१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

महानगर उल्टो बाटोमा : मापदण्ड मिचेका भवनलाई जरिवाना तिराइ निर्माण सम्पन्न प्रमाण पत्र

विद्या राई

काठमाडौँ — काठमाडौं महानगरपालिका भवन निर्माण मापदण्ड कार्यान्वयनमा 'उदार' भएपछि यसअघि अस्वीकृत चार हजार घरले निर्माण सम्पन्न प्रमाणपत्र पाए । त्यस्तै १३०० ले बनाइसकेको संरचनाको थप नक्सा पास गराए । यस्तो सुविधा लिन अरू १६ हजार आवेदन प्रक्रियामा छन् ।

महानगर उल्टो बाटोमा : मापदण्ड मिचेका भवनलाई जरिवाना तिराइ निर्माण सम्पन्न प्रमाण पत्र

दृष्टान्त : १

किमडोल स्वयम्भूका इन्द्रवज्र लामाले आठ वर्षअघि तीन तलाको घर बनाए । तर, उनले निर्माण सम्पन्न प्रमाणपत्र पाएका थिएनन् । सुरुमा तीन तलाको मात्रै नक्सा पास गरेका उनले पछि आफूखुसी दुईवटा कोठा थपे । नक्साभन्दा बढी संरचना बनाएकाले उनको घर पास भएन ।

तर, काठमाडौं महानगरपालिकाले २७ असार २०७५ मा जारी गरेको भवन निर्माण मापदण्ड-२०७५ ले लामाको घर पास हुने बाटो खोल्यो । महानगरको नयाँ मापदण्डमा विगतमा स्वीकृत नक्साभन्दा बढी तला र कोठा थपिएका घरहरूलाई पनि जरिवाना तिराएर पास गर्ने प्रावधान राखियो । यसले सरकारले विगतमा लागू गरेका मापदण्डभित्र नपरेका घरहरू पनि अब पास हुने भए । लामा भन्छन्, 'एकमुष्ट जरिवाना तिरेपछि प्रमाणपत्र पाएँ ।'

दृष्टान्त : २

डल्लु आवासका खिमकाजी महर्जनले २०६० सालमा साढे तीनतले घर बनाए । महानगरले स्वीकृत गरेको नक्साभन्दा बढी कोठा बनाएकाले निर्माण सम्पन्न प्रमाणपत्र पाएनन् । तर, महानगरको नयाँ मापदण्डले महर्जनलाई पनि निर्माण सम्पन्न प्रमाणपत्र दिलाएको छ । महर्जन भन्छन्, 'जरिवाना तिरेर भए पनि नक्सा पास र निर्माण सम्पन्न प्रमाणपत्र हात पर्दा खुसी लागेको छ ।'

दृष्टान्त : ३

डल्लुका रमेश शाहीले घर बनाएको १५ वर्षपछि निर्माण सम्पन्न प्रमाणपत्र पाए । उनको घर साढे पाँच तलाको छ । उनले १५ वर्षअघि साढे तीन तलाको मात्रै नक्सा पास गराएका थिए । पछि नक्साबिना दुई तला थपेकाले शाहीले निर्माण सम्पन्नको प्रमाणपत्र पाएका थिएनन् । तर, नयाँ मापदण्डका कारण ८० हजार रुपैयाँ जरिवाना तिरेर २०७५ फागुनमा उनले निर्माण सम्पन्नको प्रमाणपत्र पाए । शाही भन्छन्, 'बैंकमा ऋण लिनै गाह्रो थियो, एकमुष्ट जरिवाना तिरेपछि प्रमाणपत्र पाएँ ।'

यी तीन दृष्टान्तले महानगरले नक्सा पास र भवन संहिता पालना नगर्नेहरूलाई जरिवाना तिराएर प्रमाणपत्र दिने 'उदार मापदण्ड' अवलम्बन गरेको पाइन्छ । महानगरको कदमले केही घरधनीलाई राहत पुगे पनि समग्र महानगरवासीलाई असुरक्षित बनाएको छ । आफैं जरिवाना तिरेर नक्सा पास गराउने महर्जन भन्छन्, 'महानगर पनि के के कानुन ल्याउँछ ल्याउँछ ? आठ तला अग्लो धराप जस्तो घर जरिवाना लिएर पास गरेको छ । फेरि ठूलो भुइँचालो आयो भने धेरै क्षति हुन्छ ।'

