कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

जनकपुर बम विस्फोटका लागि ५० लाख रुपैयाँको ‘सुपारी’

पूर्वराज्यमन्त्री साहसहित ७ लाई जन्मकैद

जनकपुर — पाँच जनाको ज्यान जाने गरी ६ वर्षअघि जनकपुरको रामानन्द चोकमा गराइएको बम विस्फोट मुद्दामा जिल्ला अदालत धनुषाले पूर्वराज्यमन्त्री सञ्जय साह (टकला) सहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको छ । विस्फोटमा संलग्न र वारदातको योजना बुनेका ७ जनामाथि ज्यान मारेको र ज्यान मार्न उद्योग गरेको दुवै मुद्दामा अदालतले बिहीबार अपराह्न फैसला सुनाएको हो । 

जनकपुर बम विस्फोटका लागि ५० लाख रुपैयाँको ‘सुपारी’

न्यायाधीश राजेश कटुवालको इजलासले ५ दिन लामो सुनुवाइपछि प्रतिवादीमध्ये ७ जनालाई जन्मकैद, एकजनालाई १० वर्ष कैद र फरार ४ जनाको हकमा मुद्दालाई मुल्तबी राखेको हो । बम विस्फोट गर्ने व्यक्तिको नाममा १० हजार रुपैयाँ काठमाडौंबाट आईएमई गरेका सुजित पाण्डेलाई भने अदालतले सफाइ दिएको छ ।


२०६९ वैशाख १८ गते जनकपुरको रामानन्द चोकमा बम विस्फोटको योजना बुनेको ठहर गर्दै धनुषा अदालतले पूर्वराज्यमन्त्री साह, भूमिगत सशस्क्र संगठनका नाइके मुकेशकुमार चौधरी र राजन मुत्ति भनिने रञ्जित झालाई जन्मकैदको फैसला सुनाएको छ । ज्यान मार्ने उद्योगमा यी तीनैजनालाई १२ वर्षको कैद पनि सुनाइएको छ ।


मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै धर्नामा बसेका बेला जनकपुरको रामानन्द चोकमा रिमोटमार्फत आरडीएक्स बम विस्फोट गराइएको थियो । घटनामा ५ जनाको मृत्यु र ३२ जना घाइते भएका थिए । सरकारी वकिलको कार्यालयले वारदातका प्रतिवादीलाई ज्यान मार्ने र ज्यान मार्ने उद्योग दुवै मुद्दा चलाएको थियो । बम विस्फोटमा रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको मृत्यु भएको थियो ।


विस्फोटमा प्रत्यक्ष संलग्न रहेका जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेशकुमार कर्ण र रिपेन्द्र झालाई ज्यानसम्बन्धी महलको १/१३(१) र १५ नं. को कसुरमा सोही महलको १३(१) बमोजिम जनही जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार राधाकान्त झाले जानकारी दिए । उनका अनुसार ज्यान मार्ने उद्योगमा यी चारैजनालाई जनही १२ वर्षको कैद पनि ठहर गरिएको छ । घटनाका अर्का प्रतिवादी ओमप्रकाश यादवलाई अदालतले १० वर्षको कैद सजाय तोकेको छ ।


यादवले जनकपुर बम विस्फोटनमा षड्यन्त्र गरेको सरकारी वकिल कार्यालयको दाबी थियो ।


विस्फोटनमा संलग्न जितेन्द्रकुमार कर्ण, आदित्य देव, फूलकुमार यादव र नारायण भन्ने उमेश तिवारीको मुद्दालाई मुल्तवी राखिएको छ । उनीहरू हालसम्म फरार छन् । आइतबारदेखि जिल्ला अदालतमा जनकपुर बम विस्फोट मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको थियो । सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता शम्भु गौतमले बम विस्फोटका मुख्य योजनाकार पूर्वराज्यमन्त्री साह नै रहेको दाबी गर्दै बहस गरेका थिए । सरकारी वकिलले साहले सशस्त्र संगठनका नाइके मुकेश चौधरीलाई सुपारी दिएर विस्फोट गराएको दाबी गरेका थिए ।


त्यो त्रासदीपूर्ण घटनाको दुई भूमिगत सशस्त्र समूहले जिम्मेवारी लिए पनि मुख्य योजनाकार पूर्वराज्यमन्त्री साह रहेको दाबी गर्दै सरकारी वकिलको कार्यालयले पूरक अभियोगपत्र अदालतमा बुझाएको थियो । विस्फोटमा संलग्न ८ जनाको नाममा २०६९ जेठ २९ गते जिल्ला अदालत धनुषामा अभियोगपत्र दायर गरेको सरकारी वकिल कार्यालयले २०७० चैत २४ गते पूर्वराज्यमन्त्री साह र उनका सहयोगीसहित थप ५ विरुद्ध पूरक अभियोगपत्र दायर गरेका थिए ।


विस्फोटलगत्तै रञ्जित झा (राजन मुक्ति) र मुकेश चौधरी नेतृत्वको सशस्त्र समूहले घटनाको जिम्मेवारी लिएका थिए । दुवै पक्राउ परेपछि विस्फोटनमा पूर्वमन्त्री साहको नाम मुछिएको थियो । विस्फोटनको अघिल्लो र भोलिपल्ट पूर्वमन्त्री साह र चौधरीबीच मोबाइलमा १ सय २२ पटक वार्ता भएको प्रमाण अदालतमा पेस गरिएको थियो । प्रतिवादीका कानुन व्यवसायीहरूले विस्फोटनमा साहको संलग्नता नरहेको र राजनीतिक प्रतिशोध साध्न उनलाई फसाइएको दाबी गरेका थिए ।


को हुन् साह ?

