हुरी प्रभावितलाई राहत - कतै फालाफाल, कतै पुग्दै पुगेन

हावाहुरी प्रभावितलाई राहत
शंकर आचार्य

पर्सा — शक्तिशाली हुरी प्रभावित बाराका विभिन्न गाउँमा खाद्यान्न र त्रिपाललगायत राहत सामग्री पुगे पनि अत्यावश्यक र आधारभूत सेवा पुग्न सकेको छैन  । पीडितलाई पकाउने भाँडाकुँडाका साथै स्वास्थ्य, खानेपानीलगायतको जोहो तत्काल गर्नुपर्ने देखिएको राहत वितरणमा खटिएकाहरूले बताएका छन्  ।

हुरी प्रभावितलाई राहत - कतै फालाफाल, कतै पुग्दै पुगेन

उनीहरूका अनुसार पीडितलाई चामल, दाल, तेल, नुनदेखि चाउचाउ र बिस्कुट आदि वितरण गरिएको छ तर पकाउने भाँडा नहुँदा काँचै खानुपर्ने अवस्था छ । ‘दाल, चामल दिइयो तर ती खाद्यान्न केमा पकाउने भन्ने दाताले बुझिदिएनन्,’ राहत वितरणमा जुटेका वीरगन्जका प्रकाश थारूले भने, ‘हुरीले उनीहरूको सबथोक उडाएको छ ।’

अधिकांश पीडित चाउचाउ, बिस्कुट, चिउरा आदि खाएर बस्न बाध्य छन् । दाल, चामल साथमा भए पनि पकाएर खान नपाएको उनीहरूको गुनासो छ । यसबाहेक पीडितलाई दाँत माझ्ने ब्रस, मन्जन, महिनावारी भएका महिलालाई सेनेटरी प्याड आदि आवश्यक रहेको थारूले बताए ।


अति प्रभावित बाराको फेटा, पुरैनिया, भलुही भरबलियालगायत गाउँमा हुरीले स्थानीयको १ सय ५० बढी चापाकल उखेलेकाले खानेपानीदेखि दैनिक उपभोगका लागि चाहिने पानीको समेत अभाव भएको छ ।

‘दाताले खाद्यान्न, त्रिपाल र लत्ताकपडा मात्र नभई पीडितको चापाकल मर्मत गर्ने, उनीहरूलाई साबुन, टुथपेस्ट आदिसमेत उपलब्ध गराउन सके ठूलो राहत हुन्थ्यो,’ राहत वितरणमा जुटेका जनकपुरका सरोज रायले भने, ‘यसका लागि ठूलो बजेट चाहिँदैन, मन भए पुग्छ ।’

वितरण प्रक्रिया हचुवा र अव्यवस्थित ढंगबाट भइरहेकाले केही पीडितले राहत नपाएको र केही गाउँका पीडितले आवश्यकताभन्दा बढी पाएको उनले बताए । उनका अनुसार कलैयापूर्वका गाउँमा करिब ४ सय ५० पीडित परिवार अझै राहतबाट वञ्चित रहेको र खुला आकाशमुनि रात बिताइरहेका छन् ।

‘बाराको कलैयाभन्दा वर तथा कलैया–वीरगन्ज सडकभन्दा दक्षिणतर्फ रहेका भलुही, फेटा, पुरैनियामा राहत ओइरिएको छ,’ उनले भने, ‘कलैयादेखि पूर्व तेलगाई, बेनौली पचरौता, हर्दिया प्रशुरामपुर आदि गाउँमा बुधबारसम्म पर्याप्त राहत पुगेको छैन ।’ स्वास्थ्योपचारका लागि समेत कुनै टोली नपुगेको उनले जानकारी दिए ।

प्रकाशित : चैत्र २१, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?