सुँगुरको खोरमा बास
सिमरा, चैनपुर, बारा — बाराको फेटा गाउँपालिका १, भरबलियामा एक दलित परिवार अहिले सुँगुर बस्ने खोरमा बस्न बाध्य भएको छ । हावा हुरीले गएको आइतबार राति घर उडाएपछि उदयनारायण मलीको परिवार अहिले सुँगुर बस्ने खोरमा बस्दै आएको छ ।
उनको परिवारका १५ जना खोरमै बस्दै आएका छन् । सडक छेउको ऐलानीमा बनाइएको उनको फुसको घर हुरीले उडाइदिएपछि परिवारको ओत लाग्ने सहारा सुँगुरको खोर बनेको छ । कथित जातीय छुवाछूतका कारण माथिल्ला जातिकाले उनीहरूलाई गाउँमा बस्न दिँदैनन् ।
त्यसैले उनीहरू गाउँभन्दा केही परको ऐलानीमा घर–टहरा बनाएर बसेका हुन् । त्यसमा पनि हुरीले उठीबास लगाएपछि उनको परिवार विचल्लीमा छ । उदयको परिवार बसेकै बाटो भएर भरवलिया गाउँमा ट्रकका ट्रक राहत लिएर दातृ संस्था ओहोरदोहोर गर्छन । तर उनको परिवारलाई कसैले हेरेका छैनन् । सामान्य अवस्थामा पनि हातमुख जोर्न धौधौ पर्ने डोम परिवारमा हुरीले पीडा थपेको छ ।
सुँगुरको खोरमा कलिला बालबालिकासँगै बसिरहेका उनका पत्नी र छोरा–बुहारीले एकै स्वरमा भने, ‘ओत लाग्ने ठाउँ भए पो जाने, हामीलाई अन्य जातिका मानिसले घरमा आश्रय दिँदैनन् । घर आँगनमा पुग्दा त कति छिटो धपाउँला जस्तो गर्छन् । उनीहरूले गाडेको चापाकलमा पनि पानी खान पाइँदैन ।’
भुमरीले आफूहरूलाई थप पीडामा पारेको दिलीप मलीले बताए । उनले भने, ‘राम्ररी खान नपाएकी श्रीमतीले बच्चालाई पेटभरि दुध चसाउन सकेकी छैनन् ।’ ६ महिनाकी बच्चीले पेटभरि दुध नपाएको उनको दुखेसो छ । ‘पेटभरि खान पाए पो दुध आउँछ,’ दिलीपकी पत्नी ममताले भनिन्, ‘अहिले त दुध पनि सुक्न थाल्यो ।’ चिउरा दालमोठले पेट भर्नु परेको उनको भनाइ छ । ‘यसले भोकै मेटिँदैन,’ उनले भनिन् । मली परिवारको भएभरको सम्पत्ति मानिएका ४ सुँगुर भुमरीले उडाएर लगेको उनीहरू बताउँछन् । ‘सुँगुर भुमरीसँगै कहाँ गयो, आफूहरूलाई थाहा छैन,’ उनीहरूले भने, ‘धेरै खोजी गर्यौं, तर फेला पार्न सकिएन ।’
राहतमा किचलो
पथलैया–वीरगन्ज सडक खण्डलाई छोडेर १ किमि मात्र पूर्व लाग्दा बारा, परवानीपुर गाउँपालिका ४ को वडा कार्यालय पुगिन्छ । चैनपुर गाउँको मुखैको वडा कार्यालयमा मंगलबार दिउँसो २ बजे स्थानीयको भीड थियो । राहत वितरणमा वडा कार्यालयले काखापाखा गरेको भन्दै स्थानीयका दुई पक्ष आपसमा चर्काचर्की गरिरहेका थिए ।
नजिकै भेटिएका वडाध्यक्ष गजेन्द्र पटेलले पार्टीका नेता काठमाडौंबाट राहत बोकेर आएका र त्यही बाँड्न आफू नेतासित व्यस्त रहेको बताए । ‘राहत वितरण गर्न लागेको थिएँ । त्यतिकै बेला नेताजी आइपुग्नुभयो,’ उनले भने, ‘म उहाँसँगै हिँड्नुपर्यो ।’
चैनपुर गाउँ छिर्ने बाटैभरि वीरगन्जदेखि मात्र होइन पूर्व र राजधानीदेखि राहत सामग्री लिएर आएको दर्जन बढी सवारीसाधन यत्रतत्र देखिन्थे । यसरी राहत लिएर आउनेहरू आफूखुसी जहाँ जसरी मन लाग्यो राहत बाँडी रहेका थिए । राहत लिएर आउनेहरूमध्ये अधिकांशको राहत चाउचाउ, बिस्कुट, पानी वा त्यसभन्दा बढी भए एक छाक खाना हुने गरेको गाउँका अगुवा महन्थ राम बताउँछन् ।
दिउँसो अढाई बजेतिर राहत लिएर आएको सिप्रदीयन सहायता संस्थाको टोलीलाई राहत बाँड्न हम्मेहम्मे भयो । नेपाली सेना र अगुवा महन्थ रामको सहयोगमा टोलीले १ सय घरधुरीलाई राहत सामग्री बाँड्यो । प्रत्येक राहत पोकामा २५ किलो चामल, ५ किलो दाल, २ लिटर खाने तेल र एक प्याकेट नुन रहेको छ । सिप्रदीका वीरगन्ज शाखा प्रबन्धक गोपाल आचार्यले राहत सामग्रीको स्वामित्व लिने वा वितरण गर्न कुनै जिम्मेवार निकाय नभएकाले गाउँमा राहत बाँड्न हम्मेहम्मे भएको बताए । यसबाहेक जगरनाथपुर र भलुही भरबलियामा समेत गरी एक सय ६५ पोका राहत सामग्री बाँडिएको उनले बताए ।
यसरी दैवी प्रकोपपीडित यो दलित बस्तीमा राहत वितरण गर्ने र राहत पाउने पीडितहरूको बीच समन्वयको काम गर्ने समन्वयकारी निकायको अभावमा राहत वितरण कार्य जटिल बन्दै गएको छ । कोही आफ्नो राहत वितरण गर्ने रहर मेटेर सामाजिक सन्जालमा फोटो हाल्न हतारमा राहत बाँडेर हिँड्छन् । कोही वास्तविक पीडितलाई सक्दो राहत मिलोस् भनी खुला हृदय र सफा मनले राहत लिएर आउँदा उसलाई राहत वितरण कार्य नै फलामको चिउरा चपाउनुसरह जटिल बन्छ ।
अगुवा राम पनि सोमबार बिहानदेखि गाउँमा राहत वितरण गर्ने थुप्रै टोली आए तापनि आफूहरूले हालसम्म खाद्यान्नबाहेक अन्य राहत सामग्री नपाएको गुनासो गर्छन् । ‘हामीलाई अहिले खाद्यान्न र लत्ताकपडाभन्दा पनि टाउको लुकाउने त्रिपाल, सुत्ने म्याट्रेस अनि मच्छरबाट जोगिन झुल चाहिएको छ,’ उनले भने, ‘आइतबार र सोमबार राति अधिकांश पीडित परिवार खुल्ला आकाशमुनि सुतेको छ, पानी पर्न र फेरि पनि हावाहुरी आउन सक्छ, यस्तो अवस्थामा पीडितको बिजोग हुन्छ ।’ हावाहुरीले यो गाउँमा मात्र करिब ३ सय घरधुरीमा क्षति पुर्याएको छ ।