प्रदेश २ मा एसईई परीक्षा रद्द, कसले गर्छ प्रश्नपत्र आउट ?

पुरानो पाठ्यक्रम र प्राविधिक धार तर्फका विद्यार्थीको परीक्षा भने सञ्चालन
सुदीप कैनी

काठमाडौँ — माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु हुनुभन्दा कम्तिमा १२ घण्टा अगावै प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ का ८ वटै जिल्लामा शुक्रबारको सामाजिक विषयको परीक्षा पनि रद्द गरिएको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रश्नपत्र छ्यापछ्याप्ती भएको थियो । राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा रद्द गर्ने निर्णय गरेको उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।

प्रदेश २ मा एसईई परीक्षा रद्द, कसले गर्छ प्रश्नपत्र आउट ?

बाहिरिएको प्रश्न र बोर्डले परीक्षाका लागि पठाएका प्रश्नपत्र हुबहु मिलेपछि रद्द गरिएको हो । यसअघि उक्त प्रदेशमा बिहीबार पनि परीक्षा अगावै विज्ञान विषयको प्रश्नपत्र आउट भएकाले परीक्षा रद्द गरिएको थियो । परीक्षा सुरु हुनुभन्दा धेरै समय अगाडि नै प्रश्न बाहिरिएकाले केन्द्राध्यक्ष, निरीक्षक र विद्यार्थीभन्दा पनि ठूलो ‘गिरोहको संलग्नता’ रहेको हुनसक्ने शंका गरिएको छ ।


‘परीक्षा सुरु हुनेदिन बिहानसम्म प्रश्नपत्र परीक्षा केन्द्रको नजिकको प्रहरी चौकीमा राख्ने व्यवस्था छ,' केन्द्रीय परीक्षा समन्वय समितिका एक सदस्यले भने, ‘परीक्षा केन्द्रमा नपुग्दै प्रश्नपश्न सार्वजनिक भएकाले ठूलै गिरोहको संलग्नता रहेको प्रारम्भिक आंशका गरेका छौं ।’


बिहीबार प्रश्नपत्र बाहिएर पछि समन्वय समितिले सुरक्षा समितिको बैठक डाकेर सर्तकता अपनाउने निर्णय गरेको थियो । तर बैठक सकिए लगत्तै राति नै प्रश्नपत्र आउट भएको खुलासा भयो । काठमाडौंको सेक्युरिटी प्रेसमा छापिएको प्रश्नपत्र सिलबन्दी गरेर सुरक्षा सहित प्रहरी कार्यालय हुँदै जिल्ला/जिल्लाका परीक्षा केन्द्रहरुमा पुर्‍याइन्छ । यसरी प्रश्नपत्र पठाउँदा पनि परीक्षाभन्दा पहिल्यै बाहिरिनुलाई गम्भीर रुपमा हेरिएको छ ।


‘प्रश्नपत्र यसअघिका वर्षमा पनि छिटपुट रुपमा आउट हुनेगरेको हो,’ शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक निर्देशक बावुराम पौडेलले भने, ‘पहिले परीक्षा केन्द्रमै पुगेपछि बाहिरिन्थ्यो, विद्यार्थी परीक्षा हलमा पसिसकेकाले खासै असर पर्थेन, यसपाली नपुग्दै आउट भएको पाइएको छ, यसलाई गम्भीर रुपमा लिएका छौं ।’


बिहीबार पनि प्रदेश नम्बर २ को विज्ञान विषयको प्रश्नपत्र पनि परीक्षा सुरु हुनु अगावै बाहिरिएको हो । सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरएको सूचना पाएपछि बोर्डले प्रदेश २ को उक्त विषयको परीक्षा रद्द गरेको छ । छानविनका लागि बोर्डका सदस्य अमोदा श्रेष्ठको संयोजकत्वमा छानविन समितिले पनि गठन गरिएको थियो । प्रदेश सरकारले छुट्टै छानविन टोली पनि बनाएको छ । बोर्ड र प्रदेश सरकारले छानविनका लागि छुट्टाछुट्टै समिति बनाएका हुन् ।


चैत २२ गतेलाई विज्ञान विषयको परीक्षा तालिका तोकिएको छ । दिनदिनै प्रश्नप्रश्न आउट हुन थालेपछि समितिको बैठक बसिरहेको छ । बैठकले परीक्षा पुनः परीक्षा मिति तोक्ने र थप रणनिति बनाउने जनाइएको छ । प्रदेश २ मा दुई सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ परीक्षार्थी सहभागी छन् । पुरानो पाठ्यक्रम र प्राविधिक धार तर्फका विद्यार्थीको परीक्षा भने सञ्चालन भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।


अन्य ६ वटा प्रदेशमा पनि छुट्टाछुट्टै प्रश्नपत्र भएकाले परीक्षा सञ्चालन भइरहेको छ । देशभर परीक्षामा ४ लाख ७५ हजार विद्यार्थी सहभागी छन् । यसवर्षदेखि परीक्षा सञ्चालन सम्बन्धित व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारलाई दिइएको थियो ।

प्रकाशित : चैत्र १५, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?