कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

हुरी पीडत भन्छन्- बोल्ने धेरै भए, राहत दिने थोरै

बालबालिका र महिला असुरक्षित

फेटा, बारा — फेटा गाउँपालिका–६ स्थित पुरैनियाका मन्जुर आलम बुधबार मध्याह्न देब्रे खुट्टा समात्दै स्वास्थ्य शिविर चाहर्दै थिए । खुट्टा सुन्निएको थियो । नेसनल मेडिकल कलेज वीरगन्जले लगाइदिएको पट्टी खोल्न उनी स्वास्थ्यकर्मीको खोजीमा थिए । घाउ पाकेको थियो । दुखाइ सहन नसकेर छटपटिएका थिए । शिविर पुगेर स्वास्थ्यकर्मीलाई घाउ सफा गरेर पट्टी फेरिदिन आग्रह गरे । 

हुरी पीडत भन्छन्- बोल्ने धेरै भए, राहत दिने थोरै

तर स्वास्थ्यकर्मीले मानेनन् । जुन अस्पतालमा उपचार गराएको हो, त्यहीं गएर पट्टी खोल्न भनेपछि उनी निराश हुँदै घरतिर लागे । भत्किएको घर पुगे । चारैतिर नियाले । अस्थायी टेन्टभित्र पुगेर बसे । स्वास्थ्य शिविरमा उपचार नै पाइएन । उनले निराश हुँदै भने, ‘दुखाइ बढेको छ तर अस्पताल पुग्ने आँटै छैन ।’ उनको पीडा अरूको भन्दा भिन्न छ । खाना खानै लाग्दा आएको ठूलो हुरीमा दुई छोरी गुमाए । ३ मिनेटको समयमा आँखै अगाडि बोली रहेका दुई छोरीहरू १८ वर्षीया सवनम र १० वर्षीया रुविको ज्यान गयो । अरू ३ छोरी घाइते छन् ।

‘अकस्मात हुरी आयो, सबै जना एकै ठाउँमा थियौं,’ उनले भने, ‘छिनभरमा घर ढल्यो, को कता पुरियो केही थाहा पाइएन, एकछिन पछि इँटा पन्छाएर हेर्दा २ छोरीको ज्यान गइसकेको थियो ।’ घाइते छोरीहरू उपचार गराइरहेका छन् । आफैंले उब्जाउ गरेको अन्नले वर्ष दिन खान पुग्दैन । अर्काको खेतबारीमा काम गरेर परिवार पाल्दै आएका थिए । परिवार १५ जनाको छ । राहतका रूपमा टेन्ट पाए । परिवार त्यसैमा बसेका छन् । ठाउँठाउँमा राखिएको शिविरमा पुगेर खाने गरेका छन् । मनमा पीडा छ । फेरि हावाहुरी आए कसरी जोगिने भन्ने पीर पनि उस्तै छ ।

‘घर भत्किएर सबै सामान पुरियो,’ उनले भने, ‘पकाउने भाँडाकुँडा छैन, लाउने लुगा र ओड्ने ओछ्याउने पनि छैन ।’

अहिले गाउँमा राहत बाँड्न प्रतिस्पर्धा छ । तर भाँडाकुँडा वितरण गर्ने कोही आएका छैनन् । प्रभावित स्थानीयको माग पकाउने भाँडाकुँडाको छ । यो वडामा सशस्त्र प्रहरीले सयभन्दा बढी टेन्ट वितरण गरिसकेको छ । वितरण गरिएको टेन्ट ठड्याएर प्रभावितलाई राख्ने काम नेपाली सेनाले गरेको छ । गाउँ अशान्त छ । स्थानीय अझै त्रासमा छन् । हावाहुरी चल्दा झस्किन्छन् । साँझ परेपछि गाउँ अन्धकार बन्छ ।

फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसाद घटनापछि गाउँलेको उद्धारमा खटिँदै आएका छन् । उनका अनुसार अहिले राहत र अस्थायी बासमा विशेष ध्यान दिइएको छ । यो गाउँमा मात्र १८ जनाको ज्यान गएको छ । केन्द्र र प्रदेश सरकारले सोमबार नै सहयोग घोषणा गरिसकेका छन । ठूला पार्टीका शीर्ष नेता आएर गाउँ अवलोकन गर्दै फर्किएका छन् । राहत घोषणाका लागि शीर्ष नेतामा समेत प्रतिस्पर्धा देखिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेता आएर राहत दिने प्रतिबद्धता गर्दै फर्किएका छन् ।


