२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

प्रदेश २ को एसईई स्थगित, परीक्षा संयन्त्रमा प्रश्न

सुदीप कैनी

काठमाडौँ — प्रदेश २ मा एसईई प्रश्नपत्र लगातार बाहिरिन थालेपछि परीक्षा संयन्त्रमा प्रश्नचिह्न खडा भएको छ । चौबीसै घण्टा सुरक्षा घेराभित्र रहने प्रश्नपत्र परीक्षाको १२ घण्टा पहिल्यै सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो । यसै कारण बिहीबारको विज्ञान र शुक्रबारको सामाजिक विषयको परीक्षा नै रद्द गर्नुपर्‍यो ।

प्रदेश २ को एसईई स्थगित, परीक्षा संयन्त्रमा प्रश्न

परीक्षा सकिएका उत्तरपुस्तिकाको सुरक्षाबारे समेत चिन्ता र चासो बढेको छ । शिक्षा मन्क्रालयले शुत्रबार साँझ पत्रकार सम्मेलन गरेर उक्त प्रदेशका शनिबारदेखिका परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयको आग्रहअनुसार परीक्षा स्थगनको निर्णय गरिएको संघीय सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।

यसपटक ६ वटा अनिवार्य विषयका लागि प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र तयार पारिएको थियो । प्रश्नपत्र बाहिरिँदा प्रदेश २ का २ सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ विद्यार्थी परीक्षाबाट वञ्चित भएका छन् । विरोधमा उनीहरूले सडकमा नाराबाजी गरे ।

अन्य विषयको पनि प्रश्नपत्र ‘लिक’ भएको आशंकापछि शिक्षा मन्त्रालयले गृह मन्त्रालयमार्फत ७७ वटै जिल्लामा सुरक्षा सतर्कता अपनाउन अपिल गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई छानबिनको जिम्मेवारी दिइएको छ । आइतबार र सोमबार हुने ऐच्छिक विषयका लागि सबै प्रदेशमा एकै प्रश्नपत्र छन् । कुनै एक प्रदेशमा प्रश्न बाहिरिए मुलुकभरका १ हजार ९ सय ६९ परीक्षा केन्द्रमै असर पर्ने निश्चित छ ।


देशभर ४ लाख ७५ हजार परीक्षार्थी छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या विषयको परीक्षा छ । प्रदेश २ बाहेक अन्य ६ प्रदेशमा मात्र उक्त विषयको परीक्षा सञ्चालन हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालयको सुरक्षण मुद्रण प्रेसमा छपाएर सिलबन्दी गरी प्रहरी र केन्द्राध्यक्षको जिम्मा लगाइएको प्रश्नपत्र बाहिरिएको हो । प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा एक घण्टाअघि मात्रै प्रहरी कार्यालयबाट निकाल्न र आधा घण्टा पहिले मात्र सिलबन्दी खोल्न पाइने प्रावधान छ । त्यो पनि प्रहरी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकहरूको निगरानीमा मात्रै ।

‘प्रश्नपत्र कसरी बाहिरिन पुग्यो, हामीले पनि अनुमान गर्न सकेका छैनौं,’ परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने, ‘सामान्य प्रलोभनमा परेर वा व्यक्तिगत स्वार्थ पूरा गर्नेभन्दा पनि ठूलै गम्भीर प्रकारको अपराधका रूपमा यसलाई लिएका छौं ।’ व्यक्तिगत प्रलोभनका लागि मात्रै यस्ता कार्य गरिएको भए गोप्य रूपमा हुने उनको दाबी छ ।

शिक्षामन्त्री पोखरेलले पनि शृंखलाबद्ध रूपमा प्रश्नपत्र ‘आउट’ गर्नुलाई आपराधिक क्रियाकलापको संज्ञा दिएका छन् । बिहीबार विज्ञान विषयको प्रश्नपत्र बाहिरिँदासम्म केन्द्रीय परीक्षा समन्वय समिति र बोर्डले सामान्य रूपमा लिएका थिए । परीक्षा केन्द्रबाटै केन्द्राध्यक्ष, निरीक्षक, विद्यार्थी वा प्रहरीको संलग्नतामा सामाजिक सञ्जालबाट छिटपुट रूपमा बाहिरिएको अनुमान गरियो । त्यसैअनुसार छानबिन र कारबाही गर्न बोर्ड सदस्य अमोदा श्रेष्ठको संयोजकत्वमा छानबिन टोली बनाइयो ।

