प्रश्न चोर्ने प्रहरी नक्कली परीक्षार्थी 

अवधेशकुमार झा

राजविराज — एसईईको प्रश्नपत्र परीक्षाअघि नै सार्वजनिक गर्ने कार्यमा दुई प्रहरी जवान, एक शिक्षकसहित ६ जनाको संलग्नता देखिएको छ । विज्ञान र सामाजिक विषयको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा पक्राउ परेका ६ जनालाई नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा सार्वजनिक गरेको छ ।

प्रश्न चोर्ने प्रहरी नक्कली परीक्षार्थी 

सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी जवानद्वय सप्तरीको राजविराज–१० का ब्रह्मदेव सुनरैत र कञ्चनरूप ६ का दीपेन्द्रकुमार मण्डलसँगै राजविराज–१० का विष्णुदेव यादव, राजविराज–१६ का मनोज यादव, हनुमाननगर कंकालिनी–१ का राजेश यादव र उमेश यादवलाई सार्वजनिक गरिएको हो ।

पक्राउ गरिएका प्रहरी जवानद्वयमध्ये दीपेन्द्र एसईईका परीक्षार्थीसमेत हुन् । विष्णुदेव अर्का प्रहरी जवान सुनरैतका दाजु हुन् । मनोज यादव शिक्षक हुन् । राजेश र उमेश उच्च शिक्षा अध्ययनरत विद्यार्थी हुन् । गत चैत १४ गते हुने भनिएको अनिवार्य विज्ञान विषयको प्रश्नपत्र त्यही दिन बिहान ७ बजे तथा भोलिपल्टका लागि तोकिएको अनिवार्य सामाजिक अध्ययन विषयको प्रश्नपत्र एक दिन अगावै सार्वजनिक भएका थिए । परीक्षा बोर्डले विज्ञान विषयको परीक्षा रद्द गरेको थियो भने सामाजिकलगायत अन्य विषयको परीक्षा स्थगन गरेको थियो ।




परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको घटनाबारे छानबिन गर्न परीक्षा बोर्ड र प्रदेश नम्बर २ को सरकारले छुट्टाछुट्टै समिति बनाएका थिए । परीक्षा बोर्डले नै गृह मन्त्रालयमार्फत आग्रह गरेपछि सीआईबीले छानबिन सुरु गरेको थियो । सीआईबीले यसमा प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली तथा जिल्ला प्रहरी कार्यालय सप्तरीको छानबिन टोलीसित सहकार्य गरेको थियो ।

कसरी बाहिरियो प्रश्नपत्र ?

सीआईबी प्रमुख डीआईजी नीरजबहादुर शाहीका अनुसार प्रहरी कार्यालयबाट प्रश्नपत्र चोर्ने कार्यमा प्रहरी जवानद्वय सुनरैत र मण्डल प्रत्यक्ष संलग्न थिए । ‘प्रारम्भमा प्रहरी जवान दीपेन्द्रकुमार मण्डललाई परीक्षा पास गराउनमात्र प्रश्न चोरिएको देखिए पनि पछि बिक्री गर्ने उद्देश्य राखेको पाइयो,’ डीआईजी शाहीले बताए ।


कल्याणपुर इलाका प्रहरी कार्यालयमा जनता मावि बनिनिया र रादु माविको प्रश्नपत्र राखिएको थियो । प्रहरी जवान मण्डल बरहथवा मावि परीक्षा केन्द्रका परीक्षार्थी थिए । दुइटा परीक्षा केन्द्रको प्रश्नपत्र आफू कार्यरत प्रहरी कार्यालयमै राखिएपछि परीक्षामा सामेल प्रहरी जवान मण्डलले प्रश्नपत्र चोरीको योजना बनाएका थिए । उनले योजना सुनाएपछि साथ दिन अर्का प्रहरी जवान सुनरैत तयार भए ।

