

उक्त प्रश्नपत्र सक्कली हो वा नक्कली पुष्टि हुन शुक्रबार बिहान साढे ७ बजेसम्म कुर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएको थियो । प्रश्नपत्र बाहिएको हल्ला चलेपछि बोर्डको आकस्मिक बैठक पनि डाकिएको थियो । प्रश्नपत्र बनाउन संलग्न विषय विज्ञहरु सहितको बैठक डाकिएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिएका थिए ।


परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडी केन्द्रीय परीक्षा समन्वय समितिले प्रश्नपत्र खोलेर हेर्न पाउने प्रावधान छ । एसईई परीक्षा ८ बजेबाट सुरु हुन्छ । बिहान साढे ७ बजे प्रश्नपत्र हेरेपछि मात्रै आउट भए नभएको पुष्टि हुने अधिकारीले बताए ।


‘प्रश्नपत्र बाहिरिएको हल्ला आएको छ,’ उनले भने, ‘हामीले तयार गरेर पठाएको प्रश्न र आउट भएको भनिएको प्रश्नपत्र तुलना गरेपछि मात्र त्यसको पुष्टि हुन्छ ।’ त्यसका लागि केहिसमय धैर्य गर्नुपर्ने कार्यालयले जनाएको छ । त्यसअघि सम्म परीक्षाको तयारीमा जुट्न अधिकारीले सबैलाई आग्रह गरेका छन् । परीक्षा सुरु हुनुभन्दा १५ मिनेट अघि परीक्षा केन्द्रमा केन्द्राध्यक्ष प्रश्नपत्र खोल्न पाउने प्रावधान छ । सेकुरेटी प्रेसमा छापिएको प्रश्नपत्र सिलबन्दी गरेर परीक्षा केन्द्रहरुमा पुर्‍याइको हुन्छ ।


बिहीबार प्रदेश नम्बर २ को विज्ञान विषयको प्रश्नपत्र पनि परीक्षा सुरु हुनु अगावै बाहिरिएको थियो । सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरएको सूचना पाएपछि बोर्डले प्रदेश २ को उक्त विषयको परीक्षा रद्द गरेको छ । बोर्ड र प्रदेश सरकारले छानविनका लागि छुट्टाछुट्टै समिति बनाएका छन् । चैत २२ गतेलाई परीक्षा तालिका तोकिएको छ ।

प्रकाशित : चैत्र १५, २०७५ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?