शुक्रबारको सामाजिक विषयको प्रश्नपत्र बिहीबार राति नै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आउन थालेपछि भने सुरक्षा समिति नै झस्कियो । समितिमा शिक्षा सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारी सदस्य हुन्छन् ।

शिक्षामन्त्री पोखरेलले शुक्रबार समितिको आकस्मिक बैठक डाकेर छानबिनका लागि आग्रह गरे । समितिले दिनभर देशभरको अवस्थाको रिपोर्टिङ गर्‍यो । पुनः साँझ बैठक बसेर समितिका सदस्यहरूले मन्त्रीलाई ब्रिफिङ गरे । लगत्तै शिक्षामन्त्रीले परीक्षा स्थगित गरिएको निर्णय सुनाएका हुन् ।

आपराधिक गिरोह वा राजनीतिक संलग्नतामा प्रश्नपत्र आउट गरिएको हुन सक्ने बैठकमा चर्चा भयो । ‘विगतका वर्ष पनि परीक्षा केन्द्रबाट छिटपुट रूपमा प्रश्न आउट हुने गरेका थिए,’ शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले भने, ‘यो स्तरमा प्रश्नपत्र लगातार आउट भएको पहिलोपटक हो ।’

प्रदेश २ को शैक्षिक स्तर अन्य प्रदेशको तुलनामा सबभन्दा कमजोर छ । परीक्षामा चिट चोर्ने गतिविधि त्यहीँ बढी हुने आरोप लाग्ने गरेको छ । पहिलो दिन सप्तरी र दोस्रो दिन सर्लाहीबाट प्रश्नपत्र बाहिरिएको आकलन गरिएको छ । एसईईको तयारी पुसबाटै सुरु हुन्छ । प्रश्नपत्र बनाउन कार्यालयले विषय विज्ञहरूको सूची बनाउँछ । उनीहरूलाई प्रारम्भिक खाकामा प्रश्नपत्र बनाउन जिम्मा दिइन्छ ।

उक्त सूचीमा २० देखि ५० जनाको समूहमा विज्ञ संलग्न हुन्छन् । ‘एउटा विज्ञलाई पूरै सेट बनाउने जिम्मा दिँदैनौं,’ नियन्त्रक अधिकारीले भने, ‘निश्चित नम्बर तोकेर २/३ वटा प्रश्न मात्रै बनाउन भन्छौं ।’ विज्ञहरूले आइटमका आधारमा बनाएका दर्जनौं प्रश्न संकलन गरी कार्यालयको गोप्य शाखाबाट प्रश्नपत्रको सेट निर्माण गरिन्छ । यो समूहमा ४/५ जना विज्ञ मात्र संलग्न हुन्छन्, त्यो पनि कार्यालयका गोप्य शाखाका कर्मचारीको रोहवरमा ।

आवश्यकताभन्दा बढी सेट निर्माण गरिने भएकाले कुनचाहिँ छनोटमा पर्‍यो भन्ने विज्ञले समेत पत्तो नपाउने कार्यालयको दाबी छ । एक विज्ञ र अर्कोबीचको प्रश्नलाई ‘छ्यासमिस’ गराएर टाइपिङमा पठाइन्छ । त्यो काम पनि गोप्य शाखाकै कर्मचारीले गर्छन् । माघ अन्त्य वा फागुन पहिलो साताबाट जनक शिक्षाको प्रेसमा छपाइ सुरु हुन्छ जहाँ परीक्षा नियन्त्रक चौबीसै घण्टा मोबाइलसमेत स्विच अफ गरेर निगरानी गर्छन् ।

