सुनसरीको भूटाहामा स्थानीय र प्रहरीबीच झडप, गोली प्रहारबाट दुई घाइते

प्रदीप मेन्याङ्बो

(सुनसरी) — सुनसरीको भोक्राहास्थित भारतीय सीमा नाकामा प्रहरी र स्थानीयबीच झडपमा गोली प्रहार हुँदा शुक्रबार साँझ दुई जना घाइते भएका छन् । सुनसरीका एसपी राजन अधिकारीका अनुसार सीमा नाकामा भारतबाट ल्याइएको सामान चेकजाँचमा विवाद भएपछि झडप भएको हो ।

झडपमा प्रहरीले पेस्तोलबाट एक राउण्ड गोली प्रहार गरेका थिए ।


भोक्रा सीमा नाकामा प्रहरी इन्चार्ज चन्द्रकुमार शाक्यमाथि हातपात भएको र उनी घाइते भएका छन् । प्रहरीमाथि हातपात भएपछि प्रहरीले गोली प्रहार गर्दा स्थानीय ज्याउल अन्सारी घाइते भएका छन् । एसपी अधिकारीका अनुसार दुवै घाइतेको उपचार गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । भारतको विहारमा चुनावी माहोल चलिरहेकाले त्यसलाई पनि मध्यनजर गर्दै सीमा नाकामा कडाइ गरिएको बेला स्थानीय र प्रहरीबीच झडप भएको हो । स्थानीय बासिन्दाले आफूहरुमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाएका छन् भने प्रहरीले स्थानीय बासिन्दाले पेस्तोल खोसेको आरोप लगाएको छ ।


घटनालाई थप उत्तेजित हुन नदिन जिल्ला प्रहरी कार्यालयले डिएसपी ज्ञानेन्द्र फुयालको कमाण्डमा थप प्रहरीहरु पठाएको एसपी अधिकारीले बताए । घटनास्थल पुगेका डिएसपी फुयालले स्थिति नियन्त्रणमा आइसकेको बताए । उनले भने, 'विवादपछि झडप हुनुको कारण खोज्दै छौं । स्थानीय बासिन्दा र प्रहरीबीच कसरी झडप भएको हो पत्ता लगाउने प्रयास गरिरहेका छौं ।


प्रकाशित : चैत्र २२, २०७५ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?