‘बारा आए पनि प्रधानमन्त्री ओली प्रभावित गाउँमै पुग्नु भएन,’ उनले भने, ‘न संघीय सरकारबाट सहयोग पायौं, न प्रदेश सरकारबाट सहयोग पाएका छौं ।’ उनका अनुसार सहयोग घोषणा सबैले गरेका छन् । घोषणा गरेअनुसार सहयोग तत्काल पाउनुपर्ने माग स्थानीयको छ । ‘घोषणा गर्न प्रतिस्पर्धा चल्छ,’ उनले भने, ‘तर कहिले पाउने हो थाहा छैन ।’

सरकारले सहयोग नगरे पनि गाउँपालिकाको विकास बजेट कटाएरै भए पनि प्रभावित गाउँलेलाई सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । ‘पहिला गाउँलेलाई बचाउनुपर्‍यो,’ उनले भने, ‘गाउँले बचाएपछि विकासको काम गरौंला ।’ उनले अहिले तत्काल टेन्टको व्यवस्था गरिए पनि हावाहुरीको समस्या देखापरे विद्यालय, स्वास्थ्यचौकीमा

लगेर राख्ने बताए ।

पानी र शौचालयको समस्या

प्रभावित क्षेत्रमा अहिले पिउने पानी र शौचालयको समस्या देखा परेको छ । जहाँ घर भत्किए, त्यहाँ चापाकल सुकेका छन् । शौचालय भत्किएका छन् । गाउँमा शौचालय नभएपछि त्यसका लागि त्रिपाल गाडेर अस्थायी शौचालय बनाउन लागिएको छ । त्यस्तै खानेपानी संस्थानमार्फत पानीको ट्यांकी ल्याएर राख्ने तयारी गरेको अध्यक्ष अमिरीलालले बताए । उनका अनुसार विद्यालय बन्द छन् । बिहीबारबाट सबै विद्यालय खुल्ने छन् । भत्किएका घरमा विद्यार्थीका किताबसमेत पुरिएका छन् ।

भाँडाकुँडा अभाव

घर भत्किएर सबै पुरिएकाले स्थानीयसँग पकाउने भाँडाकुँडा छैनन् । चामल, दाल, तरकारी बाँड्न प्रतिस्पर्धा चले पनि पकाउने भाँडाकुँडा नहुँदा सामूहिक रूपमा पकाएको ठाउँमा लाइन लागेर खान बाध्य भएको प्रभावित क्षेत्रका स्थानीयले गुनासो गरेका छन् । भत्किएका घरबाट सामान कतै निकालिएको छ, कतै निकाल्न सकिएको छैन ।

निकालेका भाँडाकुँडा फुटेका र कुचिएका छन् । विद्युत् सेवा अवरुद्ध छ । जसले गर्दा स्थानीयले चार्ज गर्न पाएका छैनन् । गाउँका अधिकांश युवा विदेशमा छन् । उनीहरूलाई घटनाबारे जानकारी गराउन सकेका छैनन् । ‘गाउँ अन्धकार छ,’ स्थानीय अगुवा समिमोहमद मियाँले भने, ‘बत्तीको आवश्यकता छ, सोलार बत्ती मात्र राख्न सकिए पनि समस्या हुने थिएन ।’

कच्ची घरमा बढी क्षति

फेटा गाउँपालिकाका इन्जिनियर जाकिर हुसेन अन्सारीका अनुसार कच्ची घरमा सबैभन्दा बढी क्षति भएको छ । ‘प्राविधिक सल्लाहबिना आफ्नै हिसाबले बनाएका घरमा बढी क्षति भएको छ,’ उनले भने, ‘त्यसमा पनि माटोमा इँटा राखेर बनाएका घर बढी परे ।’ पक्की घरमा कम क्षति भएको छ । पहिला प्राविधिक कम थिए, सबै ठाउँमा पुगेर प्राविधिक सल्लाह दिन सक्दैनन् थिए । ‘अहिले संघीयताले गर्दा स्थानीय तहमा प्राविधिक छन्, अब बन्ने घरमा समस्या हुनेछैन, प्राविधिक सल्लाहअनुसार नै बनाउनुपर्छ,’ उनले भने ।

