विजयपुर गढी कसको ?

काठमाडौं/धरान — डेढ शताब्दीअघि मणि मुकुन्द सेनको राज्य विस्तारसँग जोडिएको ऐतिहासिक स्थल विजयपुर गढी क्षेत्रमा मनलाग्दी जग्गा हडप्ने प्रक्रिया र सुकुम्बासी बसोबास बढेको छ । राजनीतिक पहुँच र प्रभावका भरमा जग्गा हडपिँदा विजयपुर दरबार तथा गढी झन्डै एक बिघा क्षेत्रफलबाट खुम्चिएर केही कट्ठामा सीमित भएको छ ।

विजयपुर गढी कसको ?

गढीको माथिल्लो पर्खालमा पुग्न पूर्वअञ्चलाधीश अम्बिकाप्रसाद श्रेष्ठको घरगेट नाघेर जानुपर्छ भने आसपासका जग्गामा विभिन्न संरचना निर्माण भइरहेका छन् । ऐतिहासिक स्थलको सग्लो नक्साअनुसार २०१७ सालमा भएको नापीमा ‘ऐलानी ब्लक’ देखिन्छ । ‘२०४६ अघिसम्म गढी क्षेत्र सुरक्षित थियो,’ गढीसँग घर जोडेर बसेका अम्बिकाप्रसादका छोरा सम्राटले कान्तिपुरसँग फोनमा भने, ‘त्यसपछि कहिले सुकुम्बासी बस्तीका नाममा, कहिले अरू नाममा गढीको जग्गा मिचिएको छ ।’


उनले आफ्नो घरदेखि २ कित्ता अगाडि गढी क्षेत्र रहेको दाबी गरे । सम्राटले धरानका तत्कालीन उपमेयर कृष्णनारायण पालिखेले गढी नजिकैको केही जमिन गुम्बाका लागि बेचेको र अरू जमिन पनि किनबेच भइरहेको बताए ।


स्थानीय बासिन्दा एवं सम्पदाप्रेमी कमल तिगेलाले गढी क्षेत्रमा ऐतिहासिक ढुंगा/सामग्री यत्रतत्र छरिएर रहेको जानकारी दिए । ‘माओवादी प्रभाव बढेका बेला यो क्षेत्रमा सुकुम्बासी बसोबास गराइएको हो,’ उनले भने, ‘झन्डै दुई दर्जन घरपरिवार अहिले पनि बसिरहेका छन् ।’


बस्ती राखेकै बेला भएको उत्खननमा त्यहाँ पुरातात्त्विक महत्त्वका भाला, हतियार भेटिएको सुनाउँदै उनले केही भाला पुरातत्त्व विभागले लगेको बताए । आफूले समेत स्थानीय युवासँग एउटा भाला २ हजार रुपैयाँमा किनेको उनले जानकारी दिए । ‘त्यो भाला मेरो घरमा सुरक्षित छ,’ तिगेलाले भने ।


गत साता विजयपुर गढी क्षेत्र भ्रमणका क्रममा स्थानीय बासिन्दाले पूर्वअञ्चलाधीश श्रेष्ठले विजयपुर गढीका सयभन्दा बढी पुरातात्त्विक महत्त्वका ढुंगा साथैमा राखेको सुनाए । उक्त गढीमा २०१५ सालसम्म ठूला दुइटा तोप राखिएको थियो ।


तत्कालीन बडाहाकिम भूपालमानसिंह कार्कीले ती तोप मोरङको रंगेलीमा लगेको बारे स्थानीय बूढापाका जानकार छन् । ‘सेनहरूको गढी रहेको प्रमाणमा जहिल्यै पनि गढीसामु गणेशको मूर्ति र इनार राखिएको हुन्छ,’ स्थानीय ९० वर्षीय एक जानकारले भने, ‘अहिले यो इनार पनि व्यक्तिगत जमिनमा घेरा गरेर राखिएको छ ।’


नेपाल र एसियाली अनुसन्धान केन्द्रले २०५५ सालमा निकालेको डिल्लीराज शर्माकृत ‘नेपालको किल्ला वास्तुकला’ पुस्तकमा विजयपुर गढीको इतिवृत्ति छ । अर्का इतिहासविद् इमानसिंह चेम्जोङले ‘किरात इतिहास’ कृतिमा विजयपुर गढी र दरबारबारे लेखेका छन् ।


‘धरान बजारको पूर्वी भागको केही उँचो डाँडोमा विजयपुर छ । दरबार भने विजयपुरको उत्तर सालघारीभित्र छ । यो दरबारको अवशेष नै हो भन्ने यहाँ वरिपरि छरिएका इँटाका टुक्राले संकेत गर्छ । यहाँ दरबार रहेको विशेष चिहनका रूपमा खण्डहरमाथि बनाइएका चौपारीबाट पनि थाहा पाउन सकिन्छ ।


