२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सरकारी जग्गा किर्ते प्रकरण : १४ पक्राउ

मंगलबार मालपोत अधिकृत पनि पक्राउ
कमल पन्थी

बर्दिया — किर्तेमार्फत सरकारी जग्गा व्यक्तिका नाममा बनाएर दृष्टिबन्धक राखेको आरोपमा प्रहरीले मंगलबार निमित्त मालपोत अधिकृत रामकुमार रोकायलाई पक्राउ गरेको छ । उनलाई बर्दियाबाट पक्राउ गरी नेपालगन्ज लगिएको हो । यस प्रकरणमा अहिलेसम्म १४ जना पक्राउ परिसकेका छन् ।

बाँकेका प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले किर्ते आरोपमा यसअघि हुलाक, भूमिसुधार तथा मालपोत कार्यालय बाँके र बर्दियाका गरी ११, लेखनदास २ जना र १ सर्वसाधरणलाई पक्राउ गरिएको जनाए । प्रहरीले मालपोत कार्यालय बर्दियाका प्रमुख कृष्णप्रसाद ज्ञवालीसहित केही अधिकारीको खोजी भइरहेको जनाएको छ । ज्ञवाली गत चैत ३ गतेबाट कार्यालय आएका छैनन् । प्रहरीले यसअघि बर्दिया मालपोतका नायब सुब्बा कृष्णलाल शर्मा, खरिदार भूमिराज पोखरेल र कम्प्युटर अप्रेटर लक्ष्मी मल्ललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको मालपोत अधिकृत विक्रम गिरीले जनाए ।


नेपालगन्ज उपमहानगर ३ का फैरुल हसन अन्सारी भारतको नवाबगन्जमा जुनिथ अन्सारीको हत्या आरोपमा पक्राउ परेपछि किर्ते घटनाको खुलासा भएको थियो । जुनिथ लामो समयदेखि नेपालगन्ज बस्दै आएका थिए । अनुसन्धानका क्रममा किर्ते जग्गा लेनदेनका विषयमा अपहरणदेखि हत्या भएको देखिएको एक प्रहरी अधिकृतले बताए । त्यसअघि जुनेथ र फैजुलले सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्दै आएको अनुसन्धानमा देखिएको छ । प्रहरीका अनुसार फैरुलले मृत बाबुको नाममा सिक्टा सिँचाइ आयोजनाको जग्गा नामसारी गरेको देखिएको छ । बाबु मजुवुल हसन अन्सारीको मृत्युपछि फैरुलले आमा हसरतुन निसाको नाममा नामसारी गर्ने क्रममा विवाद भएको देखिन्छ ।


साबिक नेउलापुर गाविस ९ 'ख' को ऐलानी कित्ता नम्बर १९१ को २ बिघा, ७ को १४ कट्ठा, ८ को १ बिघा, ५० को १ विघा २ कट्ठा १० धुर र ६२ को १४ कट्ठा जग्गा स्रेस्ता बनाएर नामसारी गरेको देखिन्छ । पतिको मृत्यपछि पत्नीले नामसारी गराएको मालपोत कार्यालयले जनाएको छ । अनुसन्धानमा मालपोत कार्यालयमा रहेको स्रेस्ताबाट तीन पाना च्यातेर जालसाजी गरी जग्गा नामसारी गरेको देखिएको छ ।


गत पुस १२ गते प्रमुख भूमिसुधार तथा मालपोत अधिकृत कृष्णप्रसाद ज्ञवाली र नासु कृष्ण शर्माले सरकारी परतिजग्गा व्यक्तिको नाममा दर्ता गरेको अनुसन्धानमा देखिएको थियो । शर्मा र ज्ञवालीविरुद्ध उजुरी परेपछि ०७५ चैत ३ गते हसरतुन निसा (अन्सारी) को नाममा कायम भएको जग्गा बदर गरिएको थियो । खरिदार भूमिराज पोखरेललाई सोही फाँटका कार्यरत रहेकाले छानबिनका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रहरी उपरीक्षक पौडेलले हत्या गरिएका जुनिथको डेरामा खोजी गर्दा मालपोत कार्यालय बर्दियाको च्यातिएको स्रेस्ता बरामद भएको बताए । जेनिथले स्रेस्ता नदिएपछि उनको हत्या गरिएको हुन सक्ने आशंका प्रहरीको छ । गत माघ २१ गते जुनेथ वेपत्ता भएको उजुरी परेको थियो । त्यसपछि खोजीका क्रममा तथ्य खुलेको हो । एसपी पौडेलले घटना निष्कर्षमा नपुग्दै सबै कुरा सार्वजनिक गर्दा अनुसन्धान प्रभावित हुने भएकोले बोल्ने अवस्था नरहेको बताए ।

प्रकाशित : चैत्र १९, २०७५ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?