उनका अनुसार रातको समय भएकाले बढी मानवीय क्षति भएको हो । ‘दिउँसो भए मानवीय क्षति कम हुन सक्थ्यो,’ उनले भने, ‘राति खाना खाने समयमा सबै जम्मा भए, त्यही बेला घटना घट्यो, मानवीय क्षति बढी भयो ।’ घटनामा परेर अहिलेसम्म १ हजार ८ सय ९५ घरमा क्षति भएको छ । बारामा २८ र पर्सामा एक जनाको मृत्यु भएको छ । ७ सयभन्दा बढी घाइते छन् ।

महिला असुरक्षित

शक्तिशाली हावाहुरीबाट पीडित महिला र बालबालिका बढी जोखिममा परेका छन् । विपद्ले पीडितहरू यत्रतत्र भएकाले महिलाको सुरक्षामा समस्या देखिएको छ । एकै ठाउँमा बस्नुपर्ने बाध्यता, चर्पी र बास अभावलगायत समस्याले उनीहरूको सुरक्षा जोखिममा परेको हो । कतिपय ठाउँमा महिला र पुरुष एकै ठाउँमा बस्नुपरेको छ ।

‘कतिपय महिलालाई मासिकस्राव भएको छ, त्यसका लागि सेफ्टी छैन, शौच गर्ने चर्पी छैन,’ बालबालिका तथा महिला सुरक्षा क्षेत्रमा काम गर्ने अधिकारकर्मी कृष्णा बस्नेतले भनिन्, ‘बास अभावले एकै ठाउँमा बस्नुपरिरहेको छ ।’ उनका अनुसार कतिपय बालबालिका र महिला अभिभावक गुमाउँदा मानसिक पीडामा छन् ।

‘बालबालिकाहरू बास गुमाएपछि यत्रतत्र छन्,’ उनले भनिन्, ‘विपद्मा बालबालिका र महिलाले थुप्रै समस्या झेल्नुपरेको छ ।’ विपद्पछिको अवस्थामा व्यवस्थापकीय कमजारी भएर बालबालिकाको सुरक्षादेखि उनीहरूको आवश्यक खानेकुरा, खेलकुद तथा पाठ्य सामग्री नहुँदा मानसिक दबाबमा परेको उनले बताइन् । ‘विपद्पछि बालबालिकामा दीर्घकालीन मानसिक असर पर्छ,’ बालबालिकाको सुरक्षा क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनका वरिष्ठ अनुगमन मूल्यांकन संयोजक चन्द्रदेव साहले भने ।

पर्सामा १ र बारामा २८ गरी २९ जनाको मृत्यु भएकोमा १२ महिला र ६ बालबालिका परेका छन् । सात सय हाराहारीमा भएका घाइतेमध्ये धेरैजसो महिला र बालबालिका नै छन् । कतिपय सुत्केरी महिला चोटपटक खेपेर त्रिपालमै बसेका छन् । फेटा गाउँपालिका ६, पुरैनियाकी १६ दिनकी सुत्केरी रेक्मा खातुन र अर्की ६ दिनकी सुत्केरी अमेरु नेशा चोट भए पनि त्रिपालमै बसेका छन् । धेरै बालबालिकाको टाउकोमा चोट छ । ‘विपद्ले बालबालिका र महिला जोखिममा छन्,’ प्रहरीअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रका एक प्रहरी अधिकृतले भने ।

हुरी प्रभावित ठाउँका विद्यालय चार दिनयता बन्द छन् । हुरीअघिदेखि जारी वार्षिक परीक्षा रोकिएको छ । राहत सामग्री स्टोर गर्ने र हुरीले घरबारविहीन भएकाको ओत लाग्ने उपयुक्त ठाउँ विद्यालय नै भएको छ । हुरीले प्रभावित झन्डै दुई हजार परिवारका सयौं बालबालिकाको घर भत्किएकाले कापी, किताब, कलम, खेलकुदलगायत सामग्री हराएका छन् ।

सुत्केरीको समस्या कान्तिपुरमा छापिएपछि नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालले हुरीको चपेटामा परेकी यहाँकी दुई सुत्केरीलाई राहत सहयोग गरेकी छन् । फेटा गाउँपालिका ६, पुरैनियाकी १६ दिनकी सुत्केरी रेक्मा खातुन र अर्की ६ दिनकी सुत्केरी अमेरु नेशालाई कपडा, शिशुलाई खुवाइने दूधलगायत सामग्री दिएर राहत सहयोग गरेकी हुन्।

प्रकाशित : चैत्र २१, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?