१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

फेसबुकबाट प्रश्नपत्र फुस्किएपछि...

अवधेशकुमार झा

राजविराज — प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा बिहीबार एसईई विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । बिहान ८ बजे परीक्षा सुरु हुनुअघि नै सप्तरीका विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा विज्ञान विषयको प्रश्नपत्र ‘सेयर’ गरिसकेका थिए । लगत्तै जिल्ला परीक्षा समन्वय समिति बैठकले परीक्षा रद्द गर्न राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयमा सिफारिस गरेको हो । 

फेसबुकबाट प्रश्नपत्र फुस्किएपछि...

रद्द परीक्षा चैत २२ गते लिइने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए । प्रश्नपत्र बाहिरिएको घटना छानबिन गर्न बोर्डले अमोदा श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय टोली गठन गरेको छ । टोलीले विस्तृत छानबिन गरी प्रतिवेदन बुझाउने जनाइएको छ । सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि प्रजिअ सुरेन्द्र पौडेल तत्काल परीक्षा केन्द्र गएर प्रश्नपत्र जाँचेका थिए । दुवै प्रश्नपत्र हुबहु मिलेपछि बैठक बसेर परीक्षा रद्द सिफारिस गरिएको जिल्ला परीक्षा समन्वय समितिका संयोजकसमेत रहेका उनले बताए ।


पौडेलले प्रश्नपत्र सप्तरीबाट नभई अन्य जिल्लाबाट बाहिरिएको दाबी गरे । ‘हामीले प्रश्नपत्रका पोका अनुगमन गर्‍यौं तर कतै खुलेको पाइएन,’ उनले भने, ‘अन्य जिल्लाबाट सार्वजनिक हुँदै सप्तरी आएको हुन सक्छ ।’ नजिकैको प्रहरी कार्यालयमा राखिँदै आएको प्रश्नपत्र परीक्षा सुरु हुनु एक घण्टाअगाडि मात्र केन्द्र लगिन्छ । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले बिहीबार परीक्षा केन्द्र पुग्नु अघिसम्म प्रश्नपत्र सार्वजनिक नभएको दाबी गरे ।


‘बाहिरिएको खबर आएपछि ३४ वटै केन्द्रमा जाने प्रश्नपत्रको खाम खोल्नुअगाडि भिडियो खिचेर राखिएको छ,’ उनले भने । उनले घटनाको सूक्ष्म अध्ययन भइरहेको बताए ।


एसईईको पहिलो दिनदेखि नै सप्तरीमा फेसबुक र म्यासेन्जरमार्फत चिट चोराउने काम हुँदै आएको थियो । अनुगमन समितिको टोलीले पहिलो दिनै विभिन्न केन्द्रका परीक्षार्थीबाट मोबाइल सेट बरामद गरेको थियो । बुधबार र बिहीबार पनि थप ३८ वटा मोबाइल बरामद गरिएको एसपी विष्टले जानकारी दिए । उनका अनुसार अमर्यादित क्रियाकलाप गरेको आरोपमा बुधबार आठ र बिहीबार ९ विद्यार्थीलाई नियन्त्रणमा लिइयो । उनीहरूलाई कागज गराई अभिभावकको रोहबरमा छाडिएको छ । प्रदेश २ मा २ सय ६२ परीक्षा केन्द्रबाट ७० हजार ५ सय ६८ विद्यार्थी परीक्षामा सामेल छन् ।


परीक्षामा अमर्यादित कार्य गरेको आरोपमा बुधबार पक्राउ परेका केन्द्राध्यक्षसहित सात जना र बिहीबार पक्राउ परेका एक नक्कली निरीक्षकमाथि शिक्षा ऐन २०२८ अनुसार मुद्दा चलाउन म्याद थप गरिएको छ । प्रहरीले बुधबार इन्टरनेटमार्फत चिट चोराएको र बीएस्सी शिक्षकलाई कार्यालय सहयोगी बनाई चिट चोराउन सघाएको आरोपमा बनरझुलास्थित ककिझौ मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामअवतार गुप्तासहित सात जनालाई पक्राउ गरेको थियो ।


विद्यालयको पुस्तकालयमा विषयगत शिक्षक नै राखेर चिट बनाउन लगाएको भेटिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने अन्यमा देवनारायण मण्डल, रामानन्द चौधरी, लगेन्द्र चौधरी, देवनारायण मण्डल, रामसुन्दर चौधरी र मनोज चौधरी छन् । यीमध्ये केही परीक्षा नियन्त्रक हुन् भने केहीलाई नक्कली परीक्षा नियन्त्रक बनाएर केन्द्र प्रवेश गराइएको थियो । यसै गरी बिहीबार राजविराजको मोडेल क्याम्पस परीक्षा केन्द्रबाट नक्कली निरीक्षक हेमनारायण यादवलाई पक्राउ गरिएको छ ।


‘पक्राउ परेका आठै जनालाई जिल्ला परीक्षा समन्वय समितिको निर्णयअनुरूप शिक्षा ऐन २०२८ अनुसार मुद्दा चलाउन म्याद थप गरिएको छ,’ एसपी विष्टले भने । बनरझुला केन्द्रमा नयाँ केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तोकिएका छन् ।


प्रकाशित : चैत्र १५, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?