कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'नागरिकता नहुँदा राहत पाइनँ’

शंकर आचार्य

सुखचैना, पर्सा — भारत कोलकातास्थित एउटा घिउ उद्योगमा मजदुरी गर्ने वीरगन्ज महानगरपालिका–१८ सुखचैनाका ३० वर्षीय मनोज राम होली मनाउन घर आएका थिए । १८ चैतमा कोलकाता फर्कने योजना बनाएका उनले कान्छा भाइ सनोज रामको किरियापुत्री बस्नुपर्‍यो । चैत १७ मा आएको हुरीले भाइ सनोजको मृत्यु भएपछि उनको परिवार शोकमा छ । 

'नागरिकता नहुँदा राहत पाइनँ’

‘होलीमा घर परिवारसँग रमाइलो गर्न स्वदेश आएको थिएँ, भाइ गुमाउनुपर्‍यो,’ उनले भने, ‘ज्युँदो भएको भए एसईई दिइरहेको हुन्थ्यो ।’ घरमा आमाबुबाको सहारा बनेर बसेका भाइ गुमाउनुपरेपछि मनोजले अब कोलकाता फर्कने योजना त्यागेका छन् । बूढा आमाबुवालाई छाडेर अब कोलकाता नजाने उनले बताए ।


हुरी आउँदा नजिकको पथलैया–वीरगन्ज सडकको चैनपुर चोकमा रहेका १९ वर्षीय सनोज हुरीबाट जोगिन हेटौंडाबाट वीरगन्जतर्फ आउँदै गरेको यात्रुवाहक बसको छेउमा ओत लाग्न पुगे । तर त्यही बसलाई समेत हुरीले पल्टाएर लडाएपछि च्यापिएरै सनोजको मृत्यु भएको थियो । हावाहुरीले पर्सामा मृत्यु भएका ३ मध्येका एक हुन् सनोज । सुखचैनास्थित नारायणी सिमेन्ट उद्योग पछाडि रहेको राम टोलमा अहिले शोक छाएको छ । जवान छोरा गुमाउनुपर्दा सनोजका बुवा ५५ वर्षीय राजकुमार स्तब्ध छन् । ‘कल्पनै नगरेको विपत्ति आइपर्‍यो,’ उनले भने, ‘कल्कलाउँदो उमेरको तन्नेरी छोरालाई सदाका लागि बिदा गर्नुपर्‍यो ।’


सरकारीस्तरबाट केही नपाएको गुनासो उनीहरुको छ । केन्द्र, प्रदेश सरकार वा वीरगन्ज महानगरपालिका कार्यालय समेतबाट पैसा या जिन्सी केही नपाएको पीडित परिवारजनले बताए । यसको कारण पुरै राम परिवार नागरिकताविहीन हुनु हो । सनोजका बुवा राजकुमारले आफू ५ वर्षको छँदा आफ्नो परिवार ५० वर्षअघि भारतबाट नेपाल आएको र आफ्नो विवाहदेखि छोरा नातिको समेत जायजन्म यही भए पनि परिवारका सदस्यले नेपालको नागरिकता पाउन नसकेको गुनासो गरे ।


‘सायद हाम्रो नागरिकता नभएरै सरकारी राहतबाट वञ्चित गरिएको होला, वडा सचिवले पनि छोराको मृत्युदर्ता प्रमाणपत्र बनाउन मानिरहेका छैनन्,’ उनले भने, ‘मेरो जीवन त अनागरिक भएरै बित्ला जस्तो छ, छोरा नातिहरूले यस्तो पीडा भोग्नु नपरोस् ।’ आफ्नो आँखैअगाडि कतिपय भारतीयले डेढ दशकअघि नेपालको नागरिकता पाएको तर आफूहरूका लागि बोलिदिने र चाँजापाँजो मिलाई दिनेसमेत कोही नभएपछि नागरिकताविहीन बनेर बस्नुपरेको उनले बताए ।


चार धुरमा फुसको छाप्रो बनाएर बसेको राम परिवार घर अघिल्तिर रहेको सिमेन्ट उद्योगको धुलोबाट बस्नै नसक्ने भएपछि केही दक्षिणतर्फ ५ धुर घडेरी किनेर बसाइँ सर्ने योजनामा छ । त्यसका लागि परिवारले ३ लाख रुपैयाँ ऋणसमेत लिइसकेको छ । हालको ४ धुर घडेरी र अब किन्न लागेको ५ धुर पनि मनोजकी पत्नी प्रमिलाको नाममा छ । वीरगन्जकै उदयपुरघुर्मी गधैया टोल माइती रहेकी प्रमिलाको नेपाली नागरिकता छ ।

प्रकाशित : चैत्र २९, २०७५ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?