सगरमाथाको उचाइ नापिँदै

कुम्भराज राई

ओखलढुंगा — सगरमाथाको उचाइ नाप्न नापी विभागले १ सय २९ नियन्त्रणविन्दु कायम गरी सर्वेक्षण सकेको छ  । सगरमाथाको शिखरसँग जोडेर सर्वेक्षण गर्न विभिन्न १२ स्थानको उचाइ स्थापित गर्ने काम भइरहेको पनि विभागले जनाएको छ  ।

सगरमाथाको उचाइ नापिँदै

सिरहाको माडरदेखि तीनवटा प्रमुख स्थानहरू सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकै रहेको छुयाङमु डाँडा र पीके डाँडासम्मको उचाइ लिएर (लेभलिङ गरेर) सम्पर्क स्थापित गर्ने काम भइरहेको सगरमाथा नाप्ने योजनाका संयोजक तथा प्रमुख नापी अधिकृत सुशील डंगोलले बताए ।


‘पत्तालेसम्म लेभलिङ गर्ने काम भइसकेको छ,’ संयोजक डंगोलले भने, ‘अब छुयाङमु डाँडा र पीकेसम्म लेभलिङको काम सकेपछि हामी सगरमाथा शिखरतर्फ लाग्नेछौं ।’ शिखरमा जीएनएनएस जीपीएस लगिनेछ । जीपीएसको माध्यमबाट यी उचाइ स्थापित गर्न तोकिएका स्थानको सर्वेक्षण हुनेछन् । १२ वटा सम्पर्क स्थापित गर्ने स्थानमध्ये बाँकी ९ स्थानबाट भने शिखरबाट फर्किसकेपछि सर्वेक्षण गरिनेछ । ट्रिगोनोमेट्रिकल अर्थात् त्रिकोणमितीय लेभलिङका आधारमा सर्वेक्षण तथा उचाइ नापिने विभागले जनाएको छ । गुरुत्वाकर्षण (ग्राभिटी) सर्वेक्षणको कामसमेत बाँकी रहेको डंगोलले बताए । आगामी मेभित्र नापी विभागका कर्मचारीहरू सगरमाथा शिखर आरोहणको तयारीमा छन् । उनीहरू जीपीएस बोकेर शिखरमा पुग्नेछन् । सोही जीपीएस र १२ वटा विन्दुसँगको सर्वेक्षणका आधारबाट सगरमाथाको उचाइ टुंगो लाग्नेछ ।


आरोहणका लागि विभागका खिमलाल गौतम, रवीन कार्की, सुरजसिं भण्डारी र युवराज धिताल गरी चार जनाको टोली बनाइएको छ । तीमध्ये दुईजना शिखरमा जानेछन् भने दुईजना आधारशिविरमा बस्नेछन् । टुंगो लागिनसके पनि शिखरमा जानेहरू खिमलाल गौतम र रवीन कार्की हुन सक्ने आरोहणको व्यवस्थापन जिम्मा पाएको पिक प्रमोसन प्रालिले जनाएको छ । सन् २०१९ भित्र उचाइ लिने काम सक्ने लक्ष्य विभागको छ । काम केही चुनौतीपूर्ण रहेको समेत विभागका प्रमुख नापी अधिकृत डंगोलको भनाइ छ । ‘एक जनाबाहेक हाम्रा कर्मचारी शिखर आरोहणको अनुभवी हुनुहुन्न । त्यही भएर केही चुनौती पनि अवश्य छ,’ उनले भने । आरोहणका लागि आवश्यक तालिम नेपाल पर्वतारोहण संघले दिइसकेको छ । गत फागुनबाट उचाइ नाप्न फिल्डको काम थालिएकामा अब धेरैजसो काम सकिएको हो ।


यसअघि सन् १८५६ मा ब्रिटिस सर्भेयर जर्ज एभरेस्टले सर्भे गरी विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको प्रमाणित गरेका थिए । त्यसअघि भारतीय सर्भेयर राधानाध सिख्धरले १९५२ मै सगरमाथा सर्वोच्च शिखर भएको दाबी गरेका थिए । चीनले समेत यसअघि पटकपटक सगरमाथाको उचाइ नाप्ने काम गरेको छ । सन् २००५ मा चीनले गरेको सर्वेक्षणमा सगरमाथाको उचाइ समुद्री सतहदेखि ८ हजार ८ सय ४४ मिटर मात्र रहेको भनिएको थियो ।

प्रकाशित : चैत्र २०, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?