१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कांग्रेसको टिप्पणी- 'प्रश्नपत्र आउट हुनु सरकारको नालायकी'

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको घटनालाई सरकारको गैरजिम्मेवार र नालायकपन भनी टिप्पणी गरेको छ । प्रदेश नम्बर २ मा प्रश्नपत्र ‘आउट’ भएर परीक्षा स्थगित भएको दुई दिनपछि कांग्रेस संसदीय दलले आइतबार विज्ञप्ति निकाली घटनाको जिम्मेवारी स्वयं सरकारले लिनुपर्ने जनाएको छ ।

कांग्रेसको टिप्पणी- 'प्रश्नपत्र आउट हुनु सरकारको नालायकी'

‘प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर समय तालिकाभित्र परीक्षा सम्पन्न हुन नसक्नु सरकारको गैरजिम्मेवारी, अनुत्तरदायी र नालायकपनको पराकाष्ठा हो’ दलका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा छ, ‘प्रश्नपत्र बाहिरिएकोमा सरकारका पदाधिकारीले एक अर्कोलाई जिम्मेवारी थोपर्नु सरकार र सरकारका पदाधिकारीहरूको ज्यादै गैरजिम्मेवारी कार्य भएकाले यस घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ ।’


कांग्रेसले विद्यार्थी र अभिभावकमा पर्न गएको पीडाको लागि सरकारले माफी माग्नुपर्नेमा जोड दिएको छ । ‘माफी माग्दै दोषी उपर कारबाही गर्न र स्थगन भएको परीक्षाको अविलम्ब मिति तय गरी परीक्षा सम्पन्न गरी’ कांग्रेसले भनेको छ,‘सयममै परीक्षाफल प्रकाशन गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।’


कांग्रेसले शैक्षिक सत्रको सुरुवातसँगै विद्यालयहरूमा शिक्षकहरू रिक्त हुने अवस्था सरकारले खडा गरेको भन्दै अवकाश हुने शिक्षकहरूको माग सम्बोधन गर्न जोड दिएको छ । शिक्षा सेवामा अनुत्तीर्ण हुने र परीक्षामा सहभागी हुन नपाएका शिक्षकहरूलाई अवकाश दिने सरकारको निर्णयले सामुदायिक विद्यालयमा ठुलो सङ्ख्यामा शिक्षकहरू रिक्त हुने र त्यसले शैक्षिक गुणस्तरमा असर गर्ने काँग्रेसले जनाएको छ ।


‘अवकाश हुने शिक्षकहरूको मागको बेवास्ता गर्दै रिक्त हुने शिक्षकहरूको सङ्ख्या व्यवस्थापन नगरी मावि तह : ११०८, निमावि तह : १६३५, प्रावि तह : ९९९६ गरी कुल १२७३९ शिक्षकलाई अवकाश दिने सरकारको परिपत्र एवं निर्देशन अत्यन्त गैरजिम्मेवारपूर्ण कार्य हो’कांग्रेस दलबाट जारी विज्ञप्तिमा उल्लेख छ,‘सरकारको यस्तो गैरजिम्मेवार कार्यले गर्दा विद्यालयहरूको वार्षिक परीक्षाको अन्तिम नतिजा प्रकाशन गर्ने र सँगैसँगै नयाँ शैक्षिकसत्र प्रारम्भको समयमा विद्यालयहरूमा शिक्षकहरू रिक्त रहने अवस्था सिर्जना भएको छ ।’

प्रकाशित : चैत्र १७, २०७५ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?