छपाइ सकिएपछि त्यहाँ खटिएका कर्मचारीलाई सुरक्षाकर्मीले ‘मोजासमेत टकटक्याएर’ बाहिर पठाउने चलन छ । २०६७ सालमा स्थापित उक्त प्रेसमा सेनाका २७, सशस्त्रका ३० र नेपाल प्रहरीका १५ जनाको घेरा हुन्छ । पहिलो, दोस्रो र तेस्रो घेरामा क्रमशः सेना, सशस्त्र र नेपाल प्रहरी हुन्छन् । प्रश्नपत्र छपाइपछि परीक्षा केन्द्र र जिल्लाअनुसार ‘प्याकिङ’ सुरु हुन्छ । कार्यालयले जनाएअनुसार ५ वटा पत्रमा प्रश्नपत्र ‘प्याकिङ’ गरिएको हुन्छ ।

अधिकारीले भने, ‘चुनावका लागि जसरी मतपत्र प्याकिङ हुन्छ, करिब–करिब त्यस्तै शैलीमा प्याकिङ गरेर सिलबन्दी हुन्छ, त्यसपछि जिल्ला–जिल्लाका प्रहरी कार्यालयमा पठाउँछौं ।’ छपाइका क्रममा तयार पारिएका प्रेसका प्लेट र कागजका टुक्रासमेत सुरक्षाकर्मीको रोहवरमा जलाउने गरिन्छ । कागजको खाम, प्लास्टिक, बोरा, कार्टुन र थैलोमा पटकपटक सिलबन्दी गर्दै प्रश्नपत्र ‘प्याकिङ’ हुन्छ ।

प्याकेटमा प्रत्येक केन्द्रका लागि विद्यार्थी संख्याभन्दा १० प्रतिशत बढी प्रश्नका सेट राखिएको हुन्छ । खामको प्याकेटको मुखमा परीक्षा नियन्त्रकको स्टिकर टाँसिएको हुन्छ जुन खोल्दा च्यातिन्छ । ‘प्रश्नपत्र खाममा राखेर बन्द गरिन्छ, त्यसपछि प्लास्टिकले सिलबन्दी गरिन्छ । बाहिरबाट प्रश्नपत्रको पहिचान होस् भनेर विषय र प्रश्नसंख्या लेखिएको हुन्छ । केन्द्राध्यक्षलाई निर्देशन पनि हुन्छ,’ कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले भने, ‘प्लास्टिकको पोकालाई एउटै जिल्लाका २/३ वटा केन्द्रसम्म मिसाएर बोरामा राखेर सिलाइन्छ, बोरालाई फेरि कार्टुनमा राखेर प्याकिङ गरिन्छ । कार्टुनलाई कपडाको थैलोमा राखेर फेरि सिलाइएको हुन्छ ।’ ७७ जिल्लाकै थैला प्रहरीको स्कर्टिङमा जिल्ला प्रहरी कार्यालय पुर्‍याइन्छन् ।

जिल्लामा प्रजिअको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समिति हुन्छ । त्यसमा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख, प्रहरी प्रमुख, समन्वय समितिका अधिकृत, सेना प्रमुख, सशस्त्र प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुखलगायत सदस्य हुन्छन् । उक्त समितिले जिल्लाभरका परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष चयन गर्छ ।

उनीहरूलाई अनुशिक्षण गरिन्छ । त्यसपछि समितिको रोहवरमा थैलो खोलेर केन्द्रअनुसार प्रश्नपत्र भागबन्डा गरिन्छ । प्रश्नपत्र बोराभित्रै हुन्छ । त्यसभित्र प्लास्टिक र कागजका दुई पत्र बाँकी नै हुन्छन् । त्यसमा पनि सिलबन्दी कायमै रहन्छ । परीक्षा सुरु हुनुभन्दा तीनदेखि दुई दिनअघि सबै विषयका प्रश्नपत्र मुचुल्कासहित केन्द्राध्यक्ष र परीक्षा केन्द्र नजिकको प्रहरी कार्यालयका प्रमुखको जिम्मा लगाइन्छ ।

