२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

कर्णालीको किनारै किनार

अर्जुन शाह, गणेश चौधरी

कैलाली — चिसापानी सिरानको मोहन्याल गाउँपालिका–६, सोल्टामा शनिबार बेग्लै रौनक थियो । कर्णाली प्रदेशको मुगुदेखि विभिन्न जिल्लाका जनप्रतिनिधिसँगै पर्यटन व्यवसायी र आन्तरिक पर्यटकको घुइँचो थियो ।

कर्णालीको किनारै किनार

सोल्टाको कर्णाली किनारबाट सुरु हुने जलयात्राका लागि र्‍याफ्टिङ गर्न सबै आतुर देखिन्थे । औपचारिक कार्यक्रम सकिनेबित्तिकै र्‍याफ्ट राखिएका कर्णाली किनारमा पुग्न नेतादेखि सर्वसाधारणबीच तँछाडमछाड सुरु भयो । सय बढीको संख्यामा तयारी अवस्थामा राखिएका र्‍याफ्ट र चालकहरूले धमाधम जलयात्रीलाई आवश्यक सुरक्षाका पहिरनहरू दिएर तयार गराए ।


सुरुमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको समूह जलयात्राका लागि अघि बढ्यो । उनीसँगै प्रदेश मन्त्री, संघीय संसद्का सांसद, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका समन्वय समितिका संयोजक, स्थानीय तहका जनप्रतिनिधिसँगै सयौं आन्तरिक पर्यटक जलयात्रामा सहभागी भए ।


चिसापानीसम्मको २३ किमि जलयात्राका लागि जिल्ला समन्वय समिति कैलाली र मोहन्याल गाउँपालिकाले संयुक्त रूपमा आयोजना गरेको ‘कर्णाली र्‍याफ्टिङ ज्याम्बोरी’ सुरु भयो । कर्णालीमा जलयात्राको प्रचुर सम्भावनालाई उजागर गरी पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यले ३ दिने महोत्सव आयोजना गरिएको समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले बताए ।


सोल्टादेखि चिसापानीको कर्णाली पुल हुँदै दौलतपुर घाटसम्मको ४० किमि खण्ड साहसिक जलयात्राका लागि प्रख्यात मानिन्छ । यो खण्डमा कर्णालीका माछा, डल्फिन, चरा, गोहीलगायत जीवजन्तु अवलोकन गर्न सकिन्छ । ‘मानसरोवरबाट सुरु हुने कर्णाली नदी र त्यही हावाको महत्त्व बुझेर राजा महेन्द्रलाई बिरामी भएका बेला प्राकृतिक उपचारका लागि सोल्टाको कर्णाली किनारमा राखिएको थियो,’ जिसस संयोजक थापाले भने, ‘यही ठाउँ साहसिक जलयात्राका लागि महत्त्वपूर्ण छ ।’


भेरी, कर्णाली र सेती नदीको संगम त्रिवेणीधाम क्षेत्रलाई धार्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गरेर कर्णाली नदीलाई र्‍याफ्टिङ करिडोर बनाउने योजना रहेको समन्वय समिति संयोजक थापा बताउँछन् । जलयात्रा गर्न सोल्टा पुगेकाहरू उत्साही देखिन्थे ।

प्रकाशित : चैत्र २५, २०७५ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?