प्रहरी जवान सुनरैत इलाका प्रहरी कार्यालय कल्याणपुरमा क्वाटर मास्टर (स्टोर किपर) को सहायक थिए । प्रश्नपत्र क्वाटर मास्टरकै रेखदेखमा थियो । क्वाटर मास्टर प्रहरी हवल्दारलगायत सबै प्रहरी रातिको खाना खान गएका बेला सुनरैत र मण्डलले प्रश्नपत्र निकालेका थिए ।

‘एक जनाले बाहिर कोही आउँदै छ, छैन भनेर हेर्न ड्युटी बसेको र अर्कोले प्रश्नपत्र निकालेको पाइयो,’ डीआईजी शाहीले भने, ‘क्वाटर मास्टर हवल्दारको ब्यागको चेन उप्काएर साँचो निकाली प्रश्नपत्र रहेको कोठा खोलेको देखिन्छ । कोठा खोलेर प्रश्नपत्र निकाली फोटो खिचेर फेरि प्रश्नपत्र पोकामै राखेको देखिएको छ ।’

उनीहरूले एकै दिन विज्ञान र सामाजिक विषयको प्रश्नपत्र निकालेको अनुसन्धानबाट खुलेको छ । दुवै प्रहरीले आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् ।

प्रहरी जवान सुनरैतले इमोमार्फत सप्तरीमा रहेका आफ्ना दाजु विष्णुदेवलाई प्रश्नपत्र पठाएका थिए । विष्णुदेवले मनोजलाई प्रश्नपत्र बेचेका थिए । शिक्षक मनोजले पनि पैसा लिएर राजेशलाई र राजेशले उमेशलाई पैसा लिँदै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र दिएका थिए । प्रश्नपत्र उमेशकहाँ पुगेपछि सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको सीआईबीको ठहर छ ।

‘सुरुवाती चरणमा एक हजारदेखि पन्ध्र सय रुपैयाँसम्ममा प्रश्नपक्र बित्री भएको खुलेको छ,’ डीआईजी शाहीले भने, ‘विद्यार्थीलाई प्रश्नपत्र उपलब्ध गराउँदा रकमको खेल भयो र पछि सामाजिक सञ्जालमै छ्यापछ्याप्ती भयो ।’

प्रश्नपत्र सार्वजनिक हुनुमा इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख प्रहरी नायब निरीक्षक तुलसी भट्टराईको संलग्नता नदेखिएको डीआईजी शाहीले बताए । ‘तर प्रश्नपत्र सुरक्षाको जिम्मेवारी पूरा गर्न नसकेकाले प्रदेश प्रहरी कार्यालयमार्फत उनीमाथि कारबाही हुन्छ,’ डीआईजी शाहीले भने ।

परीक्षाअगावै प्रश्नपत्र चोरी गर्ने प्रहरी जवान सुनरैतले अर्काको नाममा तीन दिनसम्म एसईई परीक्षा दिएको सीआईबीको अनुसन्धानमा खुलेको छ । एसईईका परीक्षार्थी अर्का प्रहरी जवान मण्डलको परीक्षा ब्रह्मदेवले दिएका हुन् । सीआईबी प्रमुख डीआईजी शाहीका अनुसार प्रवेशपत्रमा मण्डलको फोटो निकालेर आफ्नो फोटो हाली सुनरैतले परीक्षा दिएका थिए । उनले प्रधानाध्यापकको छाप चोरी गरी आफ्नो फोटोमा लगाएको खुलेको शाहीले बताए ।

पक्राउ गरिएकाहरूको मोबाइलको नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा परीक्षण भइरहेको जानकारी दिँदै डीआईजी शाहीले परीक्षणपछि थप कुरा खुल्ने बताए । पक्राउ गरिएका प्रहरी जवानद्वयमाथि शिक्षा ऐन र विशेष प्रहरी ऐन दुवैअनुसार कारबाही हुने तथा अन्य चार जनाको हकमा परीक्षा ऐनअनुसार कारबाही चलाइने उनले जानकारी दिए । शिक्षा ऐनमा परीक्षामा असर पुग्ने काम गरे ६ महिना जेल र १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रकाशित : चैत्र २२, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?