आहारा खोज्दै बस्ती पस्न थाले वन्यजन्तु 

कोसीटप्पु आरक्षबाट बस्ती छिरेका वन्यजन्तुले मानिसलाई आक्रमण गर्छन्, घर भत्काइदिन्छन्, बाली खाइदिन्छन् । क्षति भए सरकारबाट राहत लिने प्रक्रिया झन्झटिलो छ । 
गोविन्द पोखरेल

कोसी टप्पु (सुनसरी) — कोसी गाउँपालिका–३ की विमला सरदार बिहान सबेरै उठ्न डराउँछिन् । डरको कारण हो, वन्यजन्तु । बिहान सबेरै उठेर शौच वा अन्य कामका लागि घर बाहिर निस्कँदा अर्ना र हात्तीले आक्रमण गर्न सक्छन् ।

आहारा खोज्दै बस्ती पस्न थाले वन्यजन्तु 

कोसी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा पर्ने सुनसरीको कोसी गाउँपालिका, सुनसरीको बराहक्षेत्र, सप्तरीको कञ्चनरूप र उदयपुरको बेलका नगरपालिकाका बासिन्दाको साझा समस्या हो ।कहिले हात्तीले घर भत्काइदिन्छ त कहिले अन्नबाली खाइदिन्छ ।


कोसी गाउँपालिकाका मुस्ताक अन्सारीका अनुसार अर्ना र हात्तीले सधैं अन्नपात खाइदिन्छन् । ‘साँझ परेदेखि बिहान घाम नलागेसम्म बाहिर निस्कन डर लाग्छ,’ उनले भने, ‘घाम लागेपछि वन्यजन्तु आरक्ष क्षेत्रमा फर्कन्छन् ।’


गत आर्थिक वर्षमा आरक्षको मध्यवर्ती क्षेत्रमा ४ सय ६१ जना किसानको बाली वन्यजन्तुले नष्ट गरिदिए । १ सय ९१ जनाको घरगोठ वन्यजन्तुले भत्काएको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । जंगली जनावरको आक्रमण परी गत आर्थिक वर्षमा ७ जनाले ज्यान गुमाए । मृतकमध्ये ६ जना महिला थिए ।


पाँच जनालाई मध्यवर्ती क्षेक्र र अन्यलाई आरक्षको कोर क्षेत्रमा जनावरले आत्रमण गरेका थिए । पछिल्ला आठ महिनामा वन्यजन्तुको आक्रमण परी डेढ दर्जनभन्दा बढी मानिस घाइते भएको तिवारीले जानकारी दिए । उनका अनुसार चितुवाको आक्रमण परी ५ जना, अर्नाबाट ६ जना र बाँकी हाक्तीको आत्रमणमा परी घाइते भए ।


१ सय ७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको आरक्षको १० प्रतिशत भूभाग मात्र वन छ । बाँकी घाँसे मैदान, नदी र खोलाको बगर पर्छन् । आरक्षमा ४ सय ४१ वटा अर्ना, दर्जन हाराहारी जंगली हात्ती, ५ सय २६ प्रजातिका पन्छी, १ सय २७ प्रजातिका माछा, ७७ प्रजातिका पुतली, ४५ प्रजातिका सरिसृप, २१ प्रजातिका ढाड नभएका जनावरलगायत वन्यजन्तु पाइन्छन् ।


वातावरणविद् प्रकाशचन्द्र अर्याल भन्छन्, ‘कोसी चाँडै धार परिवर्तन गर्ने नदी हो । जसको प्रत्यक्ष असर बासस्थान र खानामा पर्छ । आरक्षमा धेरै वन्यजन्तु हुँदा खाना अभाव हुन्छ, प्रतिस्पर्धा पनि बढ्छ । खानाको खोजीमा वन्यजन्तु गाउँ पस्छन् ।’


मध्यवर्ती क्षेत्रमा रहेका गाउँमा वर्षभरि खेती हुन्छ । अर्यालका अनुसार चरिचरणका लागि छाडिएका सयौँ चौपायाले जंगलमा रहेका घाँसपात खाइदिएपछि जंगली जनावरलाई खान पुग्दैन । खान नपाएपछि उनीहरू भौंतारिँदै गाउँ पस्छन् ।


