कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लाइसेन्स परीक्षामा ७५ प्रतिशत डाक्टर फेल

अतुल मिश्र

काठमाडौँ — नेपाल मेडिकल काउन्सिलले चिकित्सा अभ्यासको अनुमति दिन एमबीबीएस उत्तीर्ण डाक्टरका लागि सञ्चालन गरेको परीक्षामा ७५ प्रतिशत डाक्टर फेल भएका छन् । शनिबार भएको परीक्षामा ११ सय २३ डाक्टर सहभागी भएकामा २ सय ८८ जनाले मात्र सेवा प्रवेशको अनुमति पाए । ८ सय ३५ जना फेल भएका छन् । 

लाइसेन्स परीक्षामा ७५ प्रतिशत डाक्टर फेल

काउन्सिलले बीडीएस उत्तीर्णका लागि शनिबारै लिएको लाइसेन्स परीक्षामा ७५ प्रतिशत फेल भएका छन् । परीक्षामा सहभागी ४ सय ६ जना दन्त चिकित्सकमध्ये २ सय ६३ जना सेवा प्रवेशका लागि योग्य ठहरिएनन् ।


एमबीबीएसतर्फ लाइसेन्स परीक्षामा विदेशबाट पढेर आएका ७ सय २ जना र नेपालमा पढेका ४ सय २१ जना डाक्टर सहभागी थिए । बीडीएसमा विदेशबाट पढेका ५७ जना र नेपालमा पढेका ३ सय ४८ जना दन्त चिकित्सकले परीक्षा दिएका थिए ।


परीक्षामा सहभागी ८ सय ३० जना -एमबीबीएस र बीडीएसमा) पहिलेको लाइसेन्स परीक्षामा फेल भएकाहरू थिए । लाइसेन्स परीक्षामा सहभागी ६ सय ५८ जना नयाँ उम्मेदवारमध्ये अधिकांश विदेशमा अध्ययन गरेका हुन् । त्यसमा चीन र बंगलादेशमा पढेका बढी छन् ।


काउन्सिलले लाइसेन्सका लागि सञ्चालन गर्ने परीक्षामा अनुत्तीर्ण दर केही वर्षयता उच्च छ । 'प्रवेश परीक्षाबिना विदेश पढ्न गएर सर्टिफिकेट ल्याएकाहरूलगायतका कारण सन् २०२२ सम्म यस्तो स्थिति रहिरहन्छ,' काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाले भने । पछिल्लो समय विदेश पढ्न स्वदेशको प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रा.डा. बाँस्कोटा स्वास्थ्य क्षेत्रको दुर्दशाले अयोग्य डाक्टर उत्पादन भइरहेको बताउँछन् ।


सर्वोच्च अदालतले २०५८ फागुुन २५ गतेपछि एमबीबीएस पढेर आउने सबैलाई लाइसेन्स परीक्षा अनिवार्य हुुने आदेश गरेको थियो । त्यसयता यो परीक्षा पास नगरी चिकित्सा पेसा पाइँदैन ।


काउन्सिलमा दर्ता चिकित्सक संख्या करिब २३ हजार छ । तीमध्ये कति जना मुलुकभित्र, कति विदेशमा छन्, कतिले अभ्यास गर्दैनन्, कति जनाको मृत्यु भइसकेको छ भन्नेबारे यकिन तथ्यांक छैन । हाल मुलुकमा करिब १५ हजार डाक्टरमात्र कार्यरत रहेको नेपाल चिकित्सक संघले जनाउँदै आएको छ ।

प्रकाशित : चैत्र २७, २०७५ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?