कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

२८ वर्षमा ७ पटक फुट्यो राप्रपा

दीपेन्द्र विष्ट

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का उपाध्यक्ष दीपक बोहरा अध्यक्ष पशुपतिशमशेर राणालाई छाडेर कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका छन् । राप्रपा (प्रजातान्त्रिक) मा रहँदा बोहरा राणाका विश्वासपात्र मानिन्थे । जयन्त चन्द भने थापा नेतृत्वको महामन्त्री पद छाडेर राप्रपा प्रजातान्त्रिक प्रवेश गरेका छन् ।

२८ वर्षमा ७ पटक फुट्यो राप्रपा

पछिल्लो पटक दुवै पार्टीको राजनीतिक कार्यदिशा फरक देखिँदैन । हिन्दुराज्य, संवैधानिक राजतन्त्र, सृढृढ स्थानीय शासन प्रणाली दुवै पार्टीका मुख्य मुद्दा हुन् । ‘कहीं विचार मिल्छ, कहीं मन मिल्दैन, कहीं मन मिल्छ विचार मिल्दैन,’ राप्रपा प्रजातान्त्रिकका पूर्ववरिष्ठ नेता केशरबहादुर विष्टले भने, ‘बोहरा पछिल्लो पटक पार्टीका पूर्वमण्डले साथीहरूसँग गएका हुन् । कतै न कतै मण्डलेको कुरा मिलिहाल्छ ।’ विचार र सिद्धान्त नमिले मात्र पार्टी परिवर्तन हुने गरेको उल्लेख गर्दै उनले व्यक्तिगत कुरा नमिल्दासमेत डेरा सर्ने प्रवृत्ति रहने बताए । पछिल्लो पटक थापासँग जाने नेता ‘मण्डले’ पृष्ठभूमिका रहेको उनले बताए ।


नेता बोहरा व्यक्तिगत ‘इगो’ का कारण राप्रपा फुट्ने र जुट्ने गरेको बताउँछन् । गत कात्तिक २६ मा राप्रपा प्रजातान्त्रिक, एकीकृत राप्रपा राष्ट्रवादी र राप्रपा एकीकरण गर्ने तयारी भए पनि अन्तिम समय असफल भएको थियो । त्यसपछि राणा र प्रकाशचन्द्र लोहनी एक स्थानमा उभिए भने थापा अलग छन् । बोहरा अहिले पनि आफू पार्टी एकीकरणको पक्षमा भएको बताउँछन् । स्थापनाकालदेखि पार्टीमा व्यक्तिवादी चरित्र हाबी भएको उनले बताए ।

राप्रपा संयुक्तको नेतृत्व राणा र लोहनीले गरेका छन् भने राप्रपाको नेतृत्व थापाले गरेका छन् । प्रजातन्त्र पुनर्बहालीपछि पूर्वपञ्चले २०४७ जेठ १५ गते एकै दिन राप्रपा (थापा) र राप्रपा (चन्द) पार्टी खोलेका थिए । एउटाको नेतृत्व सूर्यबहादुर थापा र अर्कोको नेतृत्व लोकेन्द्रबहादुर चन्दले गरेका थिए । यी दुई पार्टीमा ७ पटक फुट, ७ पटक जुट भएको छ । अधिकांश समय पञ्च समूहको नेतृत्व थापा र चन्दले गरे ।

‘व्यक्तिगत टकरावका कारण चन्द र थापा एक ठाउँमा बस्न सकेनन्,’ राप्रपाका एक केन्द्रीय सदस्य भने, ‘त्यहीअन्तर्गत अन्य नेताको पनि गुट बदल्ने प्रवृत्ति जारी छ ।’ राप्रपा (प्रजातान्क्रिक) मा वित्रम पाण्डे, ध्रुवबहादुर प्रधान र सुनिल थापाका कारण आफूलाई असुरक्षित महसुस गरेर बोहरा थापासँग मिल्न गएको ती नेताले बताए । जालझेलमै पार्टी उदय भएकाले यसको असर सधैँ रहने ती नेताले बताए ।