कुनै बेला उच्च स्थान लिएको यो दरबारका धेरै इँटा स्थानीय मानिसले लगी व्यक्तिगत रूपमा प्रयोग गरेका थिए । यसैले पनि यसको स्वरूप चाँडै विलिन हुन गयो,’ शर्माको पुस्तकमा लेखिएको छ । स्थानीय बासिन्दा एवं संस्कृति–सभ्यतामा सरोकार राख्ने सञ्चारकर्मी भैरव आङ्ला विजयपुरले भने, ‘संस्कृति मन्त्रालय, पुरातत्त्व विभाग कहाँ छन् भनेर खोजिरहेका छौं ।’


विजयपुर क्षेत्रलाई तत्कालीन लिम्बुवान शासक र सेनवंशी राजाले दरबार बनाएर बसेका थिए । ती क्षेत्रमा विजयनारायण र बुद्धिकर्ण रायको दरबार रहेको संस्कृतिविद् महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक सञ्जय कोइरालाले बताए । कोइराला आफैं पनि सोही क्षेत्रका बासिन्दा हुन् । उनले भने, ‘यो क्षेत्रमा विजयनारायण राय र बुद्धिकर्ण रायको दरबार रहेको मानिन्छ । राज्यले ऐतिहासिक पुरातात्त्विक क्षेत्र उत्खनन गरेर संरक्षण गर्न ध्यान नदिँदा ती क्षेत्र निजी जग्गामा परिणत भएका छन् ।’


विसं १८३१ साउन २२ अगाडि विजयपुर बेग्लै राज्य थियो । सेनकालीन स्याहामोहोरहरूमा सेन राजाका चौतारिया बुद्धिकर्णले विजयपुरबाट रामभक्त पण्डितलाई विसं १८२४ मा र तुलाराम पण्डितलाई १८२९ मा स्याहामोहोर गरिदिएको इतिहास छ । कामदत्त सेनको हत्या भएपछि उनी विजयपुरका हर्ताकर्ता भए ।


इतिहासकार चेम्जोङका अनुसार बुद्धिकर्णले राजाको हैसियतले सामो राय र अहुम रायलाई विसं १८२६ मा सेवामा रहन अनुरोध गरेका थिए ।


इतिहासअनुसार धरानको बूढासुब्बा मन्दिर परिसरमा बुद्धिकर्णलाई गोर्खाली सेनाले हत्या गरेका थिए ।


बुद्धिकर्ण विजयपुरका अन्तिम शासक थिए । विजयपुरको मुनि आधुनिक धरान सहर विस्तार भएको छ भने विजयपुरको शिरमा साँगुरीडाँडा छ । चेम्जोङका अनुसार साँगुरीडाँडामा दस लिम्बूको शासनकालमा चौबीस प्रान्तका राजा सोइयाक लादोहाङको राजधानी थियो ।


‘साँगो’ भनेको लिम्बू भाषामा घरको धुरी हो । साँगोबाटै साँगुरीडाँडा नाम रहन गएको हो । विजयपुर डाँडादेखि पूर्वमा सेउती खोला र पश्चिममा सर्द'खोला बग्छन् । अहिलेको हात्तीसार क्याम्पसमा सेनकालमा दरबारका हात्ती बाँधिन्थे । हाल सुकुम्बासी बसेका ती बस्तीका पेटीहरूमा ढुंगाका लामा–लामा टुक्रा, दरबारका दलीन, प्रस्तर कलाहरू अझै भेटिन्छन् ।


इतिहासअनुसार साङलाइङपछिका यम्बेनाराङनले हिन्दु मत ग्रहण गरे । यिनै साङलाइङको पाँच पुस्तापछिका सन्तान विज्यैनारान विजयपुरका राजा विजयनारान भएको याक्थुङ इतिहासकारसमेत रहेका लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङले बताए ।


पछिल्लो समयमा ०४६ पछि ऊक्त क्षेत्रमा अतित्रमण बढेको छ । प्राध्यापक कोइरालाले भने, ‘पञ्चकन्या जंगलमा रहेको बुद्धिकर्ण रायको दरबार भनिएको क्षेत्रलाई मसानघाट बनाइएको छ । त्यहाँ केही वर्षअघि गाडिएका आधा दर्जन चिहान छन् ।’


उनका अनुसार विजयपुरस्थित पोषराज निरौलाको घरदेखि अम्बिका श्रेष्ठको घर पछाडि केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारसम्म दरबार क्षेत्र थियो ।

प्रकाशित : चैत्र २३, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?