कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बारा–पर्सा विपत् : त्रासमा बित्छ रात

भुमरीसहितको हावाहुरीले घरबारविहीन बनेका स्थानीयवासी मेघ गर्जंदा पनि तर्सन थालेका छन् । आकाशमा कालो बादल मडारिन थालेपछि उनीहरु एकै ठाउा गुजुल्टो पर्छन् । 
पवन यादव

फेटा, बारा — फेटा ६ पुरैनियामा शनिबार राति बादल गर्जिन थाल्यो । हावाहुरीले टेन्ट हल्लाउँदै थियो । साताअघिकै जस्तो विपत्ति दोहोरिने त होइन भन्ने आशंकाले मोलायासा खातुनको मुटु पनि टेन्टभन्दा कम काम्दै थिएन । ‘टेन्टले ठूलो हुरी र वर्षा थाम्दैन । अँध्यारोमा लडदैपडदै बालबच्चासँग बाहिर निस्कियौं,’ उनले सुनाइन्, ‘छिमेकीको पक्की घरमा पुगेपछि मात्र मुटुको ढुकढुकी घट्यो ।’

बारा–पर्सा विपत् : त्रासमा बित्छ रात

बादलको गर्जनले सन्तानहरू पनि तर्सिएका थिए । खाना पकाएर पस्किने तरखर गरिहेका बेला हावाहुरी चलेकाले उनीहरू सबै भोकै भए । त्यस रात अरू घरकाले पनि हावाहुरीको त्रासका कारण खाना खान पाएनन् । कोही सुतेनन् पनि । ‘डरले परिवारका सबै रातभरि जाग्राम बस्यौं,’ मोलायसाले भनिन् ।


हसीबन खातुनले छिमेकीको कुटानी पिसानी मिलमा भोकै रात गुजारेको बताइन् । ‘बिहान मात्रै टेन्टमा फर्कें,’ उनले भनिन् । नजबुन नेसाले पनि दुधे छोरा लिएर गाउँलेको घरमा आश्रय लिएको बताइन् ।


स्थानीय रहिमा खातुनले हावाहुरी र बादलको गर्जनले महिला, वृद्धवृद्धा र बालबालिका त्रसित हुने गरेको बताइन् । ‘सुरक्षित घर नबनेसम्म गाउँका सबैको दिनचर्या त्रासमै बित्छ,’ उनले भनिन्, ‘टेन्टमा कोही पनि ढुक्कसँग बस्न पाउँदैन ।’ उनले सरकारले जतिसक्दो चाँडो घर निर्माण बनाइदिनुपर्ने बताइन् ।


स्थानीय मुस्तुफा मियाँले हावाहुरी चल्नासाथ साताअघिको झझल्को आइहाल्ने हुनाले त्रसित हुनुपरेको बताए । गएको आइतबारको हावाहुरीले घर भत्काउँदा गाउँका ११ जनाले ज्यान गुमाएका थिए । धेरै मानिस घाइते भए । भुमरीसहितको हावाहुरीले घरबारविहीन बनेका स्थानीयका लागि नेपाली सेना र सशस्त्र प्रहरीले टेन्ट ठड्याइदिएका छन् जुन अस्थायी प्रबन्ध मात्र हो । पीडितले भत्केको घरबाट सानातिना मालसामान निकाल्न सकेका छैनन् ।


भुमरीसहितको हावाहुरीले पुरैनिया, भरबलिया, गम्हरिया, परवानीपुर, तेलगाई, हर्दिया, प्रसुरामपुर, मनगढवा, धर्मनगर, फुलबरिया, भलुही, त्रिवेणी, बलिरामपुर, रामपुरवा, बगही, जमुनिया, चरमोहना, बुनियाद, रामपुरटोकनी, लिपनीमाल, चैनपुर, बहुअरी, बेनौली, सखुवाटलगायत गाउँमा घर तथा अन्नबालीमा क्षति पुर्‍याएको थियो ।


जिल्ला प्रशासन कार्यालय बाराका अनुसार भुमरीसहितको हावाहुरीले जिल्लामा ३ वटा इँट्टाभट्टा उद्योग, एउटा स्वास्थ्य चौकी भवन र एक हजार ८ सय ९१ वटा व्यक्तिको गरी एक हजार ८ सय ९५ वटा भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

प्रकाशित : चैत्र २५, २०७५ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?