२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

एसईई प्रश्नपत्र आउट प्रकरण : प्रदेश २ मा प्रहरीबाटै बाहिरिएको थियो

काठमाडौँ — माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ ।

एसईई प्रश्नपत्र आउट प्रकरण : प्रदेश २ मा प्रहरीबाटै बाहिरिएको थियो

घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ ।यसलाई ब्युरो र प्रहरी प्रधान कार्यालय दुवैले गोप्य राखेका छन् ।

प्रश्नपत्र बाहिरिएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन गरेका समितिले छुट्टाछुट्टै छानबिन गरेका थिए । दुवै समितिले अनुसन्धान जारी रहेको बताइरहेका बेला सीआईबीले दुई प्रहरी जवानलाई नियन्त्रणमा लिएको हो ।

एक उच्च प्रहरी अधिकारीका अनुसार सोमबार बिहान काठमाडौं ल्याइएका दुवैलाई हतकडी लगाइएको छ । उनीहरू दुवैलाई दिनभर सीआईबी कार्यालयमा राखेर सोमबार साँझ प्रहरी प्रधान कार्यालयअन्तर्गतको एक नम्बर गणमा पुर्‍याइएको थियो । नियन्त्रणमा लिइएकामध्ये ब्रह्मदेवको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा दरबन्दी रही इलाका प्रहरी कार्यालय कल्याणपुरमा काजमा खटिएको खुलेको छ ।

सीआईबीले नियन्त्रणमा लिएका दुई प्रहरीमध्ये एक परीक्षार्थी पनि हुन् भने अर्का प्रश्नपत्रको तस्बिर खिच्न संलग्न थिए । नजिकका साथीसमेत रहेका उनीहरूबाटै प्रश्नपत्र बाहिरिएको पर्याप्त आधार भेटिएको एक प्रहरी अधिकारीले बताए । ती प्रहरी अधिकारीले केही तथ्यगत र उनीहरूबाट बाहिरिएको प्रश्नपत्र अन्य धेरै परीक्षार्थीमा पुर्‍याउने काममा क–कसको संलग्नता थियो भन्ने पुष्टि गर्न थप अनुसन्धान भइरहेको बताए ।

उनीहरू दुवै कार्यरत इलाका प्रहरी कार्यालय कल्याणपुरमा जनता मण्डल मावि बनिनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्र राखिएको थियो । एसईई परीक्षार्थी प्रहरी जवान कुन केन्द्रमा थिए भन्ने खुल्न सकेन ।


प्रश्नपत्रको सजिलै पहुँचमा रहेका उनीहरूमध्ये एकले सिल खोलेर प्रश्नपत्रको फोटो खिचेको अनुसन्धानले देखाएको छ । उक्त फोटो उनले परीक्षार्थी प्रहरी साथीलाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरबाट पठाए । नियन्त्रणमा रहेका प्रहरी जवानले प्रश्नपत्रको फोटो खिचेर साथीलाई दिएको स्वीकारी सकेको स्रोतले बतायो ।

बाहिरिएको प्रश्नपत्रको तस्बिर नजिकै ब्लेडसमेत देखिन्छ । अनुसन्धान अधिकारीहरूले तस्बिरका आधारमा सिलबन्दी ब्लेडले काटेर प्रश्नपत्र निकालिएको आंशका गरेका छन् । यसरी बाहिरिएको प्रश्नपत्रको फोटो सामाजिक सञ्जाल फेसबुक, भाइबर र हवाटस एपमार्फत धेरै जना विद्यार्थी, उनीहरूको अभिभावक र आफन्तको मोबाइलमा पुगेको थियो ।

स्रोतका अनुसार विज्ञान र सामाजिक दुवै प्रश्नपत्र बाहिरिएको दिन परीक्षाअगावै विद्यार्थी विद्यालय छेउछाउ सार्वजनिक स्थानमा झुन्डझुन्ड भएर प्रश्नपत्र हेरिरहेका थिए । राष्ट्रिय परीक्षा बोर्डको छानबिन समितिका एक सदस्यका अनुसार प्रश्नपत्र एकले अर्कालाई पठाउने काम एकैछिनमा हँॅदा प्रदेश २ का अन्य जिल्लाकाले समेत पाएका थिए ।

