१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

एसईई परीक्षा रद्दले निराश छन् परीक्षार्थी

लक्ष्मी साह

बारा — प्रश्नपत्र बाहिरिने शृंखला चलेपछि प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई) भाँडिएको छ । यो शृंखला चलेपछि परीक्षार्थीसहित परीक्षा समन्वय समितिका पदाधिकारी, सुरक्षा निकायसहित सरोकारवालाहरु तनावमा छन् । परीक्षा व्यवस्थापन फितलो भएपछि उनीहरु तनाव खेप्न बाध्य भएका हुन् । कसले र कुन ठाउँबाट प्रश्नपत्र बाहिरिइरहेको छ भने सरकारले पत्ता लगाउन सकेको छैन । 

एसईई परीक्षा रद्दले निराश छन् परीक्षार्थी

सप्तरीबाट बिहीबार परीक्षा अगावै विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस प्रदेशको विज्ञान विषयको परीक्षा रद्द गरेको थियो । परीक्षार्थीहरुले परीक्षा दिइसकेपछि बोर्डले परीक्षा रद्द गरेको थियो । यसैगरी शुक्रबार तोकिएको सामाजिक अध्ययन विषयको प्रश्नपत्र पनि त्यसैगरी परीक्षा अगावै बाहिरिएको पुष्टि भएपछि यो विषयको पनि परीक्षा नहुँदै स्थगन भएको छ ।

सामाजिक विषयको प्रश्नपत्र पनि शुक्रबार परीक्षा अगावै सामाजिक सञ्जालहरुमा छताछुल्ल भएको थियो । परीक्षा दिन परीक्षार्थीहरु परीक्षा केन्द्रमा पुगिसकेका थिए । प्रश्नपत्र र कापी नबाँड्दै परीक्षा स्थगन भएको सूचना गरिएपछि परीक्षा दिन तयारी भएर केन्द्रमा पुगेका परीक्षार्थीहरु निराश भएर फर्केका छन् । ‘परीक्षामा हामी परीक्षार्थीहरु बस्न पनि पाएनौं,’ कलैयाको सिद्धेश्वर परीक्षा केन्द्रका एक परीक्षार्थीले भने, ‘हामी तनावमा भएका छौं ।’

विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा बोर्डले परीक्षा रद्द गरेपछि कलैया, वीरगन्जलगायतका ठाउँमा परीक्षार्थीहरुले रद्द गरिएको परीक्षाविरुद्ध बिहीबार प्रदर्शन गरेका थिए। प्रश्नपत्र बाहिरिएपछि बोर्डको आकस्मिक बैठकले बिहीबार परीक्षा रद्द गरेपछि उनीहरुले त्यसको विरुद्धमा प्रदर्शन गरेका हुन् । मेहनत गरेर दिइएको परीक्षा रद्द गरेपछि विद्यार्थीको भविष्यसित खेडवाड गरिएको भन्दै सयौं परीक्षार्थीहरुले प्रदर्शन गरेका हुन् ।

परीक्षा व्यवस्थापन नै कमजोर गरेर परीक्षार्थीहरुको भविष्यसित खेलवाड गरिएको उनले बताए । ‘विज्ञान विषयको परीक्षा अघि लिइएको अंग्रेजी, नेपाली र गणित विषयको परीक्षाबारे के हुन्छ ? अन्योलमा छौं,’ ती विद्यार्थीले भने, ‘जुन जिल्लाबाट विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको हो, त्यही जिल्लाको रद्द गर्नुपर्थ्यो,’ एक परीक्षार्थीले भने, ‘गल्ती अरुले गर्ने र सजाय आफूहरु पाउने ?’ रद्द गरिएको परीक्षालाई मान्यता दिनुपर्ने उनले माग गरे ।

‘यस अघिसमेत परीक्षा भएको विषयको प्रश्नपत्र नबाहिरिएको भन्न सकिने अवस्था छैन्,’ परीक्षा समन्वय समितिका संयोजकसमेत रहेका बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले भने, ‘यो स्थितिले सबै विषयको परीक्षाको विषयमा अन्योल थपिएको छ ।’ विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन गरिएको छ । उक्त विषयको परीक्षा चैत २२ मा हुने बोर्डले समय तोकिसकेको छ ।

प्रकाशित : चैत्र १५, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?