कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एउटै काममा अब समान ज्याला

गाउँपालिकाले बनायो सामाजिक सुधार ऐन
प्रताप विष्ट

हेटौंडा — मकवानपुरको एक गाउँपालिकाले समान काम समान दामको व्यवस्था गरेको छ । पश्चिमी क्षेत्रको मनहरी गाउँपालिकाको शुक्रबार सम्पन्न चौथो गाउँसभाले सामाजिक सुधार ऐन पारित गरेर गाउँपालिकाभरिका महिला र पुरुषलाई एउटै काममा बराबर ज्याला दिने व्यवस्था गरेको हो ।

यसअघि महिलाले समान कामको समान दाम पाएका थिएनन् । महिला र पुरुषले खेत खन्ने र मल बोक्नेलगायत उस्तै काम गर्दा पुरुषलाई दैनिक ६ सय र महिलालाई ४ सय रुपैयाँ ज्याला दिने गरिएको छ । उत्तिकै समय उस्तै काम गर्दा सबै क्षेत्रमा महिलाले पुरुषभन्दा कम ज्याला पाउने गरेका थिए ।


अब गाउँपालिकाभरि समान कामको समान दाम हुने समाजसेवी रामहरि सुवेदीले बताए । ‘महिलाले पुरुषजत्तिकै ज्याला पाउने छन्’, गाउँपालिका उपाध्यक्ष मनिला विष्टले भनिन्, ‘महिला र पुरुषको काम समान तर ज्याला असमान थियो । त्यो विभेद अन्त्य भएको छ ।’


जिल्ला समन्वय समितिको स्थानीय तह समन्वय बैठकले स्थानीय तहहरूले समान कामको समान ज्याला निर्धारण गर्नुपर्ने निर्णय गरेको थियो । जिल्लाका १० वटा स्थानीय तहमध्ये सामाजिक व्यवहार सुधार ऐन पारित गर्ने मनहरी पहिलो हो । ‘सामाजिक सुधार ऐन कार्यान्वयनमा ल्याएर तडकभडक देखाउने र फजुल खर्च गर्ने प्रवृत्ति निरुत्साहित गर्न ऐन ल्याएका हौं,’ उपाध्यक्ष विष्टले भनिन् । यो ऐन सबैभन्दा पहिला जनप्रतिनिधिबाटै व्यवहारमा उतार्न प्रयास गर्ने उनले बताइन् ।


गाउँवासीले गर्ने विवाहमा बाजागाजासहित ५१ जनाभन्दा बढी जन्ती लैजान नपाउने व्यवस्था ऐनमा छ । केटा वा केटी पक्षले आयोजना गर्ने विवाह भोजमा नजिकका नातेदारबाहेक छरछिमेक र इष्टमित्रमध्येबाट ५१ जनाभन्दा बढी आमन्त्रण गर्न पाइँदैन ।


उक्त ऐनले दाइजो लिनदिन प्रतिबन्ध लगाएको छ । केटा वा केटी पक्षबाट विवाह समारोहमा आमन्त्रण गरिएका छरछिमेक र इष्टमित्रले उपहार प्रदान गर्दा हजार रुपैयाँभन्दा बढी जिन्सी वा नगद दिन नपाइने ऐनमा उल्लेख छ । न्वारन, जन्म दिवस, पास्नी, व्रतबन्ध, बूढोपास्नी र पितृकार्य गर्दा २५ जनाभन्दा बढी सहभागी गर्न नपाइने र हजार रुपैयाँभन्दा बढी उपहार र दक्षिणा दिन ऐनले रोक लगाएको छ । गाउँपालिकाभरि पैसा बाजी थापेर जुवातास, लुँडो, पुल हाउस र लंगुरबुर्जा खेल्न/खेलाउन रोक लगाइएको छ भने देउसीभैलो खेल्दा करकापमा पारेर दक्षिणा लिन नपाउने व्यवस्था गरेको छ ।


सामाजिक व्यवहारमा सुधार ल्याउन र फजुल खर्चसमेत नियन्त्रण गर्न ऐन बनाइएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । ऐनमा घरेलु मदिरा उत्पादन गरेर बिक्रीवितरण गर्न नपाउने व्यवस्था गरिएको छ भने अन्तःशुल्कबाट स्वीकृति लिएर मदिरा बिक्री गर्ने पसलले पनि अपराह्न ५ देखि बेलुका ८ बजेसम्म माक्र बित्री गर्न पाउने व्यवस्था छ । उक्त ऐनले तरकारी बालीमा प्राविधिकको सुझावबिना विषादी प्रयोग गर्न नपाउने र विषादी प्रयोग गरेको तरकारी निश्चित समय पार नगरीकन बिक्रीवितरण गर्न नपाउने व्यवस्थासमेत गरेको छ ।


कुनै पनि व्यक्ति वा समुदायबाट ऐनविरुद्ध काम भएमा वडा कार्यालयमार्फत सम्बन्धित व्यक्तिलाई मौखिक वा लिखित रूपमा अनुरोध गर्ने र अटेर गरे कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा जानकारी दिने व्यवस्था ऐनमा छ । ऐनविपरीत कार्य गर्नेलाई गाउँपालिकाबाट प्रवाह गरिने सेवासुविधा नदिने उल्लेख छ ।

ऐन कार्यान्वयन गर्न गाउँपालिकाभरि पहिलो चरणमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिने अध्यक्ष उप्रेतीले जानकारी दिए ।

प्रकाशित : चैत्र २४, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?