१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सुत्केरीको बिचल्ली : न बस्ने घर छ, न खाने अन्न

बारा — बस्ने घर छैन । खाने अन्न छैन । आफ्नो त परै जाओस्, चारदिने छोरीले समेत पेट भर्न पाएकी छैनन् । आमाको दूध आउँदैन । फेटा गाउँपालिका–६ पुरैनियाकी ३० वर्षीया अमिरु नेसा साँझ बास बस्न छिमेकीको घर पुग्छिन् । दिउँसो भत्किएको घरमा आएर टोलाउँछिन् । 

सुत्केरीको बिचल्ली : न बस्ने घर छ, न खाने अन्न

आइतबार साँझको प्राकृतिक विपत्तिपछि घर र अन्नपात गुमाएर बिचल्लीमा परेकी नेसा जस्तै दर्जनभन्दा बढी सुत्केरी छन् । उनीहरूको ओढ्ने–ओछ्याउने कतै घर भत्किएर पुरिएको छ त कतै हावाले उडाएर यत्रतत्र छरिएका छन् । प्रभावित क्षेत्रमा ४ दिनदेखि ४ महिनासम्मका सुत्केरी छन् । उनीहरूलाई नवजात शिशुको हेरचाह गर्न सकस भएको छ । सुत्केरीलाई लक्षित गरेर राहत बाँडिएको छैन ।


शक्तिशाली हुरी आउँदा नेसालाई बाँचिन्छ भन्ने लागेकै थिएन । ‘साँझ खाना खाने बेला हुरी चल्यो । माटोले इँटा जडान गरेर बनाएका घर एकाएक ढल्न थाल्यो । बाहिर रूख उखेलिएर उड्दै थियो, कता गएर ज्यान जोगाउनु ?,’ उनले सुनाइन्, ‘आफू मरे पनि छोरी बचाउँछु भनी घोप्टो परेर लडें, इँटाले लागेर जीउमा चोट लाग्यो, जसोतसो सबैजना जोगिऔं । अहिले सपना जस्तो लाग्छ ।’ त्यस दिन आडैका छिमेकीको घरमा ४ जनाको ज्यान गयो । नेसाकी काखकी छोरीमाथि ३ छोरा छन् । पति ओसियर मियाँ कतार गएको ६ महिना भयो ।


उनी माइतीमा बस्दै आएकी छन् । उनकी आमा सोयाब खातुन घाइते छिन् । उनको उपचार भइरहेको छ । परिवारका कसैले पनि पेटभरि खान पाएका छैनन् । ‘मेरो दूध आउँदैन, छिमेकीको घरबाट दूध ल्याएर खुवाउने गरेको थिएँ, अहिले नियमित छैन,’ उनले भनिन् । उनले तत्काल घर ठड्याउन सक्ने अवस्था नरहेको पनि बताइन् ।


नजिकैकी ३० वर्षीया रिक्मा खातुन १५ दिनकी सुत्केरी हुन् । उनकी छोरी जतिबेला पनि रोइरहन्छिन् । फुल्याउन दूध चुसाउँछिन् । दूध आउँदैन । उनले पोसिलो खानेकुरा खान पाएकी छैनन् । ‘दूध किनेर छोरीलाई खुवाउने गरेकी छु,’ राहतमा पाएको लड्डु खाँदै गर्दा भेटिएकी उनले भनिन्, ‘नपाउँदा भोकै राख्नुपर्ने बाध्यता छ ।’ उनका ससुरा मन्जुर मियाँ, ८ वर्षीय छोरा रियाज र ६ वर्षीय फयाज घाइते छन् । सबैको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घरमा बस्न सक्ने अवस्था छैन । उनी घर छेउमै छाता ओढेर दिन कटाउँछिन् ।


महागढीमाई–७ स्थित तेलगाई टोलकी २५ वर्षीया गणितादेवी कुमालको ४ महिनाको छोरा छ । घर भत्किएदेखि छोरालाई पेटभरि खुवाउनै नसकिएको बताइन् ।


हुरीपछि गाउँमा फोनको नेटवर्क राम्रो छैन । विद्युत् सेवा अवरुद्ध छ । मोबाइल चार्ज गर्न नपाउँदा धेरैले परदेशमा रहेका आफन्तलाई खबर सुनाउन पनि पाएका छैनन् । पानी आउने चापाकल सुकेको छ । पानी खोज्न गाउँ डुल्नुको विकल्प छैन ।


सानोतिनो चोट प्रायः सबैको शरीरमा छ । घर गुमाएकाहरू साँझ परेपछि आफन्तको घरमा शरण लिन्छन् । प्रभावित क्षेत्रका बालबालिका पनि त्रसित देखिन्छन् । फेटा गाउँपालिकाको वडा १, ३, ६, ७ र देवताल गाउँपालिका ७, महागढीमाई ७ र पचरौता ७ मा हावाहुरीले ठूलो जनधनको क्षति भएको छ ।


प्रकाशित : चैत्र २०, २०७५ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?