२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

दुई दिनमै बिग्रियो ३ करोडको अक्सिजन प्लान्ट

प्रदीप मेन्याङ्बो

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ अक्सिजन प्लान्ट खरिदमा अनियमितताको आंशका गरिएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले अक्सिजन प्लान्ट खरिदमा कमिसनको चलखेल भएर कमसल र सेकेन्ड ह्यान्ड उपकरण जडान गरेको देखिएकाले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रमा छानबिन र कारबाहीका लागि उजुरी दिने तयारी गरेको जानकारी दिए । 

दुई दिनमै बिग्रियो ३ करोडको अक्सिजन प्लान्ट

प्रतिष्ठानका अनुसार ३ करोड २४ लाख रुपैयाँ लगानी गरेर गत माघ २४ मा जडान गरिएको अक्सिजन प्लान्टले आधा मात्र उत्पादन गर्छ । जडान गरेको दुई दिनमै प्लान्टको एउटा जेनरेटर बिग्रिएको थियो । प्लान्टले उत्पादन गर्ने अक्सिजनको शुद्धता पनि अन्तर्राष्ट्रिय मापदण्डअनुरूप छैन ।


प्रतिष्ठानमा अक्सिजन प्लान्ट जडान गर्न तत्कालीन उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दासका पालामा २०७३ वैशाख २९ गते टेन्डर खोलिएको थियो । काठमाडौं बस्ने विज्ञान अर्यालको डाइग्नोकेन इन्टरनेसनल प्रालिले अक्सिजन प्लान्टको टेन्डर पारेका थिए । उनले २०७५ भदौ ८ सम्म प्लान्टको सामान झारेका थिएनन् । डाइग्नोकेन प्रालिलाई प्लान्टको शतप्रतिशत भुक्तानी भने दिइसकिएको थियो ।


दासपछि आएका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र अस्पताल निर्देशक प्रा.डा. साहले प्रतिष्ठानमा नयाँ अक्सिजन प्लान्ट जडानका लागि अघिल्ला पदाधिकारीले शतप्रतिशत रकम दिइसकेको थाहा पाएपछि डाइग्नोकेन र भारतको युनिसी इन्डिया कम्पनीलाई अक्सिजन प्लान्टका उपकरण ल्याइदिन र जडान गर्न दर्जन पटक पत्राचार गरेका थिए । कालोसूचीमा राखेर कारबाही प्रक्रिया चलाउने चेतावनी दिएपछि एक वर्षअघि डाइग्नोकेनले सामान झारेर चउरमा छाडेको थियो ।


अक्सिजन प्लान्ट जडान गर्न डाइग्नोकेन नआएपछि युनिसी इन्डिया कम्पनीका इन्जिनियर नरेन्द्र पाल आएर दुई महिनासम्म बसी गत माघ २४ गते जडान पूरा गरेका थिए । प्लान्ट जडान गरेको दुई दिनमै बिग्रिएपछि इन्जिनियर पाल भागेका थिए ।


कमिसनका कारण मूल्यांकन समितिका मुख्य इन्जिनियर राहुल मिश्रले स्पेसिफिकेसनअनुसार अक्सिजन प्लान्ट भए नभएको विषयमा बेवास्ता गर्दा ३ करोड २४ लाख डुबेको हो । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. साहले भने, ‘अघिल्लो पदाधिकारीले शतप्रतिशत भुक्तानी गरेर ल्याइएको अक्सिजन प्लान्टका नेपाली एजेन्ट विज्ञान अर्यालको डाइग्नोकेन र भारतीय एजेन्ट युनिसी इन्डियाका गुल्सन वर्मा दुवैले ठगेको देखियो । कमिसनको चक्करमा प्रतिष्ठानको सवा ३ करोड बालुवामा पानी खन्याए जस्तो भो ।’


प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. साहले १६ सय लिटर प्रतिमिनेट अक्सिजन उत्पादन गर्छ भनेर अघिल्ला पदाधिकारी र मूल्यांकन समितिका इन्जिनियरले भनेको आधारमा प्लान्ट झारिए पनि उत्पादन आधा पनि मुस्किलले गरिरहेको बताए । ‘भुक्तानी भइसकेकाले अंकुश लगाउने ठाउँसमेत छैन,’ उनले भने ।


अक्सिजन प्लान्टसम्बन्धी जानकार सिद्ध आरआर प्रालिले अक्सिजन प्लान्ट खरिद गर्न चारबुँदे सुझावसमेत दिएको थियो । आरआरले प्लान्टको मुख्य उपकरण जीओलाइटको वारेन्टी १५ वर्षको हुनुपर्ने, अक्सिजनको शुद्धता ९५ प्रतिशत हुनुपर्नेलगायत सुझाव दिएको थियो । तर मूल्यांकन समिति र प्रतिष्ठानका पदाधिकारीहरूले ती सुझावलाई बेवास्ता गरिएको थियो । प्रतिष्ठानका बायो मेडिकल इन्जिनियर प्रदीपराज साहले भने, ‘सामान्यतया विश्वव्यापी स्ट्यान्डर्डअनुसार प्लान्टबाट ९२ देखि ९६ प्रतिशत शुद्ध अक्सिजन उत्पादन हुनुपर्छ तर युनिसी र डाइग्नोकेनले उपलब्ध गराएको प्लान्टले ८० प्रतिशतमात्र शुद्ध अक्सिजन उत्पादन गर्न सकेको छ ।’


युनिसी इन्डिया कम्पनी अक्सिजन प्लान्ट निर्माण गर्ने कम्पनी नभए पनि डेढ दशकदेखि प्रतिष्ठानको अक्सिजन प्लान्ट मर्मतसम्भार गर्ने नाममा वार्षिक १० लाख भारु असुल गर्दै आएको छ ।

प्रकाशित : चैत्र २५, २०७५ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?