कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

भेरी–बबई सुरुङ सकियो

प्रधानमन्त्रीले ‘ब्रेक थ्रु’ गर्ने
कलेन्द्र सेजुवाल

सुर्खेत — भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण सकिएको छ । औपचारिक रूपमा ‘ब्रेक थ्रु’ भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

भेरी–बबई सुरुङ सकियो

आयोजना प्रमुख सञ्जीव बरालले शुक्रबारसम्म सुरुङको २ मिटर मात्र बाँकी रहेको जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूबाट ‘ब्रेक थ्रु’ गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘समय मिल्नेबित्तिकै उद्घाटन हुन्छ ।’ वैशाख ३ गतेका लागि प्रधानमन्त्रीको समय मागिए पनि निश्चित भइनसकेको उनले बताए ।


भेरी–बबई आयोजना टनेल बोरिङ मेसिन (टीबीएम) द्वारा निर्मित नेपालको पहिलो र एक मात्र आयोजना हो । १२ हजार २ सय मिटर लामो सुरुङ निर्माणको जिम्मा चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी (कोभेक) ले लिएको छ । उक्त कम्पनीले सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि काम सम्पन्न गरेको हो ।


२०७२ जेठ २१ गते सुरुङ खन्न सुरु गरेको कम्पनीको निर्माण म्याद २०७६ चैत १५ गतेसम्म थियो । सुरुङ निर्माणको लागत करिब १० अर्ब ५७ करोड रुपैयाँ छ, जुन आयोजनाको कुल अनुमानित बजेटको ३५ प्रतिशत हो ।


बहुउद्देश्यीय आयोजनाबाट भेरीको पानी बबईमा मिसाएर बाँके–बर्दियाको ५१ हजार हेक्टर जमिन सिँचाइ गर्ने र सुर्खेत–भेरीगंगा नगरपालिकाको हात्तीसारमा विद्युत्गृह निर्माण गरी ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।


सुरुङ निर्माणलगत्तै पानी झारिने छैन । २०७६ को माघबाट ८ देखि १० क्युमेक्स (घनमिटर प्रतिसेकेन्ड) पानी बबईमा मिसाइने आयोजना प्रमुख बरालले बताए । विद्युत्गृह नबन्दासम्म वर्षको ६ महिना मात्र भेरीको पानी सुरुङबाट बबईमा मिसाइने उनको भनाइ छ ।


‘भेरीको पानी बबईमा मिसाउँदा माछालगायत जलीय जैविक विविधतालाई कस्तो असर पर्छ हेरिनेछ,’ उनले भने, ‘यसका साथै भेरीको पानीले सिञ्चित हुने खेतबारीमा कस्तो प्रभाव पर्छ भन्ने हेरिनेछ ।’ आयोजना पूरा भएपछि भने भेरीबाट बाह्रै महिना ४० क्युमेक्स पानी बबईमा मिसाइने उनले बताए ।


दोस्रो चरणको प्रक्रिया सुरु

पहिलो चरणअन्तर्गत पर्ने सुरुङ निर्माणको काम सकिएसँगै आयोजनाले दोस्रो चरणको प्रक्रिया सुरु गरेको छ । यसअन्तर्गत सिभिल निर्माण, इलेक्ट्रो मेकानिकल निर्माण तथा जडान, हाइड्रो मेकानिकल निर्माण तथा जडान

रहेका छन् ।


३३ अर्ब १८ करोड लागत अनुमान गरिएको आयोजनाको सबैभन्दा बढी (४० प्रतिशत बजेट) काम सिभिल निर्माणअन्तर्गत छ । १२ अर्ब १० करोडमा हेडवर्क्स, सर्ज साफ्ट र पावरहाउस निर्माणको काम हुने गरी खरिद प्रक्रिया सुरु भइसकेको आयोजना प्रमुख बरालले बताए । उनका अनुसार २०१९ जुलाइबाट काम सुरु हुने गरी हाइड्रो मेकानिकलको पनि खरिद प्रक्रिया सुरु भइसकेको छ । यसअन्तर्गत गेट तथा पेन स्टक पाइप निर्माणका काम हुनेछन् । उक्त कामको आर्थिक भार २ अर्ब ८४ लाख (९ प्रतिशत) छ ।


त्यसैगरी २०१९ अगस्टबाट निर्माण सुरु गर्ने गरी इलेक्ट्रो मेकानिकलको पनि खरिद प्रक्रिया सुरु भइसकेको छ । आयोजनाको कुल बजेटको ११ प्रतिशत (३ अर्ब ५१ कराड रुपैयाँ) भार ओगटेको इलेक्ट्रो मेकानिकलअन्तर्गत टर्बाइन, जेनेरेटर, स्विच यार्ड निर्माणको काम हुनेछ । आयोजना प्रमुख बरालले २०१९ डिसेम्बरबाट प्रसारणलाइन निर्माण गर्ने गरी खरिद प्रक्रिया सुरु भइसकेको बताए ।


‘हामीले टनेल निर्माणमा सफलता पायौं, यसले उत्साही बनाएको छ,’ उनले भने, ‘अब बाँकी काम कसरी अघि बढ्छ भन्ने छनोट हुने कम्पनीमा भर पर्छ ।’ कार्ययोजनाअनुसार सरासर काम भएमा आयोजनाबाट आर्थिक वर्ष २०७९/८० सम्म विद्युत् उत्पादन सुरु हुने उनले बताए ।

प्रकाशित : चैत्र २३, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?