जोखिममा महानगर

काठमाडौं महानगर कति जोखिमपूर्ण अवस्थामा छ भन्नेबारे फ्रान्सेली भूकम्पविद् फेदेरिक पेरियको लेखलाई अनुवादक ददि सापकोटाले लेखेको 'त्यो नेपाल' नामक किताबमा उल्लेख गरेका छन् । पुस्तकमा उनले लेखेका छन्, 'मान्छेहरूले सात/आठ तलाभन्दा अग्ला घर ठड्याइरहेका छन् । जबकि त्यहाँ भुइँघर मात्रै बनाउनुपर्ने हो, अब नेपालमा आउने ठूलो भुइँचालो जताबाट आए पनि क्षति सबैतिर गर्नेछ ।'

भूकम्पविदा यस्ता चेतावनीलाई महानगरले फेरि पनि बेवास्ता गरेको छ । भूकम्पीय जोखिमप्रति आँखा चिम्लेर मनलाग्दी बनाइएका भवनलाई निम्छरो मापदण्ड लागू गरेर स्वीकृत गरिएको छ । महानगरले अहिले लागू गरेको मापदण्ड १८ वैशाख २०६४ मा मन्त्रिपरिषद्ले स्वीकृत गरी लागू गरेको मापदण्डभन्दा निम्छरो छ । २०७२ सालको भूकम्पपछि त्यो मापदण्डलाई थप परिमार्जन गरेर तीन तलाभन्दा अग्ला भवन बनाउन अनिवार्य रूपमा माटो परीक्षण गरिनुपर्ने व्यवस्था थपिएको थियो ।

सहरी विकासविद् सूर्यभक्त सागाछें भन्छन्, 'महानगरको नयाँ मापदण्डले राजधानीलाई फेरि असुरक्षित बनाएको छ, किनभने त्यो मापदण्ड विगतमा सरकारले लागू गरेको मापदण्डभन्दा धेरै कमजोर छ, विगतको मापदण्ड बाहिर परेका घरलाई कमजोर मापदण्ड लागू गरेर पास गर्नु घातक काम हो ।' २०६४ मा आफूले जारी गरेको मापदण्ड परिमार्जन गरी सरकारले २०७२ असोज १३ गते त्यसलाई थप चुस्त बनाएको थियो । तर, काठमाडौं महानगरपालिकाले त्यसलाई बेवास्ता गरेर खुकुलो मापदण्ड लागू गरेको छ ।

पैसामा सम्पन्न प्रमाणपत्र

कमजोर मापदण्ड लागू नगर्न काठमाडौं उपत्यका विकास प्राधिकरणले ६ माघ २०७५ मा महानगरलाई पत्र लेखेरै 'नेपाल सरकार (मन्त्रिपरिषद्बाट १३ असोज २०७२ मा स्वीकृत) बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ को दफा १७ विपरीत कमजोर मापदण्ड निर्माण गरेको देखिएकोले काठमाडौं महानगरपालिकालाई नेपाल सरकारबाट स्वीकृत मापदण्डअनुकूल हुने गरी भवन निर्माण मापदण्ड १५ दिनभित्र परिमार्जन गर्न' भनेको थियो ।

त्यति मात्र होइन, प्राधिकरणले महानगरलाई त्यो मापदण्ड सच्याउन ताकेता नै गरेको थियो । तर, प्राधिकरणको ताकेतालाई महानगरले बेवास्ता मात्र गरेन, आफूले जारी गरेको मापदण्ड लागू नै गर्‍यो । त्यसैले प्राधिकरण-महानगर 'द्वन्द्व' ७ फागुन २०७५ मा सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चले १४ चैतमा महानगरपालिकाकै मापदण्डको पक्षमा फैसला सुनाएको छ । फैसलामा भवन निर्माणका लागि अनुमति प्रदान गर्ने, नक्सा स्वीकृत गर्ने र मापदण्डविपरीत बनेका भवन भत्काउने अधिकार कानुनतः महानगरपालिकामै रहेको उल्लेख गरेको छ । फैसलाले महानगर प्राधिकरणबीचको कानुनी विवादको निरूपण गरे पनि महानगरको निम्छरो मापदण्डले निम्त्याउने जोखिम भने टरेको छैन । प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारी भन्छन्, 'महानगरलाई मापदण्ड बनाउने, लागू गर्ने अधिकार छ, तर जे बनाउने हो नियमानुसार र बलियो बनाउनुपर्‍यो, जे मन लाग्यो त्यो बनाउँदै लागू गर्न पाइँदैन, यसले पाँच वर्षभित्र महानगरलाई झनै गञ्जागोल र जोखिमपूर्ण बनाउनेछ ।'