इकाई प्रमुखलाई पनि परीक्षा नियन्त्रण कार्यालयले छुट्टै प्रश्नपत्रको ‘चेकलिस्ट’ दिएको हुन्छ । त्यसैका आधारमा केन्द्रहरूमा प्रश्नपत्र भागबन्डा गरी रुजु गरिन्छ । प्रहरी कार्यालयबाट परीक्षाका दिन सम्बन्धित विषयको प्रश्नपत्र मात्रै मुचुल्का गरेर परीक्षा केन्द्र लैजान पाइन्छ । एसईई ८ बजेबाट सुरु हुन्छ । ‘७ बजे मात्रै त्यो दिन जुन विषयको परीक्षा हो, त्यसको प्रश्नपत्रको ‘पोको’ मात्रै प्रहरी कार्यालयबाट बाहिर झिक्न पाइन्छ,’ शर्माले भने, ‘केन्द्र पुगेको पोको साढे ७ बजेपछि मुचुल्का गरेर मात्रै खोल्न पाइन्छ ।’ त्यहाँ पनि रुजु हुन्छ । खोलिएका प्रश्नपत्र निरीक्षकको जिम्मा लगाएपछि परीक्षा कोठामा पुग्छन् । ८ बजेपछि मात्रै विद्यार्थीको हातमा पर्छ ।

परीक्षा सकिएपछि मुचुल्का गरेर केन्द्राध्यक्षले नै उत्तरपुस्तिकाहरू प्रहरी कार्यालयमा लगेर छाड्नुपर्छ । परीक्षा सकिएको दुई दिनभित्र प्रहरी कार्यालयबाट उत्तरपुस्तिका शिक्षा इकाईको जिम्मा लगाइसक्नुपर्ने प्रावधान छ । ‘इकाई प्रमुखलाई मात्र आफ्नो जिल्लाको उत्तरपुस्तिका कहाँ पठाउने भनेर जानकारी दिएका हुन्छौं,’ परीक्षा नियन्त्रक अधिकारीले भने, ‘एक जिल्लाको इकाई प्रमुखले तोकिएको अर्को जिल्लाको इकाई प्रमुखलाई उत्तरपुस्तिका परीक्षणका लागि जिम्मा लगाउनु हुन्छ ।’ परीक्षणका लागि देशभर ५९ वटा केन्द्र चयन गरिएको छ ।

सुरक्षित र व्यवस्थित तरिकाले पठाइएको प्रश्नपत्र बाहिरिनु र परीक्षा नै स्थगित हुनुलाई शिक्षा मन्त्रालयले गम्भीर रूपमा लिएको छ । मन्त्रालयका सचिव खगराज बरालले विज्ञप्ति प्रकाशित गरी परीक्षार्थी र अभिभावकलाई परेको असरप्रति दुःख व्यक्त गरेका छन् ।

परीक्षामा संलग्न कर्मचारी, केन्द्राध्यक्ष र प्रहरीको मिलेमतोमा प्रश्नपत्र बाहिरिएको अनुमान जानकारहरूले गरेका छन् । बाहिरिएको प्रश्नपत्र फोटोकपी नभई फोटो खिचेको पाइएको हो । फोटोमा प्रश्नपत्र सँगै ब्लेड पनि देखिन्छ । सुरक्षा अधिकारीहरूले ब्लेडले प्याकिङ काटेर प्रश्नपत्र झिकिएको आशंका गरेका छन् । एसईईका लागि ७ वटै प्रदेशले उत्तरपुस्तिका छपाइ र परीक्षा व्यवस्थापनको जिम्मा पाएका थिए । केन्द्रले परीक्षाको सम्पूर्ण जिम्मेवारी नदिँदा प्रदेश २ सहित कतिपय प्रदेश सरकार असन्तुष्ट छन् ।


बाँकी परीक्षा स्थगित

काठमाडौं (कास)– शिक्षा मन्त्रालयले प्रदेश २ मा शनिबारदेखिका सबै विषयको परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन् ।