अघिल्लो आर्थिक वर्षमा आरक्षले वन्यजन्तुबाट पीडित भएकाहरूलाई १ करोड २५ लाख ४ हजार रुपैयाँ क्षतिपूर्ति बाँडयो । क्षतिपूर्ति रकमप्रति पीडित असन्तुष्ट छन् ।


मानिसको मृत्युलाई १० लाख रुपैयाँमा दाँजिएको भन्दै कतिफय आक्रोशित छन् । वन्यजन्तुको आत्रमणबाट परिवारको सदस्य गुमाएकी स्थानीय सरिता सरदारले मानवीय क्षतिको कुनै मूल्य नहुने बताउँदै क्षतिपूर्तिबाट दिइने रकम न्यून भएको गुनासो गरिन् ।


वन्यजन्तुबाट नष्ट भएको अन्नबालीको भर्पाइमा पनि सरकारले न्यून रकम दिने गरेको छ । अन्नबालीमा धेरै नोक्सानी भए पनि सरकारले १० हजार रुपैयाँ मात्र राहत दिने गरेको छ । कोसी ३ का उमर अन्सारीले अन्नबाली अर्ना र हात्तीले नष्ट गरिदिएको वर्ष दिनपछि मात्र राहत पाए । ‘राहत लिने प्रक्रिया ज्यादै झन्झटिलो छ,’ उनले भने, ‘बल्लतल्ल पाउने राहत पनि कम छ ।’ उनका अनुसार राहतका लागि विभिन्न क्षेत्रबाट सिफारिस बनाउनुपर्छ र राहत वितरण पनि ढिलो हुन्छ ।


नियन्त्रणका प्रयास

मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीच द्वन्द्व नियन्त्रणका लागि प्रयास नगरिएका होइनन् । दीर्घकालीन उपाय भने अपनाएको पाइँदैन । सोलर तारबारका कारण हात्ती र अर्ना गाउँ पस्ने क्रम घटेको आरक्षको दाबी छ । २० किलोमिटर क्षेत्रफलमा १ करोड ३२ लाख लागतमा फेन्सिङ निर्माण सुरु हुन लागेको छ ।


हात्तीले त्यस्ता तारबारको पोल भत्काइदिने भएकाले मर्मतमा समस्या हुने आरक्षले जनाएको छ । केही वर्ष मात्र प्रयोग गर्न मिल्ने सोलार तारबारलाई वन्यजन्तु नियन्त्रणको दीर्घकालीन उपाय मान्न नसकिने आरक्षका सूचना अधिकारी तिवारी बताउँछन् । मानिसले आरक्ष क्षेत्रमा अवैध रूपमा चरिचरण तथा घाँसका लागि तारबार काटिदिने गर्छन् ।


आरक्षले विभिन्न समयमा तालिम तथा सचेतनामूलक कार्यक्रम गर्दै आएको वार्डेन चौधरीको भनाइ रहे पनि आरक्ष क्षेत्रको कार्यालयको पूर्वगाउँ मिलन चौकका बासिन्दाले आरक्षले कुनै पनि कार्यक्रममा सामेल नगराएको बताए ।


आरक्षले अर्नालाई चाहिने घाँसे मैदानको व्यवस्थापनसमेत गर्दै आएको जनाए पनि छाडा चौपायाले चुनौती थपिदिएको छ । वन्यजन्तुलाई गाउँ छिर्नबाट रोक्न तत्काल सम्भव नहुने इकोलोजिस्ट अर्याल बताउँछन् । ‘वन्यजन्तुलाई चाहिने घाँस तथा आहारा जंगलमै उपलब्ध भए मात्र वन्यजन्तु गाउँ पस्ने क्रम घट्छ,’ उनले भने । उनले मानव वन्यजन्तुको सहअस्तित्व कायम गर्नुपर्नेमा जोड दिए । उनले वन्यजन्तुसँगको द्वन्द्व बहुआयमिक किसिमको भएकाले नियन्त्रणका लागि राज्य तथा स्थानीयबीच समन्वय जरुरी रहेको बताए । स्थानीय विन्जेश्वर इसार भने २ मिटरसम्मको भिरालो खनी पानीपोखरी बनाउन सके जनावर खानाको खोजीमा गाउँ पस्न नसक्ने बताउँछन् ।

प्रकाशित : चैत्र १९, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?