घटनाबारे अनुसन्धान गरिरहेको सीआईबीको टोली २ नम्बर प्रदेशमै छ भने राष्ट्रिय परीक्षा बोर्डको छानबिन समिति विभिन्न जिल्ला हुँदै मंगलबार धनुषा पुगेको छ । प्रश्नपत्र बाहिरिएको घटनाबारे जिल्ला प्रहरी कार्यालय (जिप्रका) सप्तरीले पनि छानबिन थालेको थियो । जिप्रका सप्तरीका एसपी राजेन्द्र विष्टले प्रश्नपत्र बाहिरिएको प्रकरणमा आफूहरूले ६ जनालाई पक्राउ गरेर सार्वजनिक अपराधमा मुद्दा चलाउने प्रक्रिया सुरु गरिसकेको बताए । उनले भने, ‘एसईईको प्रश्नपत्र बाहिरिएको विषयमा यही नै हो हामीले गरेको अनुसन्धान । अरू कुरा मलाई

थाह भएन ।’

जिप्रका सप्तरीका डीएसपी भावेश रिमालले भने पक्राउ परेका ६ जनाको मोबाइलमा एसईईको प्रश्नपत्र भेटिएको, उनीहरूले प्रश्नपत्र अरूलाई पठाएको देखिएको र त्यसबारे अरू अनुसन्धान सीआईबीले गरिरहेको भन्दै थप बोल्न नमिल्ने बताए । ‘पक्राउ परेकाहरूको मोबाइल सीआईबीले अनुसन्धानका निम्ति भन्दै लगेको छ,’ उनले भने । प्रहरी स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा ल्याइएका ती मोबाइलमा कहाँबाट प्रश्नपत्र आयो र कतिलाई फरवार्ड गरियो भन्नेबारे अनुसन्धान भइरहेको स्रोतले बतायो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठले एसईईको प्रश्नपत्र कहाँबाट बाहिरियो भन्नेबारे सोधपुछ गरिरहेको बताए । उनले सीआईबीको टोलीलाई पनि सघाइरहेको बताए । उनी मातहतको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई जवानलाई नियन्त्रणमा लिइएको बारे उनले अनभिज्ञता प्रकट गरे ।

यसबारे बुझ्न बारम्बार सम्पर्क प्रयास गर्दा इलाका प्रहरी कार्यालय कल्याणपुरका सई तुलसीप्रसाद पोख्रेलले मोबाइल फोन उठाएनन् र अन्त्यमा मोबाइल नै अफ गरे । घटनाबारे बुझ्न कार्यालयको नम्बरमा सम्पर्क गर्दा हवल्दार धर्मेश बैठाले फोन उठाए तर उनले आफू नयाँ भएकाले केही थाहा नभएको जवाफ दिए ।

निमित्त प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले यसबारे सीआईबीसितै बुझ्न आग्रह गरे । सीआईबी प्रमुख डीआईजी निरज शाहीले प्रश्नपत्र बाहिरिएको विषयमा अनुसन्धान जारी रहेको उल्लेख गर्दै तथ्यहरू संकलन भइरहेको र शंकास्पद व्यक्तिमाथि निगरानी भइरहेको बताए । डीआईजी शाहीले अनुसन्धानका क्रममा कसैलाई नियन्त्रणमा नलिएको दाबी गरे ।

इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रश्नपत्र पुग्ने दुवै परीक्षा केन्द्रका केन्द्राध्यक्षले कान्तिपुरसँगको कुराकानीमा प्रश्नपत्र चुहावट नभएको दाबी गरे । रादु माविका केन्द्राध्यक्ष लालदेव शाहले उक्त दिनको प्रश्नपत्रको सिलबन्दी नतोडिएको दाबी गरे भने जनता मण्डल माविका केन्द्राध्यक्ष धेउसी रायनले प्रहरीकै रोहवरमा प्रश्नपत्र खोलिएकाले शंका नगर्न आग्रह गरे ।

प्रश्नपत्र चुहावटको विषयमा बुझ्न जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेलाई पनि सम्पर्क गरिएको थियो । उनले प्रश्नपत्र चुहावटबारे भइरहेको अनुसन्धानको विषय आफूलाई जानकारी नभएको बताए । दोस्रो दिन पनि प्रश्नपत्र बाहिरिएलगत्तै १५ गते दिउँसो केन्द्रीय परीक्षा समन्वय समितिले ७७ जिल्लाका प्रजिअमार्फत प्रश्नपत्र रुजु गर्न निर्देशन दिएको थियो । सबै जिल्लाबाट प्रश्नपत्र सही हालतमा रहेको सूचना आएको थियो ।