देशभरका परीक्षा केन्द्रमा शनिबार स्वास्थ्य तथा जनसंख्या विषयको परीक्षा हुने कार्यतालिका थियो । अन्य ६ प्रदेशमा भने परीक्षा यथावत् हुनेछ । प्रदेश २ मा यसअघि चैत १४ को विज्ञान विषयको परीक्षा रद्द गरी चैत २२ गतेलाई तोकिसकिएको छ ।


स्थगित अन्य विषयका परीक्षा पनि यसै महिना हुने गरी बोर्डले तालिका सार्वजनिक गर्ने पोखरेलले जनाए । १४ गतेभन्दा अघि सञ्चालित अंग्रेजी, नेपाली र गणित विषयका परीक्षा भने रद्द गरिएका छैनन् ।

मन्त्री पोखरेलले परीक्षा स्थगित हुँदा विद्यार्थी–अभिभावकलाई परेको मर्काप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाए । ‘परीक्षाजस्तो संवेदनशील विषयमा प्रश्नपत्र आउट गरेर कानुन उल्लंघन भएको छ, यसको भर्त्सना गर्छु,’ उनले भने, ‘सरकार शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन गर्न प्रतिबद्ध छ ।’

उनले विद्यार्थीलाई आगामी परीक्षाको तयारीमा जुट्नसमेत आग्रह गरे । प्रदेश सरकार, स्थानीय तह, अभिभावक र विद्यार्थीलाई परीक्षाको वातावरण बनाउन उनले अपिल गरे । प्रश्नपत्र ‘आउट’ गर्नेलाई कारबाही दायरामा ल्याउने प्रतिबद्धतासमेत पोखरेलले जनाए । बाँकी परीक्षाका लागि उच्च सतर्कता अपनाइएको र प्रश्नपत्रहरू सिलबन्दी गरी परीक्षण भइरहेको उनको भनाइ छ ।


छानबिन गर्न ३ टोली

जनकपुर/सप्तरी (कास)– एसईईका प्रश्नपत्र लगातार सार्वजनिक भएपछि तीनवटा टोलीले छानबिन थालेका छन् । राष्ट्र्रिय परीक्षा बोर्ड, प्रदेश प्रहरी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले छानबिन थालेका हुन् । अनुसन्धान टोलीले आईटी विशेषज्ञको सहयोग लिएको छ ।

विज्ञानको प्रश्नपत्र सप्तरीबाट बाहिरिएको शंकामा प्रदेश प्रहरीको ब्युरो र सीआईबीको टोली पहिलो सुराक खोज्न सप्तरी केन्द्रित भएका छन् । सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले दुवै टोलीले अनुसन्धान सुरु गरेको बताए ।


विज्ञान विषयको प्रश्नपत्र बिहीबार बिहान सप्तरीबाटै बाहिरिएको थियो । सप्तरी प्रहरीले आफ्ना सबै युनिटको प्रश्नपत्रको पोका हेर्दा दुरुस्त रहेको जनाएको छ । ‘प्रश्नपत्रको सबै पोका दुरुस्तै पाइयो,’ एसपी विष्टले भने, ‘त्यसैले प्रश्नपत्र अन्तैबाट लिक भएको हाम्रो शंका छ ।’ त्यही पहिल्याउने क्रममा प्रहरी फेसबुकमा प्रश्नपत्र पोस्ट गर्ने केही व्यक्तिसम्म पुगेको छ । प्रहरीका अनुसार उनीहरूले आफूले पनि फेसबुकमै भेटेको जवाफ दिएका छन् ।

प्रजिअ सुरेन्द्र पौडेलले बिहीबार र शुक्रबार परीक्षा केन्द्रमा पुगेर बाहिरिएको प्रश्नपत्र भिडाउँदा हुबहु मिलेको बताए । बिहीबार राति नै सामाजिक शिक्षाको प्रश्नपत्र बाहिरिएको हल्ला चलेपछि सप्तरीका प्रहरी युनिटमा रहेको प्रश्नपत्र रुजु गरिएको थियो भने केन्द्राध्यक्षहरूको रोहवरमा भिडियो खिचेर मात्रै प्रश्नपत्रको पोका खोलिएको थियो ।

