कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोसी नदीले बनाएको टप्पुको ऐलानी जग्गामा भूमाफियाको जालो- २३० बिघा कब्जा

कोसी नदीले बनाएको टप्पुको ऐलानी जग्गामा भूमाफियाको जालो
प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको श्रीलंका टप्पुमा जग्गा कारोबारीहरूले एकैपटक २ सय ३० बिघा ऐलानी कब्जा गरेका छन् । उनीहरूले पूर्व–पश्चिम कोसी बग्ने नदीउकास जमिन चलखेल गरी कब्जा गरेका हुन् । सुनसरीको बराह क्षेत्र नगरपालिकामा पर्ने उक्त जग्गा उनीहरूले चैत १३ देखि १६ सम्म ट्र्याक्टरहरू लगाएर जोतेका छन् ।

कोसी नदीले बनाएको टप्पुको ऐलानी जग्गामा भूमाफियाको जालो- २३० बिघा कब्जा

स्थानीयले अवरोध गर्दा उनीहरूले बेलकाबाट केही प्रहरी ल्याएर सर्वसाधारणलाई धम्क्याएका थिए । नदीउकास ऐलानी जग्गा जोत्नेले सरकारबाटै स्वीकृति लिएर कृषि फार्म स्थापना गर्ने र स्थानीयलाई रोजगारी दिने योजना रहेको दाबी गरेका थिए ।


बराह क्षेत्र–६ गरैयामा विद्यालय, स्वास्थ्यचौकी र मन्दिरका नाममा गौचरण बनाएर राखिएको ५ सय बिघाभन्दा बढी जग्गामध्ये २ सय ३० बिघा नारायण कार्की, गिरिराज विष्ट, सञ्जय चन्द्रवंशीलगायतले जोतेका हुन् । उदयपुरबाट आएका केही व्यक्तिले जमिन कब्जा गरेको सुनेपछि बराह क्षेत्रकी उपप्रमुख कमला मगर आएर अवलोकन गरेकी थिइन् । उनले यो बराह क्षेत्रको अधिकारमा पर्ने भएकाले जमिन नजोत्न भनेकी थिइन् ।


विद्युत् र यातायात सुविधा नपुगेको उक्त टप्पुमा उदयपुरको बेलका नगरपालिकाले स्वीकृति दिएको कागज देखाएका भरमा कार्की समूहले ट्र्याक्टर लगाएर जोतेको स्थानीयको भनाइ छ । ६ दशकअघि कोसी नदी उदयपुरको बेलकातिरबाट बगे पनि पूर्वको बाँध फुटाएर सुनसरीको बराह क्षेत्र–प्रकाशपुर–राजबास–महेन्द्रनगरतर्फ मोडिएपछि त्यहाँ सानो भँगालो छ ।


नदीले धार परिवर्तन गरेपछि बराह क्षेत्र ६ र ९ वडामा कोसीले निकालेको हजारौं बिघा जमिन छ । आफ्नो नम्बरी जमिन बगाएपछि पश्चिमतिर नदीले निकालेको जमिनमा अढाई दशकदेखि ५ हजारभन्दा बढी घरधुरी सुकुम्बासी भएर बसेका छन् । कोसीले जमिन बगाएपछि गरैया आएका सोतिस चन्द्रवंशी, भिर्गुराम चन्द्रवंशी, रघु चन्द्रवंशी, जयलाल चन्द्रवंशीलगायतले ट्र्याक्टर लगाइएको जग्गा आफ्नो भएको बताए । भिर्गुले भने, ‘पहिले हामीले भोगचलन गर्दै आएका थियौं । पछि जनता आधारभूत विद्यालय, स्वास्थ्यचौकी र मन्दिर स्थापना भएकाले त्यो दिएका हौं । मन्दिर, स्कुल र स्वास्थ्यचौकीलाई दिएपछि बाँझै र पटेरघारी भयो ।

त्यसलाई हामीले गौचरणका रूपमा प्रयोग गर्दै आएका थियौं । भूमाफियाले जग्गा कब्जा गरी अरूलाई महँगोमा बेच्न खोजेका हुन् ।’ भिर्गुका अनुसार बराह क्षेत्रअन्तर्गत पर्ने भए पनि पछिल्लो समय कारोबारीले सीमा विवादको बहाना बनाउँदै यो जग्गा बेलका नगरपालिका क्षेत्रमा पर्ने दाबी गरेका छन् । बेलका नगरप्रमुख दुर्गाकुमार थापाले आफ्नो नगरमा सामूहिक जैविक खेती गर्नेलाई प्रोत्साहन गरिरहेको भन्दै गरैयामा सीमा विवाद समाधान गर्न बराह क्षेत्र नगरपालिकालाई चैत १५ मा पत्र लेखेका छन् ।


