विपत्तिको सधैं त्रास

बारा — हिउँद होस् वा वर्षात् । जाडो किन नहोस् । तराई–मधेसका जिल्लामा प्राकृतिक विपत्तिको सधैं त्रास हुन्छ । आगलागी, हावाहुरी, शीतलहर र बाढीका कारण बर्सेनि सयौंले ज्यान गुमाउँछन् ।

विपत्तिको सधैं त्रास

यस्तो विपत्तिमा सहरभन्दा भित्री गाउँ बढी प्रभावित बन्ने गर्छन् । आइतबार साँझ मात्रै बारा र पर्सामा हावाहुरीले २८ जनाको ज्यान लियो । ७ सयभन्दा बढी मानिस घाइते भए । कच्ची घरहरू ढले । रूखबिरुवा सोझो रहेनन् । बाढी आउँदा मधेसका भित्री गाउँ डुबानमा पर्छन् । सुक्खा समयमा आगलागीको जोखिम उच्च हुन्छ ।


शीतलहरले बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित बन्छन् । यस्ता विपत्तिले आयस्तर न्यून भएका सर्वसाधारणलाई बढी सास्ती हुन्छ । त्यस्ता क्षेत्रमा अव्यवस्थित बसोबास र स्वच्छ खानेपानी तथा शौचालयको समस्या हुनाले कुनै प्राकृतिक विपत्ति आइलागे महामारीको जोखिम पनि उच्च हुन्छ ।


हावाहुरीका कारण भर्खरै १८ जनाको ज्यान गएको फेटा गाउँपालिकाका इन्जिनियर जाकिर हुसेन भन्छन्, ‘पक्की घरमा केही भएन । कच्ची सबै ढलेका छन् । प्राविधिक सल्लाहबिना बनाइएका घरमा क्षति बढी भएको छ ।’ उनले गाउँ, नगरमा प्राविधिक सल्लाहबिना घर बनाउन दिन नहुने बताए । प्राकृतिक विपत्तिबाट हुने क्षति कम गर्न सरकारले व्यवस्थित र वैज्ञानिक बसोबास गराउनुपर्ने विज्ञहरू सुझाव दिन्छन् ।


‘भौतिक संरचनाहरू वैज्ञानिक र सुरक्षित नभएकाले नै बाढी, आगजनी, हुरीबतासबाट मानवीय तथा धनजनको क्षति हुँदै आएको छ,’ समाजशास्त्री वीरेन्द्र साहले भने । उनले मधेस कृषिबाट भर्खर व्यावसायिक खेती र रोजगारीतिर लागेको बताए ।


‘अलिअलि रोजगार भएकाहरूले थोरैथोरै पैसा जम्मा गरेर पाँच/छ इन्च गारो भएका घर बनाए,’ उनले भने, ‘ती संरचना सुरक्षितभन्दा पनि ओत लाग्ने मात्र भए, मजबुत घर बनाउन आर्थिक अभाव मुख्य बाधा बन्यो । आर्थिक हैसियत न्यून भएका कारण संरचना बलिया बन्न सकेनन्, वैज्ञानिक ढंगले बनेनन् ।’ सुरक्षित बनाउने भन्दा पनि तत्काल जे छ, त्यही गरिहाल्ने पद्धतिका कारण जोखिम बढेको उनको भनाइ छ ।


तराईमा अव्यवस्थित बसोबासको मुख्य समस्या छ । हावा राम्ररी पास नहुने गरी घर बनाइएका हुन्छन् । ‘ढलको निकास छैन,’ साहले भने, ‘आगलागी भयो भने जाने बाटो हुँदैन । राज्य र सबैले यस विषयमा सोच्नुपर्छ ।’ उनले भर्खरै क्षति पुगेको ठाउँमा व्यवस्थित बसोबास मिलाउनुपर्ने उनको सुझाव छ । ‘पानी, बाटोघाटो, खुला ठाउँ र ढलको राम्रो व्यवस्था हुनुपर्छ । हरेक विपत्तिले यही हामीलाई सिकाएको छ,’ उनले भने ।


गत भदौमा रौतहटको लालबकैया नदीको टिकुलिया घाटमा खेतमा काम गर्न गएका डुंगा दुर्घटनामा परे । ५ जनाको ज्यान गयो । २४ जनाले पौडिएर ज्यान जोगाए । नदीमा पुल नहुँदा डुंगामा गएकाहरू दुर्घटनामा परेका थिए ।


भित्री गाउँमा बसोबास गर्ने प्रायः मानिस ज्यालामजदुरी गरेर परिवार पाल्छन् । वीरगन्जका बुद्धिजीवी विनोद गुप्ता सहरको बसोबाससमेत व्यवस्थित नरहेको बताउँछन् । ‘सहरी क्षेत्रको बीचमा रहेका गाउँहरूले बजेट पाउँदैनन्,’ उनले भने, ‘रोड बने, तर ठूला नदीमा तटबन्ध बनाउने, बाढी नियन्त्रण गर्ने काम भएको छैन । गाउँपालिकाको बजेटले यी काम गर्न पुग्दैन । भारतसँग कुरा गर्न सक्दैनौं, उसले आफूतिर बाँध बनाइदिएको छ जसका कारण नेपालको सीमावर्ती क्षेत्रमा पानीको निकास हुँदैन ।’


विपत्ति बढ्नुको एक कारण नदीहरूको दोहन पनि हो । जथाभावी नदी उत्खनन गरी बालुवा, गिट्टी र ढुंगा झिक्दा चुरेका मुहान सुक्दै गएका छन् । भूमिगत जलस्रोत निख्रिँदै गएको छ । ‘वीरगन्जमै पानीको समस्या देखा पर्न थालेको छ,’ गुप्ताले भने ।


मधेसविज्ञ सुरेन्द्र लाभ कच्ची घरहरू बढी हुनाले मधेसमा प्राकृतिक विपत्तिले क्षति गर्ने गरेको बताउँछन् । ‘अब पक्की घर नबनाई हुँदैन । हेलचेक्र्याइँ गर्दा प्रकृतिले आफ्नो खेला देखाउँछ,’ उनले भने, ‘न्यून आयस्तर भएका परिवारका लागि बलियो र व्यवस्थित घर बनाइदिन सरकारले प्राथमिकता दिनुपर्छ । सरकारले गरिबकेन्द्रित योजना नबनाएसम्म बाढी, आगलागी र जाडोबाट तराईमा बढी क्षति भइरहन्छ ।’ उनले गरिब परिवारलाई सहज रूपमा बाँच्न सक्ने योजना ल्याउन जरुरी रहेको बताए ।


प्रकाशित : चैत्र २२, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?