प्रदेश शिक्षा निर्देशनालयका निर्देशक रामाकान्त शर्माले एसईईको प्रश्नपत्र हस्तान्तरण गर्ने प्रक्रियाभित्रै प्रश्नपत्र बाहिरिनुको रहस्य लुकेको हुन सक्ने बताए । ‘ह्यान्डओभरको कुनै प्वाइन्टबाट प्रश्नपत्र लिक भएको हाम्रो आशंका छ,’ शर्माले भने, ‘कहाँबाट आउट भयो, त्यसको खोजीनीति हुँदै छ ।’

प्रश्नपत्र प्रदेश २ को १ सय ३१ प्रहरी युनिटमा राखिएको छ । प्रदेश प्रहरी कार्यालयका डीआईजी हरिबहादुर पालले सबै युनिटमा प्रश्नपत्र सुरक्षित रहेको दाबी गरे । ‘सबै युनिटमा राखिएको प्रश्नपत्र हेर्दा सिलबन्दी गरिएकै देखियो,’ उनले भने, ‘प्रश्नपत्र राखिएका सबै युनिटमा रि–चेक टिम खटाएको छु । रिपोर्ट आउन बाँकी छ ।’

प्रदेशसभामा आरोप–प्रत्यारोप

प्रदेशसभाको शुक्रबारको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसद एसईई प्रश्नपत्र बाहिरिएको बारे आरोप–प्रत्यारोपमा उत्रिएका छन् । विपक्षी दल कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले परीक्षा सञ्चालन गर्न नसकेको र विद्यार्थीको भविष्यसँग खेलबाड गरेको भन्दै सामाजिक विकासमन्त्री नवलकिशोर साहको राजीनामा माग गरे । उनले प्रश्नपत्र आउट गर्नेलाई कारबाही गर्नसमेत माग गरे ।

नेकपाकी मञ्जु यादवले प्रश्नपत्र आउटबारे जवाफ दिन सामाजिक विकासमन्त्री साहलाई प्रदेशसभामा बोलाउनुपर्ने बताइन् । ‘एसईईको प्रश्नपत्र कहाँबाट आउट भइरहेको छ, प्रदेश सरकारले जवाफ दिनुपर्छ,’ उनले भनिन्, ‘एसईई परीक्षालाई मर्यादित बनाउन प्रदेश सरकार असफल भएको छ ।’

संघीय समाजवादी फोरमका सांसद रामआशिष यादवले प्रश्नपत्र बाहिरिएको घटनाले शिक्षा क्षेत्रलाई धराशायी बनाएको बताए । उनले प्रश्नपत्र छापिएकै ठाउँबाट लिक भएको दाबी गरे । राजपाकी रानी शर्मा तिवारीले प्रदेश २ लाई बदनाम गराउन आउट गरिएको आरोप लगाइन् ।

'संघीयताविरोधी षड्यन्त्र’

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले एसईईको सबै बन्दोबस्त संघले मिलाएको र प्रदेश सरकारले अनुगमन मात्र गरेकाले संघकै मन्त्री नैतिक जिम्मेवार हुने बताएका छन् ।

‘मैले बुझेअनुसार शिक्षकबाट प्रश्नपत्र आउट भएको छैन, डीआईजीसँग राति कुरा हुँदा प्रश्नपत्र सुरक्षित रहेको बताउनुभएको हो,’ प्रदेशसभा बैठकमा शुक्रबार उनले भने, ‘प्रश्नपत्रमा लाहाछाप कहीं, कतै टुटेको छैन । प्रारम्भिक अनुसन्धानबाट प्रहरी युनिटबाट पनि प्रश्नपत्र आउट भएको देखिन्न ।’