श्रीलंका टप्पु पश्चिम–उत्तरको केही भाग बेलका नगरपालिकामा पनि पर्छ तर उक्त पत्रको आशयअनुसार पहिल्यैदेखि बराह क्षेत्र नगरपालिकामातहत रहेको खाली जमिन बेलकामा पार्ने र कृषि फार्मका नाममा लुट मच्चाउने योजना भूमाफियाले बनाएको हुन सक्ने स्थानीयको आरोप छ ।

स्थानीय रघु चन्द्रवंशीले भने, ‘हामी खाली जमिन मास्न दिँदैनौं । दलालहरू एक–दुई दिन आउँछन्, छाप्रो बनाउँछन् र केही सातापछि अर्कालाई बेच्छन् । खाली जग्गा सरकारको हो । केही नहुने हामीजस्ता कृषक भए खेती गरिखान पाउँछन् तर दलालको नियत ठीक छैन ।’ पछिल्लो समय जग्गा कारोबारीले प्रतिबिघा ३ देखि ६ लाख रुपैयाँमा आफूखुसी बेच्ने गरेका छन् । एक वर्षअघि गोरुहाट लगाउने भनेर गरैयामा ६० बिघा जमिन त्यहीँका प्रदीप थापाले ओगटेका थिए तर पछि ऊक्त जमिन सबै अरूलाई बित्री गरे ।

सोही घटनाजस्तै कार्कीको समूहले पनि गरैयाको पटेरघारी कब्जामा लिएर अरूलाई बेच्न नाटक गरेको स्थानीयको आरोप छ । नारायण कार्कीले भने सबै आरोप मिथ्या भएको बताए । उनले आफूले स्थानीय समुदायलाई रोजगारी दिन बेलका नगरपालिकासँग सहकार्य गरेर गरैयामा कृषि फार्म र पशुहाट लगाउने दाबी गरे । उनले भने, ‘खाली जमिन सदुपयोग गर्न ट्र्याक्टर लगाएर जोतेको हो । त्यसमा बेलका नगरले अनुमति दिएको छ । स्थानीय शान्तिभूमि समूहसँग मिलेर सामूहिक खेती गर्न लागेको हो ।’ कार्कीले ब्लाक डाइमन्ड फार्मिङ कम्पनीमार्फत कृषकहरूलाई प्राविधिक सीप, मलबिउ र उत्पादनपछि बजार खोजी गरिदिने ग्यारेन्टी लिएको बताए ।


उनले भने, ‘यहाँ उत्पादन भएका फलफूल, तरकारी अर्ग्यानिक हुनेछन्, ती सबै कतार निर्यात गर्नेछौं । त्यसका लागि त्यहाँको सरकारसँग मैले सम्झौता गरिसकेको छु ।’ उनले विवाद भई फार्म सञ्चालन गर्न नदिए अर्को ठाउँमा सर्ने बताए । ‘प्रदीप थापा, लक्ष्मण थापा र विमला राईलगायतले गरैयामा २ सय बिघाभन्दा बढी जग्गा कब्जा गरेका छन् । भूमाफिया उनीहरू हुन्,’ उनले भने । आफू भूमाफिया नभएको उनले दाबी गरे ।


बराह क्षेत्र नगरपालिका प्रमुख नीलम खनालले आफ्नो अधिकारमा पर्ने गरैयामा सीमा विवाद निकालेर खाली जग्गा जोतभोग हुन थालेको बताए । उनले भने, ‘यस विषयमा बेलका नगरले एउटा पत्र पनि लेखेर पठाएको छ । सीमा विवाद त नहुनुपर्ने हो । विवादै भए दुई पक्ष बसेर मिलाउनेछौं । हाम्रो उद्देश्य खेतीयोग्य जमिन खाली नराखौं भन्ने हो तर भूमाफियालाई नदीउकास जग्गा भन्दैमा दिने पक्षमा छैनौं ।’ बराह क्षेत्रभित्र पर्ने श्रीलंका टप्पुमा साढे ६ हजार बिघा जमिन खेतीयोग्य रहेको प्रमुख खनालले बताए ।

प्रकाशित : चैत्र १८, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?