लचिलो मापदण्ड अपाउनु गलत

सूर्यभक्त सागाछें, सहरी विकासविद्

काठमाडौं महानगरपालिकाले हालसालै लागू गरेको भवन निर्माण मापदण्ड धेरै कमजोर छ । भवनको 'फार' बढाउनु भनेको महानगरमा दोब्बर जनसंख्या बढाउनु हो । महानगर सुरक्षित हुँदैन भने राजस्व उठाएर मात्रै के काम ? मापदण्डविपरीत जथाभावी तला थपेकाहरूको आवाज सम्बोधन गर्ने नाममा लचिलो मापदण्ड अपनाउनु गलत काम हो । यसले महानगरको सुरक्षामा चुनौती थपिएको छ ।

२०६४ सालको मापदण्डअनुसार गोरेटो बाटोमा पनि घर बनाउन पाइन्थ्यो । माटो परीक्षण जरुरी थिएन । त्यो मापदण्ड पनि महानगरवासी र महानगरले पालना गरेका थिएनन् । तर, २०७२ सालमा भूकम्प गएपछि मापदण्डबिना घर बनाउन नपाउने, नक्सा पास अनिवार्य गर्ने नियम बन्यो । सरकारको मापदण्डअनुसार भवन बनाउँदा कम्तीमा ६ मिटर सडक छोड्नैपर्छ । तीन तलाभन्दा अग्लो घर बनाउन अनिवार्य माटो परीक्षण गर्नुपर्छ । त्यो मापदण्ड सुरक्षित महानगरको अनिवार्य सर्त हो । तर त्यसलाई उल्टाएर लचिलो मापदण्ड लागू गर्नु भनेको विनाशलाई बेवास्ता गर्नु हो । महानगरवासीलाई गम्भीर त्रासमा बाँच्न विवश पार्नु हो ।

प्राधिकरणले मात्र महानगरको अहिलेको मापदण्ड कमजोर ठहर गरेको होइन । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा ४ माघ २०७५ मा बसेको भौतिक विकास समितिको बैठकले पनि महानगरको मापदण्ड कानुनविपरीत र कमसल ठहर गरेको हो । तैपनि महानगर टसमस भएको छैन । परिणामतः सरकारको मापदण्डविपरीत बनेका घरहरूलाई पनि महानगरले निर्माण सम्पन्न प्रमाणपत्र दिएको हो । तिवारी भन्छन्, 'यसरी प्रमाणपत्र दिनु भूकम्पीय जोखिमलाई बेवास्ता गर्नु हो ।'

२०७२ सालको भूकम्पपछि बैंकबाट ऋण लिन र जग्गा खरिद-बिक्री गर्न महानगरबाट जारी हुने निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य गरिएको छ । यो व्यवस्थाका कारण महानगरले नक्सा पास पूरा नगरी बनेका भवनहरूलाई पनि जरिवाना लिएर निर्माण सम्पन्न प्रमाणपत्र दिएको हो । मापदण्ड मिच्नेले तिर्ने जरिवानाबाट महानगरलाई राजस्व प्राप्त भए पनि सुरक्षा खतरा बढाएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपाने भन्छन्, 'सार्वजनिक सुरक्षाका लागि महानगरको अहिलेको मापदण्ड खारेज हुनैपर्छ ।'

२०७२ सालको महाभूकम्पपछि सरकारले लागू गरेको मापदण्ड मिचेर अग्ला र असुरिक्षत घर बनाउनेको संख्या ठूलो छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार नयाँ मापदण्ड लागू भएपछि जरिवाना तिरेर १३ चैत २०७५ सम्म ५ हजार १ सय ३३ जनाले निर्माण सम्पन्नको प्रमाणपत्र लिएका छन् भने १ हजार ३ सय २८ जनाले बनाइसकेका संरचनाको थप नक्सा पास गराएका छन् । यो सुविधा लिन महानगरमा १६ हजारले आवेदन दिएका छन् ।

कमजोर मापदण्ड सच्याउनेतिर महानगरको चासो छैन । बरु आफ्नो कमजोर मापदण्डको आलोचना गर्नेको कडा प्रतिवादमा उत्रेको छ महानगर । १४ माघ २०७५ मा उसले पत्रकार सम्मेलन गरेर महानगरले उपत्यका विकास प्राधिकरण खारेजीको माग गर्‍यो । मेयर विद्यासुन्दर शाक्य भन्छन्, 'महानगरका ८० प्रतिशत घर मापदण्डविपरीत बनेका छन्, जनप्रतिनिधि आएको एक वर्षमै बनेका त पक्कै होइनन्, यिनलाई मापदण्डमा ल्याउन, मापदण्ड अझ सबल र स्पष्ट बनाउन महानगरले गरेको प्रयासलाई त्यसै कमजोर र कानुनविपरीत भन्न मिल्छ ? कहाँनेर कमजोर भयो, कहाँनेर असुरक्षित भयो, प्रमाणित गरेर देखाउनुपर्‍यो ।'

