३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

राहत वितरण भद्रगोल

बारा — विनाशकारी हुरीबाट प्रभावित सयौं परिवारलाई गरिने राहत वितरण भद्रगोल देखिएको छ  । समन्वय अभावले राहत वितरण व्यवस्थित र प्रभावकारी बन्न सकेको छैन  ।

राहत वितरण भद्रगोल

विपद् व्यवस्थापन समितिले राहत कोष सञ्चालन र राहतका लागि आह्वान गर्ने निर्णयबाहेक व्यवस्थापकीय पक्षलाई प्रभावकारी बनाउन सकेको छैन ।


अधिकांश राहत एकै ठाउँमा केन्द्रित भइरहेको छ । भद्रगोल अवस्थाले राहत कतै फालाफाल र कतै अभाव छ । समितिले एकद्वार प्रणालीबाट वितरण गर्ने भनिए पनि प्रभावकारी बन्न सकेको छैन । चाउचाउ, चिउरा, बिस्कुट, पानी वितरण गर्नेहरूको तँछाडमछाड चलिरहेको छ । प्रभावित क्षेत्रमा दिनहुँ मेला झैं लागिरहेको छ ।


राहत वितरणमा कुनै प्रकारको सोधनी वा व्यवस्थित गर्ने कतैबाट भएको छैन । राहतभन्दा बढी सेल्फी, फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेको संख्याले प्रभावित क्षेत्र भरिएको छ । ‘व्यवस्थापनका लागि कोसिस गरेका छौं, तर सोचेअनुसार भइरहेको छैन, राज्यका तीनै तहका सरकारसित समन्वय गर्न चुनौती भइरहेको छ,’ विपद् व्यवस्थापन समितिका संयोक प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले भने, ‘३ वटा सरकारको तालमेल मिलाउन सकिएको छैन ।’


राज्यका जिम्मेवार व्यक्तिबाट नै प्रभावित क्षेत्रको सूचना प्रवाह गलत ढंगले भइरहेको उनले बताए । ‘प्रदेशका एक मन्त्रीले मृतकको संख्या नै सञ्चारमाध्यममा आफूखुसी भनिदिँदा तनाव भयो,’ उनले भने, ‘आइरहेको राहत पनि कसरी पीडितका हातमा पुर्‍याउने भन्ने समस्या भइरहेको छ । कुन सरकारबाट राहत व्यवस्थित गर्ने भन्ने अन्योल छ ।’


गाउँपालिकाबाट समन्वय गर्न खोज्दा सम्भव हुन नसकेको हुरीबाट सबभन्दा बढी प्रभावित फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले बताए । ‘मनपरी ढंगले आफ्नो आफ्नो प्रचारका लागि राहत वितरण गरिएको छ,’ उनले भने, ‘बिहीबार गाउँपालिकाको बैठक बसेर एकद्वार प्रणलीबाट राहत वितरण गर्न निर्णय गरेका छौं । र त्यसका लागि समिति पनि बनाएको छु ।’


प्रकाशित : चैत्र २२, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?