कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

६ सय मेगावाटको दूधकोशी निर्माण गर्न एडीबीको चासो

काठमाडौँ — एसियाली विकास बैंकले ६ सय मेगाावट क्षमता भएको दूधकोसी जलाशययुक्त आयोजनामा लगानी गर्ने इच्छा देखाएको छ । एडीबीका दक्षिण एसिया हेर्ने उपाध्यक्ष सिसिन चेनले ऊर्जामन्त्री वर्षमान पुनलाई शनिबार साँझ भेट गर्दै आयोजनामा ७० अर्ब लगानी गर्त तयार रहेको बताएका हुन् ।

खोटाङ ओखलढुंगा र सोलुखुम्बुको सीमानामा पर्ने आयोजना २०४२ मा पहिचान भएको थियो । विद्युत् विकास विभागले यही वर्ष भदौमा आयोजनाको अध्ययन अनुमति पत्र नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ । आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत इन्जिनियरि डिजाइनको लागि एडीबीले अनुदान दिएको छ । एडीबीले आयोजनामा लगानी गर्न पनि यसअघिदेखि नै चासो देखाउँदै आएको थियो ।


उपाध्यक्ष चेनले लगानी सम्मेलनमा भाग लिन नेपाल आएका हुन् । लगानी सम्मेलनमा बोल्दै चेनले नेपालको आर्थिक समृद्धिमा सहयोग गर्न एडीबी तयार रहेको बताएका हुन् । सम्मेलनमा उनले नेपाललाई एडीबीले हालसम्म ६ अर्ब डलर पूर्वाधार निर्माणलगायतका क्षेत्रमा सहयोग गरेको बताए ।


ऊर्जामन्त्री पुनसँग अन्य लगानीकर्ताहरुले पनि भेट गरेको मन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । चिनियाँ कम्पनी पावर चाइनाका अध्यक्ष दोङ सेङले पनि शनिबार साँझ ऊर्जामन्त्री पुनसँग भेट गर्दै तल्लो अरुण, किमाथाङ्का र आधिखोलाजस्ता आयोजनामा लगानी गर्न चाहेको बताए । लगानी सम्मेलनमा सहभागी हुन नेपाल आएका विभिन्न देशका लगानीकर्तालाई ऊर्जामन्त्रीले शनिबार साँझ ५ घण्टासम्म छुट्टाछुट्टै भेटघाट गरेको मन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : चैत्र १६, २०७५ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?