१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सुरक्षा माग्दै व्यवसायीको ज्ञापन

रूपन्देही — गोली प्रहार गरी मजदुरको हत्या गरेको २४ घण्टा बित्दासम्म पनि प्रहरीले हत्याराको पहिचान गर्न सकेको छैन  । बुटवल उपमहानगरपालिका १ मैनाबगरको गढीटोलमा अटोमेकानिक्समा काम गर्ने भारतीय मजदुर ४५ वर्षीय फिरोज खानको बुधवार राति गोली हानी हत्या भएको थियो  ।

घटनालगत्तै इलाका प्रहरीले हत्याराको खोजी गरे पनि अहिलेसम्म स्केचसमेत तयार पार्न सकेको छैन । अनुसन्धान जारी रहे पनि केही हात नलागेको इलाका प्रहरीका नायब उपरीक्षक डिलबहादुर मल्लले बताए । ‘अझै केही हात लागिसकेको छैन,’ उनले भने, ‘हामी सूक्ष्म अनुसन्धानमा छौं ।’


मैनाबगरका अटो व्यवसायीले भने प्रहरीले अनुसन्धानलाई फितलो बनाउन खोजेको भन्दै बिहीबार ज्ञापनपत्र बुझाएका छन् । व्यवसायले मैनाबगरमा उचित शान्ति सुरक्षा मागसमेत गरे । घटनाको विरोधमा व्यवसायीले बिहीबार काम ठप्प पारे । अटो भिलेजको ज्योति एन्ड वर्कसपमा कार्यरत खान कोठा जाँदै गर्दा अज्ञात समूहले गोली प्रहार गरेको थियो । उनको छातीमा गोली लागेको थियो । प्रहरीले हत्यामा प्रयोग भएको गोलीको खोकासमेत फेला पार्न सकेको छैन । एक प्रहरी अधिकृतका अनुसार हत्यामा भारतीय सुटरकै प्रयोग भएको आशंका छ । हत्या गरिएका व्यक्ति सामान्य मजदुर भए पनि त्यसपछिको कारण भारतीय अन्य व्यक्तिसँग जोडिएको हुन सक्ने प्रहरीको शंका छ ।


रूपन्देही प्रहरी प्रमुख हृदयसिंह थापाले छिट्टै अपराधी पहिचान गर्ने गरी सोधपुछ र अनुसन्धान भइरहेको बताए । ‘घटना किन र कसरी भयो भन्नेमै केन्द्रित भएर अनुसन्धान हुँदै छ,’ उनले भने, ‘भोलि साँझसम्म केही परिणाम आउला ।’ उनले हत्याराले प्रयोग गरेको हतियार कटुवा पेस्तोल हुन सक्ने भएकाले गोलीको खोका फेला नपरेको बताए । व्यवसायीले ज्ञापनपत्र बुझाउँदै मैनाबगरमा पटकपटक हत्याका घटना भएकाले व्यवसायी र मजदुरको उचित सुरक्षाका लागि क्याम्प राख्न आग्रह गरेका छन् । बुटवल अटो इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष सन्तोष पाण्डेले व्यस्त बजारमै गोली प्रहारको घटना कसले र किन गरायो भन्ने समेत अहिलेसम्म पत्ता लाग्न नसक्दा व्यवसायी त्रसित बनेको बताए ।

प्रकाशित : चैत्र १५, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?