१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

सांसदलाई अपरिचित निम्तो !

कलेन्द्र सेजुवाल

सुर्खेत — कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाललाई सन् २०१८ मा जापान, जर्मनी र फ्रान्सबाट फरक–फरक कार्यक्रमको निम्तो आयो । तीनवटै कार्यत्रमका लागि प्रदेशसभाबाट प्रक्रिया सुरु गरे पनि उनी विदेश जान पाइनन् ।

‘अहिलेसम्म विदेश नगएको हुनाले जान मन थियो तर आयोजकलाई नै नचिनेपछि कसरी जानु ?’ उनले भनिन्, ‘नजिकका मान्छेले पनि सरकारी कार्यक्रमबाहेक अरूले बोलाएकामा जान हुँदैन भनेर सल्लाह दिए ।’

‘अज्ञात’ आयोजकबाट निम्तो पाउने रखाल एक्ली सांसद होइनन् । कर्णाली प्रदेशसभाका थुप्रै सांसदलाई अपरिचित आयोजकले निम्तो दिएर विदेश बोलाउने क्रम बढेको छ । यसरी निम्तो पाउनेमा महिला सांसदको संख्या बढी छ तर अन्तिममा सांसदहरू विदेश जान पाउँदैनन् । कतिपयलाई दूतावासले भिसा दिँदैन भने कतिपय कार्यक्रम आयोजकले नै ‘क्यान्सिल’ गरिदिन्छन् ।

ग्लोबल फोरम फर फुड एन्ड एग्रिकल्चर कन्फरेन्स अफिस नामक संस्थाले २०१८ जनवरी १७ देखि १९ सम्म हुने एक कार्यक्रमका लागि जर्मनीको बर्लिनमा रखालसहित सांसद राजु नेपालीलाई बोलाएको थियो । संस्थाका मेनेजिङ डाइरेक्टर फ्लोरिन एफ फ्लेगरको हस्ताक्षर रहेको इलेक्ट्रोनिक निमन्त्रणापत्रमा ‘एग्रिकल्चर डुज डिजिटल स्मार्ट सोलुसन फर फिचर फार्मिङ’ विषयक कार्यक्रममा सहभागी हुने भनिएको छ । सांसद रखालका अनुसार आयोजकले ‘घुमाउन छोराछोरीलाई पनि ल्याएर आए हुन्छ’ भनेका थिए । ‘बुझ्दै जाँदा आयोजकबारे शंका लाग्यो, हामी गएनौं,’ उनले भनिन्, ‘चिन्नु न जान्नु, साथमा को जान्छ, थाहा छैन, त्यत्तिकै कसरी जानु ?’


फ्रान्सको इन्टरनेसनल काउन्सिल फर ओपन एन्ड डिस्टेन्स एजुकेसन नामक संस्थाले बोलाएको ‘ओपन एजुकेसनल लिडरसिप समिट’ का लागि त रखालले भिसा आवेदनसमेत दिइसकेकी थिइन् । २०१८ डिसेम्बर ३ र ४ मा पेरिसमा हुने कार्यक्रममा संघीय

सांसद नवीना लामालाई समेत बोलाइएकाले आयोजकप्रति उनलाई विश्वास लागेको थियो ।

‘पछि के–के घटना भयो भन्दै कार्यक्रम क्यान्सिल भएको खबर आयो,’ उनले भनिन्, ‘आयोजकबारे मलाई थाहा छैन ।’ १० कक्षा पास गरी ‘डिसेबल’ शिक्षकका रूपमा काम गरेको अनुभवका आधारमा आफूलाई बोलाएको हुन सक्ने उनले बताइन् ।

डिसेम्बरमै रखाल र सांसद राजु नेपालीलाई नेपाली प्रवासी समाज, जापानले ‘नेसनल इन्ट्रिग्रेसन डे’ का अवसरमा चारदिने कार्यक्रममा बोलाएको थियो । समाजका अध्यक्ष धर्मेन्द्र महर्जनले निमन्त्रणापत्र पठाएका थिए । सांसदद्वयले भिसा आवेदन पनि दिए तर दूतावासले फिर्ता गरिदियो । ‘विदेश जान पाए त राम्रै हुन्थ्यो, अहिलेसम्म जाने मेसो मिलेको छैन,’ नेपालीले भनिन् ।

जापानबाटै सेप्टेम्बरमा नेपाली साझा समाज नामक संस्थाले सांसद कौशिलावती खत्री, देवी ओली र बदमा क्वारी बोहोरालाई बोलायो । अध्यक्ष धीरजकुमार राईले पठाएको निमन्त्रणापत्रमा ‘विश्व मानव अधिकार दिवस’ मनाउन बोलाइएको उल्लेख छ तर उनीहरू जापान गएनन् । सांसद खक्रीले निम्तो दिने आयोजकलाई नचिनेको बताइन् । ‘संस्थाको कार्यत्रम रहेछ, सरकारी कार्यक्रम भए त गइन्थ्यो कि ।’ उनले भनिन्, ‘बोलाउने मान्छे पनि चिनिएन, त्यसैले हामीले वास्तै गरेनौं ।’ प्रदेशसभा सचिवालयबाट कूटनीतिक राहदानीका लागि सिफारिस लगे पनि भिसा आवेदन भने नदिएको उनले बताइन् ।

संसद् सचिवालयले करिब डेढ दर्जन सांसदलाई विदेश जान सिफारिस गरिसकेको जनाएको छ । युरोप, अमेरिका र जापानका लागि सिफारिस लिनेमा महिला सांसदको संख्या बढी छ । मीना सिंहले तीन पटक र राजुले दुई पटक सिफारिस लिएका छन् । ‘आयोजकले सोझासिधा सांसदलाई छानी–छानी बोलाउनु रहस्यमय देखिन्छ,’ प्रदेशसभाका एक सांसदले भने, ‘कार्यक्रमको प्रकृति र सांसदको विज्ञता हेर्दा पनि कहीँकतै मेल खाँदैन ।’ छिमेकी चीनमा पनि सांसद गएका छन् । राजनीतिक प्रकृतिका ती कार्यक्रममा महिला सांसदको संख्या भने शून्य छ ।

सभामुख राजबहादुर शाही सांसदलाई विदेशमा हुने कार्यक्रममा पठाउने जिम्मा सम्बन्धित संसदीय दलको हुने बताउँछन् । ‘हामीलाई कार्यक्रमको विवरणसहित सम्बन्धित संसदीय दलले चिठी पठाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रक्रियाका लागि लेखी पठाउँछौं,’ उनले भने, ‘कार्यक्रम कस्तो हो, आयोजक कस्ता हुन् इत्यादि कुरा त सम्बन्धित संसदीय दल र सांसदले नै बुझ्नुपर्छ ।’

प्रकाशित : चैत्र २८, २०७५ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?