खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई स्वास्थ्य मन्त्रीको आग्रह
काठमाडौँ — उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारले खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह गरेका छन् । समायोजनमा असहमति राख्दै आन्दोलनमा उत्रेका सरकारी चिकित्सकलाई सो आग्रह गर्दै उनले भने, 'सर्वप्रथम खटाएका ठाउँमा जानुहोस्, स्वास्थ्यसेवा पुर्याउनुहोस्, त्यसपछि तपाईंलाई पर्ने समस्या मन्त्रालयले सुन्छ र समाधान गर्छ ।'
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विभिन्न प्रतिवेदन सार्वजनिक गर्न गरेको कार्यक्रमपछि सञ्चारकर्मीको जिज्ञासामा उपप्रधानमन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार पूरा गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
प्रदेश र स्थानीय तहमा समायोजन भएपछि सङ्घमा आउन ढोका बन्द हुने र सरकारी चिकित्सक संघ (गोदान)सँग स्वास्थ्य मन्त्रालयले गरेका सहमति विपरीत समायोजन भएको भन्दै सरकारी चिकित्सक सङ्घमा आवद्ध चिकित्सकले सरकारी अस्पतालमा आकस्मिक बाहेकका आफ्नो सेवा तीन दिनदेखि अवरोध गरेका छन् ।
कार्यक्रममा उपप्रधानमन्त्री यादवले अनुसन्धानमा आधारित नीति बनाउन मन्त्रालयले ध्यान दिएको चर्चा गर्दै नसर्ने रोग नियन्त्रणमा ध्यान दिन निर्देशन दिएका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले नतिजामुखी कामका लागि बजेट अभाव हुन नदिने जानकारी दिँदै समग्र स्वास्थ्य सुधारमा सरकारको लगानी बढाउनुपर्नेमा जोड दिएका थिए । परिषद्का कार्यकारी निर्देशक प्राडा अञ्जनीकुमार झाले मन्त्रालयको आग्रहमा परिषद्ले दशवटा अनुसन्धान सम्पन्न गरेको जानकारी दिए । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले स्वास्थ्यका अनुसन्धानलाई प्रभावकारी बनाउन एकद्वार नीतिको आवश्यकता रहेको बताए ।
प्रकाशित : चैत्र २५, २०७५ १४:३७