२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

हुरी पीडित भन्छन् - 'बास र कपडा देऊ'

लक्ष्मी साह

बारा — फेटा–६, पुरैनियाकी १५ दिनकी सुत्केरी रेक्मा खातुन (३०) मंगलबार दिउँसो काखमा शिशु बोकेर भत्केको घर अगाडि मलिन अनुहारमा भेटिइन्  । घर भत्केर पति तथा ससुरा घाइते भएको पीडामा रहेकी उनी ८ र ६ वर्षीय दुई छोरा र शिशुसहित तीन सन्तानलाई लिएर भत्केको घर अगाडि तीनदेखि खुला आकाशमुनि छिन्  ।

हुरी पीडित भन्छन् - 'बास र कपडा देऊ'

छिमेकी गाउँलेले उनीहरूलाई जेनतेन खुवाएका त छन्, तर आकाश छेक्ने केही छैन ।


‘त्रिपाल नै पाएका छैनौं,’ सुत्केरीकी १४ वर्षीय भतिज रोज महम्मदले भने, ‘खानेकुराभन्दा बास बस्न र फेर्ने लुगासमेत छैन, सबै घरमै चेपिए ।’ महागढीमाई नगरपालिका–७, तेलगाईंका जवाहिरप्रसाद यादव मंगलबार दिउँसो भत्केको घरको काठ, इँटा मिलाउँदै गरेका भेटिए ।

घर भत्केर उनले ७५ वर्षीया आमा कोइरी देवी गुमाएका छन् । उनले पनि मंगलबारसम्म त्रिपाल पाएका छैनन् । ‘थुप्रैले धेरै राहत दिए भन्ने रेडियोबाट सुनेका छौं, तर हाम्रो हातमा र घरमा आइपुगेको छैन,’ उनले भने, ‘चिउरा र चाउचाउचाहिँ लिएर आएका छन् । खानेकुराभन्दा लत्ताकपडा र बास बस्ने त्रिपाल अति आवश्यक छ ।’

उनको छिमेकी बंका कुम्हालको १४ जनाको परिवार छ । तर उनले समेत बासका लागि केही पाएका छैनन् । ‘१४ जनाको परिवार छ, त्यसमा छोराछोरी, भाइ र छोरा बुहारी छन्, कहाँ बस्ने, कसरी बस्ने ?’ उनले भने, ‘हाम्रो समाजमा भाइ र छोरा बुहारी एकै ठाउँ बस्ने चलन छैन् । बस्न, सुत्न त्रिपाल छैन । झुल छैन, लामखुट्टेको टोकाइ खपेर रात बिताएका छौं ।’ सयौं घरबारविहीनको पीडा यस्तै छ । विनाशकारी हुरीबाट २ हजारभन्दा बढी प्रभावित छन् । सुत्केरीसहित सयौं परिवारले तीन दिनदेखि लामखुट्टेको टोकाइ र खुला आकाशको शीत खेप्दै रात बिताइरहेका छन् ।


त्रिपाल अभावले केही परिवारले नजिकका विद्यालय, छिमेकी र आफन्तको घरमा बसेर रात बिताएका छन् । थुप्रै ठाउँबाट राहत घोषणा भए पनि पीडितका हातमा थोरैमात्र परेको छ । खानेकुरामा चिउरा, सख्खर, बिस्कुट, दालमोठ पाइरहेका छन् । लत्ताकपडा र त्रिपाल पाएका छैनन् ।

कतिपयको छाना उडाएकाले घरको अन्नपात छोप्न पाएका छैनन् । घरहरू खण्डहर भएका छन् । प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले गृह मन्त्रालयबाट उपलब्ध त्रिपाल बाँडिएको बताए । ‘अझै अपुग छ,’ उनले भने, ‘जुटाउन प्रयास गर्दै छौं ।’

गैरआवासीय नेपाली संघ (एनआरएन) ले राहत सामग्री नै पुग्न नसकेको महागढीमाई ७, तेलगाई, देवताल गाउँपालिका–७, रमबुर्वा, सुवर्ण गाउँपालिका–४ र ५ को क्रमशः हर्दिया र प्रशुरामपुरका पीडित ५ सय परिवारलाई १० लाख बराबरको खाद्यान्न, बाल्टिन र मग मंगलबार वितरण गरेको छ । वितरणमा खटिएका संघका उपाध्यक्ष कुमार पन्तले राहत वितरण गरिएका यी ठाउँमा त्रिपाल र झुल पुग्न नसकेको बताए ।


नेताहरू सहानुभूति र राहत दिँदै
पीडित परिवारलाई भेट्न आउन उच्चस्तरीय नेताहरूको प्रतिस्पर्धाजस्तै चलेको छ । उनीहरूले पीडितलाई सहानुभूति र राहत दिन घटनास्थलमै पुगिरहेका छन् । उच्चस्तरीय नेताहरूको लर्को लाग्दा घटनास्थलमा दिनदिनै भीड लागिरहेको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार पीडितहरूलाई सम्बोधन गर्दै पीडितको भत्केको घर सरकारले बनाउने भन्दै प्रतिमृतक परिवारलाई पार्टीले ५/५ लाख नगद राहत दिने घोषणा गरे । उनीभन्दा अघि आएर फर्केका कांग्रेस सभापति शेरबहादुर देउवाले पीडितहरूलाई भेट्दै पार्टीले हुरी प्रभावित परिवारका लागि २५ लाख एकमुष्ट राहत दिने घोषणा गरे ।

यसअघि उपसभापति विमलेन्द्र निधिले एकमुष्ट १० लाख राहत दिने घोषणा गरेका थिए । राप्रपाका अध्यक्ष कमल थापाले विपत् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारीलाई हुरीपीडितका लागि ५० हजार नगद राहत सहयोग उपलब्ध गराएका छन् ।

राजपाका शीर्ष नेताहरू राजेन्द्र महतो, अनिल झा, शरदसिंह भण्डारी, फोरमका महासचिव रामसहाय यादव, नवगठित जनमत पार्टीका संयोजक सीके राउतलगायतका नेताहरू घटनास्थल पुगेर सहानुभूति दिएका छन् । यसैगरी नेकपाका प्रदेश २ का अध्यक्ष पूर्वमन्त्री प्रभु साहले पनि राहत सामग्री बाँडेका छन् । डा. गोविन्द केसीले पनि मंगलबार घाइते तथा पीडितहरूलाई भेटेका छन् ।


क्षतिको विवरण छैन
विध्वंसकारी हुरीले भएका भौतिक क्षति सरोकारवालाहरूले अझै संकलन गर्न सकेको छैनन् । स्थानीय तह, प्रशासन, प्रहरी र विषयगत कार्यालयले क्षति यकिन गर्न नसकेका हुन् । लगाइएको बालीनाली, घरमा भित्र्याएको अन्नपात, घरको भौतिक संरचना, नगद, गरगहना वा अन्य सम्पत्तिको लगत अझै संकलन हुन सकेको छैन ।

प्रकाशित : चैत्र २०, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?