जनकपुरको कदम चोकमा सामान्य परिवारमा हुर्किएका सञ्जय साह ‘दबंग’ स्वभावकै कारण गुन्डागर्दीमा उक्रिए । त्यही त्रममा उनी टकला भनेर परिचित भए । उनको पातलो कपाल छ । २०५६ सालमा रामचरित्र साह जिल्ला विकास समिति सभापति बनेपछि साहले ठेक्कापट्टामा हात हाले । गुन्डागर्दीसँगै ठेक्कापट्टामा हात हालेका साह २०५८ पछि नेपाल प्रहरी र नेपाली सेनाको रासनको ठेक्कासमेत हत्याए । ठेक्कापट्टाबाट ठूलो साम्राज्य बनाएका उनी २०६४ को पहिलो मधेस आन्दोलनपछि राजनीतिमा सक्रिय भए ।


मधेस आन्दोलनमा भूमिका खेलेका कारण उनले तत्कालीन मधेसी जनअधिकार फोरमतर्फबाट जनकपुर ४ मा प्रत्यक्ष चुनाव जिते । पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसकी लीला कोइरालालाई ठूलो मतले हराएका साह दल विभाजनसँगै विजयकुमार गच्छदारको नेतृत्वमा बनेको फोरम लोकतान्त्रिकतिर लागे । माधवकुमार नेपालको सरकारमा साह भौतिक योजना राज्यमन्त्री बने ।


दोस्रो संविधानसभा निर्वाचनअघि राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा प्रवेश गरेका उनी जनकपुर ४ बाट फेरि विजयी भए । सद्भावना केन्द्रीय उपाध्यक्षसमेत बनेका साहलाई नेपाल प्रहरीले जनकपुर बम विस्फोट र सञ्चार उद्यमी अरुण सिंघानियाँको हत्यामा सभासद रहेकै बेला पक्राउ गर्‍यो । दुवै मुद्दामा पुर्पक्षका लागि साह हाल जेलमा छन् ।

५० लाखको 'सुपारी’

सरकारी वकिलको कार्यालयले अभियोगपत्रमा पूर्वमन्त्री साहले बम विस्फोटनका लागि सशस्त्र समूहका नाइके चौधरीलाई ५० लाख रुपैयाँको ‘सुपारी’ दिएको उल्लेख छ । भारत, सीतामढीमा साह र चौधरीबीच बम विस्फोट गराउने सहमति भएको र लगत्तै साहले आफ्ना विश्वासपात्र ओमप्रकाश यादवमार्फत पठाएको ५ लाख भारु चौधरीले सीतामढी र मुजफ्फरपुर सहरको बीच ठाउँबाट बुझेको सरकारी वकिलको दाबी छ । ‘५ लाख भारु बुझेको र बुझाउन गएको चौधरी र यादव दुवैले बयानमा स्वीकार गरेका छन्,’ जिल्ला न्यायाधिवक्ता गौतमले भने, ‘त्यसैले बम विस्फोटनको मुख्य योजनाकार साह नै हुन् ।’


बम विस्फोटपछि सशस्त्र समूहका नाइके चौधरी र पूर्वमन्त्री साहबीच भएको अडियो संवाद लिकपछि आन्दोलनरत मिथिला राज्य संघर्ष समितिले ‘आवाज परिचित’ रहेको भन्दै अनुसन्धान गर्न प्रहरीलाई पत्र लेखेको थियो । त्यही आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र विधि विज्ञान प्रयोगशालामा पूर्वमन्क्री साहले सार्वजनिक कार्यत्रममा दिएको भाषणसमेत संकलन गरेर आवाज परीक्षण गरियो । प्रहरीको ब्युरो र विधि विज्ञान प्रयोगशालाले तीन चरणमा गरेको परीक्षणमा आवाज साहकै रहेको दाबी गरेका थिए ।


सरकारी वकिलको कार्यालयले साहले होटल व्यवसायी जीवनाथ चौधरीको हत्या गर्न रामानन्द चोकमा ठूलो जनधनको क्षति हुने गरी बम विस्फोट गर्न लगाएको अभियोगपत्रमा दाबी गरेको छ । साह र होटल व्यवसायी चौधरीबीच पुरानो दुश्मनी छ । विस्फोटनबाट चौधरी बचेपछि सुपारीबापतको थप पैसा साहले नदिँदा घटनामा उनको संलग्नता खुलेको थियो ।

प्रकाशित : चैत्र १५, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?