कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

धेरैको मृत्यु टाउकाको चोटले

बालबालिकाको मृत्यु निसास्सिएर 
जनकराज सापकोटा

काठमाडौँ — बारामा आइतबार साँझको शक्तिशाली हुरीका कारण ज्यान गुमाएकामध्ये अधिकांशको टाउकामा चोट देखिएको छ । मृतकहरूको मुचुल्का विवरण संकलनमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार वयस्क र अधबैंसेहरू भाग्दा टाउकाको पछाडि वा अगाडिको भागमा चोट लागेको देखिएको छ । बालबालिकाको मृत्यु भने गुम्सिएर भएको छ । 

धेरैको मृत्यु टाउकाको चोटले

जिल्ला प्रहरी कार्यालय बाराका इन्स्पेक्टर चन्द्रकिशोर साहका अनुसार २६ जनाको मुचुल्का र सनाखत सोमबारै भएको छ । मृतक एक भारतीय नागरिकको भने परिवार वा आफन्त नआएकाले सनाखत र मुचुल्का भएको छैन । सबै मृतकको सोमबारै नारायणी अञ्चल अस्पतालमा पोस्टमार्टम सकिएको छ ।

पोस्टमार्टममा संलग्न डा. आशुतोष बादलले हावाहुरीका बेला भागदौडमा ठोक्किएर धेरैको मृत्यु भएको बताए । ‘भाग्दा टाउकाको अगाडि वा पछाडिको भागमा गहिरो चोट लागेर आन्तरिक रक्तस्राव भएको देखिन्छ,’ उनले भने, ‘केहीको भने गह्रौं वस्तु टाउकामा खसेर चोट लागेको छ ।’

डा. बादलले बालबालिकाको भने हावाहुरीपछि भाग्दा सामानले छोपिएर वा भत्केका संरचनाको चेपमा परी गुम्सिएर ज्यान गएको हुन सक्ने बताए । ‘मृत्यु भएका बालबालिकाहरूको शरीरमा गहिरो चोट देखिँदैन, बरु श्वासप्रश्वासमा अवरोध देखिन्छ । यसको अर्थ उनीहरू गुम्सिएका थिए भन्ने हो,’ उनले भने ।

मृत्यु भएका २७ जनामा ५ वर्षमुनिका दुई जना देखिन्छन् । ५ देखि १० वर्ष उमेर समूहका १, १० देखि २० वर्ष उमेर समूहका ५, २० देखि ५० वर्ष उमेर समूहका १२, ५० वर्षमाथिका ४ र उमेर नखुलेका ३ जना देखिन्छन् । इन्स्पेक्टर साहले केहीको भाग्दाभाग्दै रूख र पर्खालले च्यापिएर निधन भएको बताए । उनका अनुसार मेरुदण्डको चोट लागेर मृत्यु हुनेमध्ये केहीको कम्मर भाँचिएको छ । ‘अधिकांश मृतकको बाहिरीभन्दा भित्री चोट देखियो,’ उनले भने ।

प्रकाशित : चैत्र १९, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?