राष्ट्रिय नदी सम्मेलन : माछा गायब

राकम, दैलेख — तेस्रो राष्ट्रिय नदी सम्मेलनले अहिले कर्णाली तटको माझी बस्ती बेहुलीझैं सिँगारिएको छ । नदी र जलीय जैविक विविधतालाई बचाउने विषयमा देश–विदेशका विज्ञहरु विमर्श गरिरहेका छन् ।

राष्ट्रिय नदी सम्मेलन : माछा गायब

नदी किनारमा अवस्थित राकम कर्णाली माझी समुदायको बाक्लो बसोबास क्षेत्र हो । परम्परागत रूपमा यो जाति नदीसँग आश्रित छ । माछा मार्ने र डुंगा खियाउने माझी समुदायको परम्परागत पेसा हो ।


तेस्रो राष्ट्रिय नदी सम्मेलनले अहिले यही माझी बस्ती गुल्जार बनेको छ । रंगीविरंगी टेन्ट, देशी–विदेशी आगन्तुकले कर्णाली तटको यो गाउँ बेहुलीझैं सिँगारिएको छ । सम्मेलनमा नदी र जलीय जैविक विविधतालाई कसरी बचाउने भन्ने विषयमा देश–विदेशका विज्ञहरू विमर्श गरिरहेका छन् ।


विकासका नाममा नदीमा बन्ने संरचना जलीय जैविक विविधता र नदी संरक्षणको चुनौती बनेकामा उनीहरूको चिन्ता छ । ‘संरचना बनाउँदा नदी संरक्षण र जलीय जैविक विविधतालाई पनि ख्याल गरौं,’ विज्ञले सरोकारवालाई भनेका छन् ।


अमेरिकी नदीविद् कारेन बेनेटले नेपालका नदी व्यवस्थापन गर्ने विषयमा समयमै ध्यान दिनुपर्ने बताइन् । नदीको वातावरणीय पक्ष ख्याल नगरी संरचना बनाएका विभिन्न देशले ठूलो आर्थिक तथा पर्यावरणीय क्षति भोग्दै आएकाले पाठ सिक्नुपर्ने उनको भनाइ छ । ‘हामीले उति बेला नदीमा अन्धाधुन्ध संरचना बनायौं, अहिले ती नदीलाई पहिलेको अवस्थामा ल्याउन अर्बौं डलर खर्चिनु परिरहेको छ,’ उनले भनिन्, ‘नेपालसँग समय छ, अहिले नै वातावरणीय पक्ष ख्याल गर्न सकियो भने भोलि पछुताउनुपर्ने छैन ।’


बंगलादेशी नदीविद् शमशेर अलीले संरचना बनाउँदा ड्यामको तल्लो तटमा रहेका जैविक विविधता संकटमा पर्ने गरेको बताए । कम्तीमा ३० प्रतिशत पानीको बहाव छाड्नुपर्ने उनको भनाइ छ । ‘नेपालका नदी विश्वमै स्वच्छ छन्, यो मौलिकता जोगाउनुपर्छ,’ उनले भने, ‘यसका लागि जल उपयोग र संरचना निर्माणसम्बन्धी उत्कृष्ट नीति बन्नुपर्छ ।’


नदीसँग आश्रित माझी र राजी समुदायका प्रतिनिधिले नदी जोगाउन सके जीवन सुखद हुने धारणा राखे । राकम कर्णालीका अगुवा केशरसिंह माझीले पछिल्लो समय कर्णालीबाट माछा लोप हुने अवस्थामा पुगेको बताए । बहादुर शाहको पालामा राजाको फौजलाई डुंगामा नदी तारिदिएबापत ‘२५ घरलाई ५० खेत’ दिइएको राकम पनि संकटमा परेको उनको भनाइ छ । ‘नदीमा माछा त लोपै भइसके, खेत पनि काटेर लगिसक्यो,’ उनले भने, ‘अब नदीको बहावलाई प्राकृतिक रूपमा कसरी व्यवस्थापन गर्ने भन्नेबारे सरकारले सोच्नुपर्ने बेला आएको छ ।’


राजी उत्थान मञ्चका महासचिव नयनसिंह राजीले नदीहरू संकटमा परेसँगै यससँग अन्योन्याश्रित राजी समुदाय पनि संकटमा पर्न थालेको बताए । ‘नदीसँग सम्बन्धित काम गर्दा हाम्रो अधिकार पनि ख्याल गरियोस्,’ उनले भने, ‘त्यसो भयो भने माक्र विकास सार्थक हुन सक्छ ।’


शुत्रबार सुरु भएको छलफल सत्रमा जलीय जैविक विविधता र पारिस्थितिकीय प्रणाली, नदी र समुदायका अनुभव विषयमा नेपालका साथै अमेरिका, क्यानडा, भारत, बंगलादेशलगायत देशका विज्ञबीच विमर्श भयो । उक्त अवसरमा नदी संरक्षणमा नेपालबाहिरको अनुभव र दिगो जलविद्युत् विषयमा पनि छलफल भयो ।


सम्मेलनमा करिब तीन सयको सहभागिता छ । आयोजक नदी संरक्षण कोषका अध्यक्ष मेघ आलेले जलविद्युत्लगायत ठूला संरचनाको निर्माण, अव्यवस्थित फोहोर विसर्जन, वन विनाश र जथाभावी भारी उपकरणको प्रयोगले स्वतन्त्र बहाव भएका नदी र त्यसभित्रका जलीय जैविक विविधतामाथि चुनौती थपिँदै गएको बताए । ‘अन्धाधुन्ध तरिकाले नदीजन्य पदार्थको दोहनका कारण पनि माछालगायत पानीमा बस्ने प्रजातिको अस्तित्व संकटमा परेको छ,’ उनले भने, ‘यसबारे सबैले समयमै सचेत हुनुपर्छ ।’


‘जीवनका लागि नदीको व्यवस्थापन’ नारा दिइएको सम्मेलनको बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका थिए । ४ दिनसम्म चल्ने सम्मेलनमा नेपालको स्वतन्त्र बहाव भएका नदीहरूलाई कसरी दिगो व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको छ ।

प्रकाशित : चैत्र १६, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?