यसरी बाहिरियो प्रश्नपत्र

चैत १४ गते देशैभर विज्ञान विषयको परीक्षा थियो । प्रदेश २ मा बिहान ८ बजे परीक्षा सुरु हुनअगावै प्रश्नपत्र बाहिरिएको घटना सार्वजनिक भयो । परीक्षाको बिहान साढे ६ बजेअगावै सामाजिक सञ्जालमार्फत विज्ञान विषयको प्रश्न कैयन् परीक्षार्थीको मोबाइलमा पुगिसकेको थियो । केहीले प्रश्नपत्र सामाजिक सञ्जालमै पोस्ट गरेका थिए ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको सुरक्षण प्रेसमा छापिएको प्रश्नपत्र ७७ जिल्लाका जिल्ला प्रहरी कार्यालय हुँदै परीक्षा केन्द्र नजिकैको प्रहरी चौकीमा पुग्छ । खाम, प्लास्टिक, बोरा, कार्टुन र थैलो गरी पाँच पत्रमा सिलबन्दी गरेर जिल्ला पुर्‍याइने प्रश्नपत्र जिल्ला प्रहरी कार्यालयमा परीक्षा समन्वय समितिको उपस्थितिमा खोलिन्छ । दुई तहको सिलबन्दी खोलेपछि सिलबन्दीसहितका स–साना पोका परीक्षा केन्द्र नजिकैका स्थानीय प्रहरी चौकीमा परीक्षाको दुईदेखि तीन दिनअगावै सम्बन्धित केन्द्राध्यक्षको उपस्थितिमा प्रश्नपत्रको सिलबन्दी पोको पुर्‍याइन्छ । यसरी पुर्‍याइएको प्रश्नपत्रको पोको प्रहरीले सुरक्षित राख्नुपर्छ ।

स्थानीय प्रहरी चौकीमा पुगेको प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा १ घण्टाअघि केन्द्राध्यक्षको रोहबरमा मुचुल्का गरी परीक्षा केन्द्र लगिन्छ । परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअघि अर्थात् ७ः३० बजे स्थानीय प्रहरी, परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकहरूको रोहवरमा मुचुल्का गरी प्रश्नपत्रको पोको खोलिन्छ । प्रश्नपत्र परीक्षाको सुरुवाती घन्टी बजेपछि मात्रै विद्यार्थीको हातमा पुग्नुपर्ने हो । तर १४ र १५ गते यस्तो भएन ।

प्रश्नपत्र सार्वजनिक भएको पुष्टि भएलगत्तै परीक्षा समन्वय समिति सप्तरीले विज्ञान विषयको परीक्षा रद्द गर्न सिफारिस गर्‍यो । त्यसैका आधारमा राष्ट्रिय परीक्षा बोर्डको बैठकले विज्ञान विषयको परीक्षा रद्द गरेर चैत २२ गते सञ्चालन गर्ने र प्रश्नपत्रको चुहावटबारे छानबिन गर्न बोर्ड सदस्य अमोदा श्रेष्ठको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गर्‍यो ।

१५ गते हुने भनिएको सामाजिक विषयको प्रश्नपत्र परीक्षाको अघिल्लो साँझमै बाहिरिएको थियो । बाहिरिएको प्रश्नपत्र सिलबन्दी गरेर राखिएको गोप्य प्रश्नपत्रसँग हुबहु मिलेको पुष्टि भएपछि केन्द्रीय परीक्षा बोर्डले उक्त परीक्षा स्थगित गरेको घोषणा गर्‍यो ।

यिनै दुई घटनाको विश्लेषणपछि शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले १५ गते राति पत्रकार सम्मेलन गर्दै प्रश्नपत्र चुहावट आपराधिक काम भएको बताउँदै प्रदेश २ का बाँकी सबै परीक्षा स्थगित गरिएको बताएका थिए । त्यही दिन केन्द्रीय परीक्षा समन्वय समितिको बैठकले प्रश्नपत्र चुहावटबारे अनुसन्धान गर्न गृह मन्त्रालयमार्फत सीआईबीलाई अनुरोध गरेका थिए । लगत्तै सीआईबीको टोली अनुसन्धान गर्न प्रदेश २ पुगेको थियो ।

अनिवार्य ६ वटा विषयका प्रश्नपत्र प्रदेशपिच्छे फरक/फरक छापिएकाले प्रदेश २ मा प्रश्नपत्र बाहिरिए पनि अन्य प्रदेशमा भने परीक्षा यथावत् सञ्चालन भयो । परीक्षा बोर्डले प्रदेश २ मा आगामी २२ गतेबाट बाँकी विषयको

परीक्षा गर्दैछ ।


प्रकाशित : चैत्र २०, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?