कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मूलप्रवाहमा ल्याउन चन्द समूहलाई प्रतिबन्ध : गृहमन्त्री

लालप्रसाद शर्मा

पोखरा — नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई राजनीतिको मूलप्रवाहमा ल्याउनका लागि प्रतिबन्ध लगाइएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा आएका मन्त्री थापाले आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै चन्द समूह छिट्टै मूलप्रवाहमा आउने आशा गरेको जनाए । 

मूलप्रवाहमा ल्याउन चन्द समूहलाई प्रतिबन्ध : गृहमन्त्री

शान्ति सुरक्षामा खलल पुर्‍याउन अझै केही समूह सक्रिय रहेको र यसको समाधानमा सरकार लागिपरेको उनले बताए । 'शान्ति सुरक्षा र विकासमा बाधक भएकाले विप्लव समूहमाथि प्रतिबन्ध लगाइएको हो,' उनले भने, 'आशा छ, मूलप्रवाहमा आउने छ ।'


संविधान र कानुन विपरीत काम स्वतः प्रतिबन्धित हुने भन्दै उनले असंबैधानिक र गैरकानुनी काम रोकिएको बताए । शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको सरकारको निष्कर्ष रहेको उनले जनाए ।


सीके राउतप्रति इंगित गर्दै पृथकतावादी समस्यालाई समाधान गरी राजनीतिको मूलधारमा ल्याउन सकिएको बताएका थापाले अब उनीहरु देश विकासमा समाहित हुने दाबी गरे ।


सरकारको एक वर्ष नीतिगत, संरचनागत र विकासका पूर्वाधारका हिसाबले आधार निर्माणको वर्ष परिभाषित भएको उनले जनाए । 'देशलाई समृद्धि बनाउन संरचना र नीतिगत पारित गरेकाले अब विकासले गति लिन्छ,' उनले भने, 'अपराध नियन्त्रण गर्न विशेष जोड दिइएको र सफल भएको पनि निष्कर्ष सरकारको छ ।' बारा र पर्सामा भएको प्राकृतिक प्रकोप पीडितको पुनर्निर्माणको कामलाई छिटो सक्ने उनले दाबी गरे ।


जन्मसिद्ध नागरिकता भएका व्यक्तिका सन्तानको नागरिकता नहुँदा समस्या भएको भन्दै उनले यसको छिट्टै अन्त्य हुने बताए । प्रतिनिधि सभाको आगामी अधिवेशनबाट प्रदेश प्रहरी ऐनका लागि बाटो खुल्ने विश्वास थापाले बताए ।


शनिबार सुरु भएको सुरक्षा गोष्ठीमा भाग लिन गृहमन्त्री आइतबार पोखरा आएका हुन । गोष्ठीले आन्तरिक सुरक्षाको समीक्षा गर्ने र आगामी दिनका लागि शान्ति सुरक्षा सुदृढ पार्न आवश्यक रणनीति बनाउने छ ।

प्रकाशित : चैत्र २४, २०७५ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?