संवैधानिक अधिकारप्राप्त कार्यकारी, विधायिकी र न्यायिक अधिकारसहितको स्थानीय सरकार भएकाले यसको कार्यक्षेत्रमा प्राधिकरणले हस्तक्षेप गर्न नमिल्ने शाक्यको तर्क छ । उनी भन्छन्, 'संघीय संरचनामा गएपछि नीतिगत निर्णय गर्ने अधिकार स्थानीय सरकारलाई संविधानले दिएको छ, स्थानीय सरकारको अभ्यास गरिरहँदा प्राधिकरणले हामीलाई जिस्क्याउनु उदेकलाग्दो काम हो ।' भवन निर्माण मापदण्डमा किचलो गरेर आपसी टक्करमा रहेका महानगर र प्राधिकरण महानगरका कति घर मापदण्डविपरीत छन् भन्नेमा आ-आफ्नो अनुमानमा आधारित छन् । प्राधिकरणले ५० प्रतिशत घर मापदण्डविपरीत रहेको दाबी गरेको छ भने महानगरले ८० प्रतिशत भवन मापदण्ड बाहिर रहेको अनुमान गरेको छ ।

घातक मापदण्ड

महानगर र सरकारको भवन निर्माण मापदण्ड अलग-अलग हुुन् । महानगरको मापदण्डभन्दा सरकारको मापदण्ड बलियो र भरपर्दो मानिएको छ । त्यसमा योजनाबद्ध आवास क्षेत्रमा आवासीय भवनको फार -जग्गाको क्षेत्रफलअनुसार घर तथा भवनको आकार) २ र व्यापारिक क्षेत्रको ३ तोकिएको छ । जबकि महानगरको मापदण्डमा सबै भवनको फार ३.५ तोकिएको छ । सरकारको मापदण्डले थोरै जमिनमा धेरै अग्ला घर बनाउन निषेध गरेको छ भने महानगर त्यसमा उदार भएको छ ।

सरकारको मापदण्डले आवासीय भवनको अधिकतम तला पाँच र उचाइ ४५ फिटभन्दा बढी हुन नहुने भनेको छ भने महानगरको मापदण्डमा आवासीय भवनको तला ८ र उचाइ ७५ फिटसम्म बनाउन सकिने व्यवस्था छ । महानगर कतिसम्म उदार भएको छ भने उसले योजनाबद्ध र व्यापारिक दुवै क्षेत्रका भवनको फार ३.५ तोकेको छ । त्यस्तै मिश्रति र पुरानो बसोबास उपक्षेत्रमा भने फार ४ सम्म राख्न सकिने व्यवस्था गरिएको छ । प्राधिकरणले तय गरेको मापदण्डमा भने संरक्षित उपक्षेत्र र मिश्रति पुरानो बसोबास उपक्षेत्रमा भवनको अधिकतम तला पाँच र उचाइ ४५ फिट तोकेको छ ।

महानगरको यो मापदण्डले सम्भावित भूकम्पीय जोखिमलाई पूरै लत्याएको छ । फ्रान्सेली भूकम्पविद् पेरियले भनेका थिए, 'काठमाडौंका मानिसलाई कसरी बुुझाउन सकिन्छ थाहा छैन, हामीले पर्खिरहेको भुइँचालो आयो भने कुनै ठाउँमा त कुनै पनि भवन बाँकी रहने छैनन्, ढलेका भवनले बाटो छेकेर उद्धार गर्न जाने ठाउँ पनि हुने छैन ।' उनले भने जस्तै १२ वैशाख २०७२ र त्यसपछिका परकम्पले राजधानीलाई पुर्‍याएको भयानक क्षति सार्वजनिक विस्मृतिबाट हराएको छैन । तर, तीन वर्ष पूूरा नहुँदै महानगरपालिका उल्टो यात्रामा लागेको छ ।

महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरमा दुई लाख ५४ हजार ७ सय हाराहारी घरधुरी छन् । त्यसमा झन्डै ११ लाख जनसंख्या अटाएको छ । संघीय राजधानी उपत्यकामा ३५ देखि ४० लाख हाराहारी जनसंख्याको बसोबास रहेको अनुमान छ ।

प्रकाशित : चैत्र १५, २०७५ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?