उनले प्रदेश २ कै प्रश्नपत्र आउट गरिनु शंकास्पद रहेको बताए । ‘संघीयताविरोधी षड्यन्त्र हो कि ? प्रदेश २ लाई बदनाम गराउने उद्देश्य हो कि ?’ उनले भने, ‘छानबिनपछि सबै प्रस्ट हुन्छ ।’


विद्यार्थीद्वारा प्रदर्शन

प्रदेश २ ब्युरो

जनकपुर– परीक्षा रद्द भएपछि विद्यार्थीले शुक्रबार प्रदेश २ का आठै जिल्लामा प्रदर्शन गरेका छन् । जनकपुरको पिडारी चोकमा सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएका परीक्षार्थीले केही सवारीसाधनमा तोडफोड गरेका छन् ।

उनीहरूले प्रदेश सरकार सचिवालय रहेको जनकपुर चुरोट कारखाना परिसर घेराउसमेत गरे । प्रदेश सरकारले प्रश्नपत्र आउट गर्नेको पहिचानका लागि छानबिन समिति गठन भइसकेकाले संयम अपनाउन आग्रह गरेको छ । अघिल्लो राति नै प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि बिहीबार विज्ञान विषयको र शुक्रबार सामाजिक शिक्षा विषयको नियमिततर्फको परीक्षा रद्द गरिएको थियो । सर्लाहीमा पनि परीक्षार्थीले बिहानैदेखि प्रदर्शन गरेका थिए ।


सदरमुकाम मलंगवाको बसपार्क नजिक टायर बालेर नाराबाजी गरिरहेका विद्यार्थीलाई प्रहरीले बल प्रयोग गरेर हटाएको थियो । पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दीमा विद्यार्थीले केहीबेर नाराबाजी गरेका थिए । सिरहाको लहानस्थित सहिद चोकमा राजमार्गमै बसेर विद्यार्थीले प्रदर्शन गरे । परीक्षार्थीले नयाँ चोहर्वा खण्डमा बिहानैदेखि टायर बालेर प्रदर्शन गरेका थिए । उनीहरूले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न पाइँदैन भन्दै केन्द्र परिसरमै नाराबाजी गरेका थिए ।

पर्साको वीरगन्जमा प्रदर्शन क्रममा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गरिएको छ । सामाजिकको परीक्षा स्थगित भएको खबर पाउनासाथ घण्टाघर चोकमा जम्मा भएका विद्यार्थीले ट्राफिक डिभाइडर, फलामको ब्यारियरलगायत तोडफोड गरेका थिए । त्यसक्रममा विद्यार्थी र प्रहरीबीच केहीबेर झडप भएको थियो ।

प्रहरीले लाठीचार्ज, पानीको फोहरा र ३ सेल अश्रुग्यास प्रहार गरेको थियो भने विद्यार्थीले ढुंगा प्रहार गरेका थिए । प्रहरीको लाठी प्रहारबाट चोट लागेका दुई विद्यार्थीको नारायणी अस्पतालमा उपचार गरिएको छ ।

त्यहाँबाट तितरवितर भएका परीक्षार्थीले सडकमा दुई दर्जनजति सवारीसाधन तोडफोड गरेका थिए । वीरगन्जको मुर्ली बगैंचास्थित अनुभूति कलेज र बसपार्कस्थित हिमाल भान्छा घर एन्ड लजमा समेत तोडफोड भएको छ ।

रौतहटको चन्द्रपुरस्थित जनज्योति परीक्षा केन्द्रमा एसईई दिन आएका विद्यार्थीले परीक्षा रद्द भएको थाहा पाएपछि नाराबाजी गर्न थालेका थिए । बाराको कलैयामा पनि प्रदर्शन भएको थियो । विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन गरिएको छ । उक्त विषयको परीक्षा चैत २२ मा हुने बोर्डले समय तोकिसकेको छ ।

सन्तोष सिंह (धनुषा), भरत जर्घामगर (सिरहा), ओमप्रकाश ठाकुर (सर्लाही), शिव पुरी (रौतहट), लक्ष्मी साह (बारा) र शंकर आचार्य (पर्सा) को सहयोगमा

प्रकाशित : चैत्र १६, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?