पूर्वराजाका सुरक्षाकर्मीको गाडीले ठक्कर दिँदा एकको मृत्यु, एक सख्त घाइते 

विनोद भण्डारी

विराटनगर — पूर्वराजा ज्ञानेन्द्र शाहका सुरक्षाकर्मी चढेको गाडीले मोरङको सुन्दर हरैचा नगरपालिका ४ सिरुबारीमा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक सख्त घाइते छन् ।

बुधबार साँझ पूर्वराजा ज्ञानेन्द्रलाई विराटनगर विमानस्थल छाडेर झापाको दमकतर्फ फर्कंदै गरेको उनका सुरक्षाकर्मी चढेको बा ३ च ७९६९ नम्बरको जिपले सुनसरीको इटहरी आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इटहरी उपमहानगरपालिका ८ का २२ वर्षीय भीम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको नोवेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।


मोरङ प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठका अनुसार मोटरसाइकलमा सवार सोही ठाउँका २२ वर्षीय प्रकाश चौधरीको विराट अस्पतालको आइसीयूमा उपचार भइरहेको छ । टाउकोमा चोट लागेका उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।


जिपसहित चालक दीपेन्द्र लम्साललाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक लम्साल सशस्त्र प्रहरी जवान भएको बताइएको छ । जिप काठमाडौं ज्ञानेश्वरका शंकर नकर्मीको भएको पुष्टि भएको छ । नकर्मी स्वयम् बिहीबार विराट अस्पतालमा आएर घाइतेको उपचारमा सहयोग गरिरहेका छन् । घाइते चौधरी विराट चोकमा आल्मोनियमको झ्याल, ढोका फिटिङ गर्ने ठेक्का मिलाएर इटहरी घर फर्कंदै गर्दा जिपले ठक्कर दिएको घाइतेका बावु बावुराम चौधरीले बताए ।

प्रकाशित : चैत्र २८, २०७५ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?