सालमुनीमा दलित पुजारी

मोहन शाही

डोटी — दलित समुदायलाई २०६२ सालमा शैलेश्वरी मन्दिरमा प्रवेश निषेध गरेको घटना अधिकारवादीले बिर्सिएका छैनन् । मानव अधिकार र दलितमाथिको थिचोमिचोबारे बहस चलाउँदा उनीहरू शैलेश्वरीको घटना दोहोर्‍याइरहन्छन् । 

सालमुनीमा दलित पुजारी

डोटीमै एउटा यस्तो मन्दिर छ, जहाँ शैलेश्वरीको भन्दा भिन्नै दृश्य देख्न पाइन्छ । शिखर नगरपालिका ३, मुडेगाउँमा रहेको सालमुनी मन्दिरमा पुजारी नै दलित छन् । यहाँ दैनिक सयौं भक्तजन आउँछन् । पुजारीबाट टीका, प्रसाद र आशीर्वाद थापेर फर्किन्छन् । मनोकामना पूरा भएका भक्तजन सालमुनी देवतालाई बलि चढाएर खुसी पार्न तँछाडमछाड गर्छन् ।


स्थानीय दास (बादी) परिवारका पुरुषहरूले यहाँ वर्षौंदेखि पुजारीको काम गर्दै आएका छन् । अलाड भन्ने क्षेत्रबाट सेती नदीमा सालमुनी देवता बग्दै आइरहेका बेला छोपेर मुडेगाउँको कालागाढमा प्रतिस्थापन गरेकाले मन्दिरमा आफूहरूको हकभोग रहेको पुजारी भीम दासले बताए । पुर्खौंदेखि दास परिवारले मन्दिरमा धूप–आराधना गर्दै महिमा जोगाएको उनले बताए ।


बिहानै आएर मन्दिरको सरसफाइ, धूप, पूजा तथा भक्तजनलाई टीका, प्रसाद दिन दास जातिका पुजारी खटिन्छन् । पुजारी कम्तीमा ५ जनाभन्दा माथि हुन्छन् । अन्य मन्दिर जस्तो मुख्य पुजारी हुँदैनन् । जसको हातमा जे काम आउँछ, समझदारीमा गर्ने गरिएको तेज दासले बताए । दिनभरि चढाइएका भेटी, नगद र बलि दिइएका बोकाका टाउका उनीहरू बेलुकी बाँडेर घर लैजान्छन् ।


दलितमाथि अन्यत्र गरिने दुर्व्यवहार सालमुनीमा छैन । ‘दलित/गैरदलित भन्ने रुढिवादी सोच मात्र रहेछ,’ बोगटानबाट सालमुनीमा बलि दिन आएका टेकबहादुर चन्दले भने ।

प्रकाशित : चैत्र २६, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?