२०४९ को स्थानीय निर्वाचनमा थापा र चन्दले पार्टी एकीकरण गरेर राष्ट्रिय प्रजातन्त्र पार्टीको गठन गरेका थिए । २०५१ को मध्यावधि निर्वाचनमा २० वटा निर्वाचन क्षेत्रमा राप्रपा विजय भयो । थापा र चन्द पालैपालो प्रधानमन्त्री भए, अन्य १८ जना मन्त्री भए । ‘पञ्चले आफ्नो मण्डले चरित्र कहिल्यै सच्याएनन्,’ ती सदस्यले भने ।

२०५४ मा पार्टी विभाजन भएपछि चन्दको नेतृत्वमा राजेश्वर देवकोटा, पद्मसुन्दर लावतीसहित राप्रपा राष्ट्रवादी गठन भयो । २०५६ मा राप्रपाले ११ सिट जित्यो भने, राष्ट्रवादीले कुनै सिट जितेन । त्यसपछि राप्रपा एकता गर्दा थापा र चन्द एक ठाउँमा उभिए भने देवकोटाले राष्ट्रवादी पार्टीकै नेतृत्व गरे । २०५९ को शाही कुपछि लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भए । प्रधानमन्त्री छँदै पोखरामा राप्रपाको तेस्रो महाधिवेशन भयो । पशुपतिशमशेर राणा अध्यक्षमा निर्वाचित भए । महाधिवेशनपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले सूर्यबहादुर थापालाई प्रधानमन्क्रीमा नियुत्त गरे । जसमा लोहनी अर्थ र कमल थापा गृहमन्त्री थिए ।

२०६१ मा सूर्यबहादुर थापाले राजीनामा दिएपछि राजाको कदमलाई हेर्ने दृष्टिकोणमा राप्रपाभित्र मतभेद देखियो । थापा प्रधानमन्त्री भएकै अवस्थामा राणा राजाको कदमविरुद्ध सडकमै ओर्लिए । थापा प्रधानमन्त्रीबाट हटेपछि उनीलगायतका नेताहरूले बृहत् राजनीतिक सम्मेलन आयोजना समिति गठन गरेर छुट्टै कार्यालय खोले । राप्रपाभित्र विद्रोह भन्दै अर्कै झन्डासमेत बनाए । २०६१ माघ १९ को कदमपछि सूर्यबहादुर थापासँग सैद्धान्तिक अस्पष्टता भन्दै कमल थापा राप्रपामै फर्किए र महामन्त्री भए । पछि कमल थापाले राप्रपा विभाजन गरी आफ्नै नेतृत्वमा राप्रपा नेपाल गठन गरे ।

२०६३ वैशाख ११ गते प्रतिनिधिसभा पुनःस्थापनापछि जनआन्दोलनका दोषी भन्दै कमल थापालाई ३ महिना थुनियो । शर्मा पार्टी अध्यक्ष भए । संविधानसभामा थापा नेतृत्वको राप्रपा नेपालले ४ सिट प्राप्त गर्‍यो । ‘निर्वाचनमा भाग नलिएको भए पार्टी अप्रजातान्क्रिक शत्तिका रूपमा दर्ज हुन्थ्यो,’ राप्रपा प्रचारप्रसार विभाग प्रमुख मोहन श्रेष्ठले भने, ‘निर्वाचनमा सहभागिता पार्टीको राम्रो सुझबुझ थियो ।’ दोस्रो संविधानमा राप्रपा नेपालले २४ र राप्रपाले १२ सिट पाए । त्यसपछि राप्रपा र सूर्यबहादुर थापा नेतृत्वको जनशक्ति पार्टी एकता भई राप्रपा गठन भयो ।

प्रकाशित : चैत्र २१, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?